जीवन बिमा गर्ने साढे २० लाख २७ हजार पुगे


काठमाडौं, चैत १४
रेमिट्यान्सले आय वृद्धि, कम्पनीहरुको प्रतिस्पर्धा र आम्दानीमा कर छुटका कारण जीवन बिमा गर्ने सर्वसाधारणको संख्या वढेको छ। कम्पनीहरुले सार्वजनिक गरेको विवरण अनुसार, एक वर्षमा बिमा गर्नेको संख्या २१ प्रतिशत अर्थात ३ लाख ५५ हजार ६ सय ८५ जनाले वढेको छ।
अघिल्लो पुससम्म १६ लाख ७१ हजार ३ सय ३२ जनाले जीवन बिमा गराएकोमा यसापाली २० लाख २७ हजार १७ जनाले बिमा गराएका छन्। बिमा गर्नेको संख्या वढेर कारोबार विस्तार भएसँगै कम्पनीहरुको नाफा पनि दोब्बर वढीले वृद्धि भएको छ।
'कम्पनीहरुको सेवा विस्तार र यस क्षेत्रप्रति जनचेतना बढेका कारण विगतभन्दा बिमा गर्ने वढेका छन्,' नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बुधबार नागरिकसँग भने, …कम्पनीहरुले लक्ष्य दिएर व्यापक रुपमा बिमा एजेन्टहरु परिचालन गरेका कारण पनि संख्या वृद्धि भएको हो।' उनले पछिल्लो समय स्वदेशी कम्पनीहरु प्रति विश्वास वढेको र राम्रो प्रतिफल दिन थालेकाले पनि बिमा गर्नेको संख्यामा वृद्धि भएको जानकारी दिए।
निजी क्षेत्रबाट सञ्चालित ८ वटा जीवन बिमा कम्पनीमध्ये ७ वटाले सार्वजनिक गरेको विवरण अनुसार पुसमा नाफा २१ करोड १२ लाख पुगेको छ। अघिल्लो पुसमा १० करोड ७ लाख मात्र नाफा भएको थियो। यो ११० प्रतिशतको वृद्धि हो। 
अमेरिकन लाइफ इन्स्योरेन्सको व्यवस्थापन परिवर्तन भएर मेटा लाइफ एलिको बनेपछि कम्पनीले वित्तीय विवरण  सार्वजनिक गर्न छाडेको छ। सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले पनि आफ्नो विवरणहरु सार्वजनिक गर्दैन। यि कम्पनीको समेत जोड्ने हो भने बिमा गर्नेहरुको संख्या अझै धेरै हुन्छ। 
विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) का कारण सर्वसाधारणको आम्दानीमा वृद्धि भएको छ। यस्तो आम्दानीमध्ये केही रकम जीवन बिमा गर्नका लागि प्रयोग हुन थालेको छ। ३५ प्रतिशत नेपाली घरमा रेमिट्यान्सको पहुँच पुगिसकेको सरकारी तथ्यांक छ। रेमिट्यान्स वढेकाले सुरक्षा र बचतका लागि बीमा गराउनेको संख्या वढेको हो।

एक वर्षको अवधिमा एसियन लाइफ इन्स्योरेन्सको वाहेक सबैले बिमा कारोबार वढाएका छन्। नियम विपरित लाभांस वितरण गरेको भन्दै बिमा समितिले एसियन लाइफको कारोबार रोक्का गरिदिएकाले बिमा संख्या घटेको हो। कम्पनीको  बिमा कारोबार २५.७९ प्रतिशतले घटेर १ लाख ९३ हजार ५ सय १७ वटामा झरेको छ। अघिल्लो पुसमा कम्पनीले २ लाख ६० हजार ७ सय ७१ जनाको जीवन बिमा गरेको थियो।
एक वर्षको अवधिमा सबैभन्दा वढी कारोबार विस्तार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ। कम्पनीले बिमा गर्नेको संख्या ३८.७७ प्रतिशतले वढाएर ४ लाख ६४ हजार ५ सय १८ हजार पुर्‍याएको छ। यसपछि नेपाल लाइफले ३३.१६ प्रतिशत, गुँरास लाइफले ३१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनले २४ प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत र सूर्या लाइफले ५.९७ प्रतिशतले जीवन बिमा संख्या वढाएको छ।
कारोबारमा भएको विस्तारसँगै कम्पनीहरुको नाफा पनि वढेको छ। सबैभन्दा वढी नेपाल लाइफले साढे पाँच गुणाले नाफा वढाएर ८ करोड २ लाख पुर्‍याएको छ। नेसनल लाइफले चार गुणाले वढाएर ४ करोड २१ लाख पुर्‍याएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८६.५ प्रतिशत, एसियन लाइफको ८२.५५ प्रतिशत र प्राइम लाइफको ३६.५१ प्रतिशतले नाफा वढेको छ। 
सूर्या लाइफ र गुँरास लाइफको  नाफा वृद्धि दर भने घटेको छ। सूर्याको ५७.३ प्रतिशत र गुँरासको २.०९ प्रतिशतले नाफा घटेको छ। 
जीवन बिमा गर्नेलाई सरकारले निस्चित आम्दानीसम्मको कर छुट दिएका कारण जागिरेहरुको आकर्षण पनि वढ्न थालेको छ। अहिले अधिकांस कार्यालय, प्रतिस्ठान, उद्योगहरुले कर्मचारी तथा कामदारको बिमा गरिदिन थालेका छन्।
प्रतिस्पर्धा तिब्र हुन थालेकाले पनि बीमा कम्पनी गाउँ–गाउँ जान थालेका छन्। कम्पनीहरुले गरेको बजार प्रवद्धनका कारण बिमा गर्नेको संख्या वढ्न थालेको हो। कम्पनी संख्या वढेकाले प्रतिस्पर्धा गर्न उनीहरुले एजेन्टको संख्या वढाएर गाउँ–गाउँमा परिचालन गर्न थालेका छन्। अहिले सबै कम्पनीको गरेर ४० हजारको हाराहारीमा बीमा गराउने एजेन्ट कार्यरत छन्। 

No comments:

Post a Comment

thanks for comment