ग्लोबल बैंक र आइएमई फाइनान्स गाभिने निर्णय

काठमाडौं, माघ २२
आइएमई समूहको अधिकांश सेयर रहेका ग्लोबल बैंक र आइएमई फाइनान्सियल इन्स्टिच्युसनले आपसमा गाभिने निर्णय गरेका छन्। एउटै समूहको लगानी रहेका वित्तीय संस्थालाई मिलाएर एउटै बनाउन राष्ट्र बैंकले प्रोत्साहित गरेपछि दुई संस्था गाभिने निर्णयमा पुगेका हुन्।
 'दुवै संस्थाको सञ्चालक समितिले आपसमा गाभिने निर्णय गर्दै समझदारी पत्रमा हस्ताक्षर गरिएको छ,' ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले शनिबार नागरिकसँग भने। 
ग्लोबल क वर्गको वाणिज्य बैंक हो भने आइएमई ग वर्गको फाइनान्स कम्पनी हो। दुई संस्थाले बैंकका सञ्चालक सन्दीप अग्रवालको संयोजकत्वमा गठन गरेको मर्जर समितिले गाभिन सञ्चालक समितिलाई शुक्रबार सुझाव दिएको हो। त्यसलगत्तै बसेको सञ्चालक समिति बैठकले गाभिने निर्णय गरेको थियो। उनीहरुले आइतबार राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि आवेदन गर्ने भएका छन्। दुई संस्थाबीच भएको समझदारी पत्रसहित राष्ट्र बैंकमा आवेदन गरिन लागेको हो।
'स्टक एक्सचेन्जमा कारोबार रोक्का गराउँदै आइतबारै राष्ट्र बैंकसँग सैद्धान्तिक सहमति माग्ने छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले भने। सम्पत्ति तथा दायित्वको यथार्थ विवरणका लागि एक साताभित्र डिउ डेलिजेन्स प्रतिवेदन तयार पार्ने संस्थाको खोजी गर्ने योजना रहेको उनले बनाएका छन्। राष्ट्र बैंकबाट एक साताभित्र सैद्धान्तिक सहमति पाए पाँच महिनाभित्र (असारसम्म) दुई संस्था गाभिएर एउटै हुने वज्राचार्यले बताए। एउटै समूह आइएमईको प्रभुत्व रहेकाले मर्ज हल्लामा सीमित हुने अवस्था छैन।
चाँडोभन्दा चाँडो मर्जको काम सक्न सञ्चालक अग्रवालको संयोजकत्वमा संयुक्त समिति गठन गरिएको छ। अध्यक्ष, प्रमुख कार्यकारी, कर्मचारी लगायत विषयमा सहमति यही समितिले जुटाउने छ। अहिले पदका विषयमा कुनै छलफल र सहमति नभएको जानकारी वज्राचार्यले दिए।
बैंकका अध्यक्ष चन्द्र र फाइनान्सका अध्यक्ष हेमराज ढकाल दाजुभाइ हुन्। बैंकमा प्रमुख कार्यकारी अधिकृत वज्राचार्य र फाइनान्समा योगेश्वर ढकाल छन्। दुई संस्थामा कर्मचारीको संख्या करिव ६ सय छ। शाखा र काउन्टर सहितका कार्यालय ६० छन्। रेमिट्यान्सको कारोबारमा फाइनान्स बलियो मानिन्छ। यो कारोबारमा पनि धेरै सञ्जालले सहयोग गर्ने बैंक व्यवस्थापनको अनुमान छ। 'रेमिटेन्स व्यवसायलाई अझै पुँजीकृत गर्दै अगाडि बढ्ने छौं,' वज्राचार्यले भने।
'सानो आकारमा बस्दा संस्थाको दीगोपना र कारोबार वृद्धि गर्न कठिन छ,' बज्राचार्यले भने, 'सानो व्यवसाय कर्जालगायत काम पनि बैंकमार्फत गरेर प्रतिस्पर्धात्मक क्षमता बढाउन गाभिने निर्णय भएको हो। 'यी दुई संस्था गाभिएपछि प्राप्त हुने अनुभवका आधारमा अरु संस्थासँग मर्ज हुने कि नहुने निर्णय हुन्छ,' उनले भने। दुई संस्थाकै साधारण सभाले मर्जको प्रस्ताव पारित गरिसकेका छन्। अरु कार्यसंस्कृति नमिलेका संस्थासँग गाभिँदापछि समस्या आउन सक्ने भएकाले एउटै समूहको बढी सेयर भएका संस्थासँग गाभिने निर्णय भएको बज्राचार्यले बताए।
बैंकको चुक्तापुँजी १ अर्ब ६० करोड छ। फाइनान्सको चुक्तापुँजी ३६ करोड छ। फाइनान्सले क वर्गको बैंक बन्न हकप्रद निस्कासन प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा एक आपसमा गाभिने निर्णय भएको हो।
दुई संस्था गाभिन प्रोत्साहन गर्दै राष्ट्र बैंकले केही छुटको व्यवस्था गरिसकेको छ। एउटै समूहमा रहेको एकभन्दा बढी संस्थालाई गाभिन पनि राष्ट्र बैंकले प्रोत्साहन गर्दै आएको छ। एकल घर परिवारको सेयर एक संस्थामा १५ प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको निर्देशनमा मर्जमा जाने संस्थाले छुट पाउने छन्। यसअनुरुप दुई संस्था गाभिँदा आईएमइ समूहले यो छुट पाउने छ।
बैंकको जगेडा कोषमा १६ करोड छ भने फाइनान्सको पनि १६ करोड नै छ। फाइनान्सले चार अर्ब ५० करोड निक्षेप संकलन गरी ३ अर्ब ६० करोड कर्जा दिएको छ।
बैंकले १६ अर्ब ३२ करोड निक्षेप संकलन गरी १३ अर्ब ४४ करोड कर्जा दिएको छ। बैंकको कर्जा निक्षेप अनुपात ७६ र फाइनान्सको ८० प्रतिशत छ। असोजसम्मको पहिलो त्रैमासमा फाइनान्सको खराब कर्जा २ दशमलव २३ र बैंकको २ दशमलव ७६ प्रतिशत छ।

No comments:

Post a Comment

thanks for comment