नेपाली मुद्राको अन्तर्राष्ट्रिय मुद्रासँगै कारोबार हुने


काठमाडौं, चैत ११ 
थम्सन रोयटर्सले नेपालका २१ वटा वाणिज्य बैंकसँग मुद्रा सटही कारोबार गर्नका लागि सम्झौता गरेको छ। विश्वमा व्यापार र व्यवसायीका लागि भरपर्दो सुचना प्रवाहको प्रमुख स्रोत  रोयटर्ससँग भएको सम्झौताले पहिलो पटक नेपाली  मुद्राको अन्तर्राष्ट्रिय मुद्रासँगै कारोबार हुने छ।
नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले 'थम्सन रोयटर्स डिलिङ प्लेटफर्म' को उद्घाटन गरे। रोयटर्स डिलिङ प्लेटफम विश्वका १ सय २० राष्ट्रहरुका ५ हजारभन्दा वढी संगठनहरुमा सञ्चालनमा छ। ती संगठनका १८ हजारभन्दा वढी  टे्रडिङ व्यवसायीहरुले प्रयोग गरिरहेका छन्। 
रोयटर्स डिलिङ कार्यालय प्रक्रियाहरुसहितको मूल्यको खोज, व्यापारिक विशिष्टीकरण र सहज एकीकरणका लागि विदेशी मुद्राका टे्रडिङ व्यवसायीका लागि औद्यौगिक मापदण्ड हो। यसको माध्यमबाट छिटो र प्रभावकारी ढंगले विभिन्न स्थानमा रहेका व्यापारिक साझेदारहरुलाई सम्पर्क गर्न सकिन्छ। साझेदारले गरिरहेको कारोबार संयन्त्रमा तरलता पत्ता लगाउन र विदेशी मुद्राको बजारको बारेमा आँकलन गर्न सकिन्छ।
'रोयटर्ससँगको मुद्रा सटही कारोबारी प्रकृयाले विदेशी मुद्राको सटही व्यवस्थापन कार्यलाई सहज बनाइदिने छ,' गभर्नर खतिवडाले भने,'नेपालका बैंकहरुलाई धेरैसँग सहकार्य गर्ने अवशर र अन्तर्राष्ट्रिय बजारमा भइरहने परिवर्तनबाट लाभ लिन सक्ने अवशर निर्माण गरिदिएको छ।' उनले यसबाट वैदेशिक मुद्रा व्यवस्थापनमा काम गर्ने क्षमता अभिवृद्धि गर्ने बताए।
रोयटर्सका वित्तीय तथा जोखिम हेर्ने दक्षिण एसियाली उपप्रमुख श्रीराम रामानारायणले  डिलिङ प्लेटफर्मबाट नेपालको व्यापारिक कारोबारको बाटोमा पारदर्शिता, प्रभावकारिता र स्वचालनको नयाँ अध्याय थप्ने बताए। 'सही समयमा सही सुचना र स्वचालित कारबारी प्रकृयाले नेपालका बैंकहरुलाई नयाँ अवशर प्राप्त हुने छ,' उनले भने।
कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक लिलाप्रकाश सिटौलाले नेपालका बैंकहरुलाई यसले निकै फाइदा पुर्‍याउने बताए। बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले आधुनिक प्रविधिको माध्यमबाट काम गर्न सजिलो हुने बताए।
कार्यक्रममा फोरेन एक्सचेन्ज डिलर्स एसोसिएसन नेपालका अध्यक्ष विजयवहादुर श्रेष्ठले रोयटर्स डिलिङ प्लेटफर्मसँगको सम्झौताले २० वर्षपछि सपना पुरा भएको जानकारी दिए। 'यसले हामीलाई विदेशी मुद्राको कारोबारमा नयाँ उचाइमा पुर्‍याउने छ,' उनले भने।

No comments:

Post a Comment

thanks for comment