बैंक, विमा, हस्पिटल, नर्सिङहोम, कलेजको घर, अपार्टमेन्ट, कम्प्लेक्स किन्ने चासो

काठमाडौं, माघ २१
दुई वर्ष लामो मन्दीका कारण मुल्य केही कम भएपछि बैंक, बिमा कम्पनी, हस्पिटल, नर्सिङ होम्स र कलेजहरुले व्यवसायिक हिसाबले निर्माण गरिएका घर, अपार्टमेन्ट, कम्प्लेक्स खरिद गर्न चासो दिन थालेका छन्।
अहिले मुल्य केही घटेको मौका पारी कार्यालय प्रयोजन तथा दीर्घकालीन लगानी गर्ने उद्देश्यले घरजग्गा खरिदमा चासो दिइएको हो।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेष्टा झाले अहिले उपयुक्त खालको घर/कम्प्लेक्स खरिद गर्न हेरिरहेको बताए। 'दीर्घकालिन व्यवसाय सञ्चालन गर्न र ग्राहकको विश्वास आर्जन गर्न पनि आफ्नै भवन तथा सम्पत्ति आवश्यक हुन्छ,' उनले शुक्रबार नागरिकसँग भने 'यसैले उपयुक्त घर किन्ने सोचाइ राखेका हौं।'
उद्योगपति एवं खेतान समुहका अध्यक्ष राजेन्द्रकुमार खेतानले मूल्य घट्न थालेको मौकामा उपयुक्त खालको घर/कम्प्लेक्स खरीदका लागि हेरिरहेको बताए। खेतानले एक सय करोड रुपैयाँसम्मको घर/कम्प्लेक्स खरीदका लागि बजेट छुट्याएर राखेको जानकारी दिए। उनले अहिले आफ्ना 'सर्कल' का धेरैले कार्यालय तथा लगानी प्रयोजनका लागि घर/कम्प्लेक्स खरीद गर्न खोजेको जानकारी दिए।
'अहिले राम्रा सम्पतिको मूल्य घटेकाले पैसा बोकेर बसेका बिमा कम्पनीलाई लगानीका लागि राम्रो अवसर छ,' सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक शेखर बरालले भने, 'बिमा लामो अवधिको व्यवसाय भएकाले नगद प्रवाह नियमित हुने खालको भवन/कम्प्लेक्स किन्न चासो बढेको छ।'
झाका अनुसार बैंकको ब्याज दर विस्तारै घट्न थालेकाले बिमा कम्पनीहरुको आम्दानी घट्ने छ। उनले नियमित आम्दानीका लागि दीगो सम्पतिमा लगानी गर्नु आवश्यक भएको बताए। 'हामीले लगानीका लागि अध्ययन गरिरहेका छौं,' उनले भने।
कलेज तथा हस्पिटलहरुले भने बैंकको माध्यमबाट घरजग्गा/अपार्टमेन्ट खरीद गर्न सोधीखोजी गरिरहेका छन्। ऋण तिर्न नसकेर धितो लिलामीको अवस्थामा पुगेका सम्पति खरीद गर्न उनीहरुले बैंकहरुसँग सम्पर्क गरिरहेका छन्।
' हस्पिटल, नर्सिङ होम, कलेज, स्कुललगायतले घरजग्गा, हाउजिङ खरीदका लागि चासो देखाएका छन्,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने, 'भाउ मिल्यो भने खरीद बिक्री हुने अवस्था छ।'
उनले अप्ठेरोमा परेको ऋणीलाई छुट्कारा दिन बैंकहरु आफैले पनि मध्यस्तताको भूमिका निभाएर विक्री गर्ने वातावरण तयार पार्ने गरेको जानकारी दिए। अहिले अधिकांस हस्पिटल, कलेज, नर्सिङ होम, विद्यालय भाडामा छन्।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु पनि सस्तिएको मौकामा आफ्नो कर्पोरेट कार्यालय तथा शाखा स्थापना गर्न घर अपार्टमेन्ट खरीद गर्ने तयारीमा छन्। 'बैंकहरु शाखाका लागि सम्पति खरीद गर्न खोजिरहेका छन्,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने, 'भाँडाको घरमा व्यवहारिक समस्या भएकाले सस्तोमा उपयुक्त घर किन्न खोजिएको हो।'
बैंकरका अनुसार, सुरुमा भाँडामा दिँदा बैंकका सबै सर्त मान्न तयार हुने घरधनीले अर्को सम्झौता नवीकरण गर्ने बेलामा वखेडा झिकेर भाँडा वढाउने गर्छन्। शाखा सारी रहन व्यवहारिक समस्या भएकाले घरधनीले भनेको मान्नु पर्ने वाध्यता छ। 'व्यवसायीले मूल्यमा लचकता अपनाए बैंक तथा वित्तीय संस्थाले कर्पोरेट कार्यालय तथा शाखाका लागि घर/अपार्टमेन्ट किन्ने अवस्था छ,' जोशीले भने।

No comments:

Post a Comment

thanks for comment