नेपाल बैंकको व्यवस्थापन अझै नौं महिना राष्ट्र बैंकले नै हेर्ने


काठमाडौं, चैत १९ 
राष्ट्र बैंक सञ्चालक समितिले नेपाल बैंकको व्यवस्थापन थप नौं  आफैले राख्ने भएको छ।  पुँजी वृद्धिको काम अझै नसकिएकाले राष्ट्र बैंकले नौं महिना व्यवस्थापन आफैले नै चलाउने निर्णय गरेको हो।
राष्ट्र बैंकले  चैत मसान्तसम्मका लागि मात्र नेपाल बैंकको व्यवस्थान जिम्मा लिएको थियो। राष्ट्र बैंकको सोमबार साँझ बसेको सञ्चालक समिति वैठकले काम नसकिएकाले आगामी पुसपछि मात्र व्यवस्थापन छाड्ने निर्णय गरेको हो।
'बैंकको अझै काम नसकिएकाले केही समय व्यवस्थापन आफैले चलाउने निर्णय गरिएको हो,' राष्ट्र बैंकका एक सञ्चालकले भने, 'सबै प्रकृया सकेर व्यवस्थापन जिम्मा लगाउँछौं।'
बैंकले पुँजी वृद्धिका लागि हकप्रद  सेयर निस्कासन गर्ने तयारी गरिरहेको छ। सरकारले आफ्नो स्वामित्व बराबरको पुँजी बैंकमा हालिसकेको छ। बैंक तथा वित्तीय संस्था र केही व्यवसायी सर्वसाधारणका लागि बैंकले हकप्रद सेयर जारि गर्न लागेको हो।
बैंकले केही अचल सम्पतिहरु पनि विक्री गर्ने तयारी गरिरहेको छ। पुँजी कोष बढाउन बैंकले निष्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये २ अर्बको बिक्री गर्ने  तयारी सुरु गरिसकेको छ। ७६ वर्ष पुरा गरेको बैंकले आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने योजना बनाएको छ। 
'सम्पति विक्री गर्ने प्रकृया सुरु भएको तर नसकिएकाले पनि व्यवस्थापन आफैसँग राख्ने समय थप गर्नु परेको हो,' स्रोतले भन्यो। नेपाल बैंकको व्यवस्थापन राष्ट्र बैंकका निर्देशक महेश्वरलाल श्रेष्ठ हेरिरहेका छन्। उनीभन्दा अगाडि अर्का निर्देशक विनोद आत्रेय प्रमुख व्यवस्थापकका रुपमा आएका थिए। 
नियामक निकाय भएर वाणिज्य बैंक चलाएको भन्दै राष्ट्र बैंकको आलोचना हुँदै आएको छ। आरोपहरुबाट जोगिन राष्ट्र बैंकले वाहिरबाट प्रमुख कार्यकारी नियुक्त गर्ने प्रकृयासमेत सुरु गरेको थियो। प्रकृयाहरु विवादित भएपछि राष्ट्र बैंकले व्यवस्थापन छोडेको थिएन। 

सरकारले नेपाल बैंकमा आफ्नो स्वामित्वको हकप्रद सेयर खरिद गर्न पैसा उपलब्ध गराइसकेको छ। सरकारले यो बैंकलाई एक अर्ब ३७ करोड रुपैयाँ उपलब्ध गराएको हो। बैंकले पुँजी वृद्धि गर्न प्रति एक बराबर ९.५ प्रतिशतका दरले हकप्रद निस्कासन गर्न लागेको छ। यसका लागि बैंकले निस्कासन तथा विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको छ। 
बैंकको अहिले चुक्ता पुँजी ३८ करोड रुपैयाँ छ। यसलाई ४ अर्ब पुर्‍याउने बैंकको योजना छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ। बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ।  
नेपाल बैंकमा वित्तीय समस्या आएपछि सन् २००२ मा विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरिएको थियो। सुधार कार्यक्रमपछि बैंकको अवस्थामा सुधार आएको छ। अझै पनि बैंकको वित्तीय अवस्था पूर्ण रुपमा स्वस्थ छैन।  वित्तीय स्वास्थ पुरै ठिक हुन पुँजी बढाउनु पर्ने भएकाले बैंकले सेयर जारी गर्न लागेको हो। 
सुधार कार्यक्रम लागु हुनुपूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले यो घटेर ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक भएको छ। 

No comments:

Post a Comment

thanks for comment