ऋण लिनेहरु नभएपछि बैंकहरु बजार प्रवर्द्धन गर्दै

सुदर्शन सापकोटा
काठमाडौं, फागुन ५
पैसा थुप्रिन थालेपछि बैंकहरु ऋणको बजार प्रवर्द्धन गर्न थालेका छन्। महँगोमा उठाएको पैसा (निक्षेप) बढीरहेका बेला आम्दानीको प्रमुख स्रोत ऋणको माग नभएपछि बैंकहरुले बजार प्रवर्द्धन गर्न थालेका हुन्। बैंकहरुले आफ्ना प्रमुख ग्राहकका अलावा ऋणको माग हुने क्षेत्रका व्यवसायीलाई भेटेरै ऋण लिइदिन प्रोत्साहित गर्न थालेका छन्।
 यसमा ठूलादेखि भर्खरै खुलेका बैंक ब्याज दर केही घटाएर ऋणको बजार प्रवर्द्धन गर्न जुटेका हुन्।
'रियलस्टेटबाहेक सबै क्षेत्रको ऋणको बजार प्रवर्द्धन सुरु भएको छ,' सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले बिहीबार नागरिकसँग भने। उनले भर्खरै मात्र सेयर धितो ऋणको बजार प्रवर्द्धन थालेको जानकारी दिए।
बैंकहरुले बजार प्रवर्द्धन गर्न मोफसल क्षेत्रलाई बढी छानेका छन्। तराईमा उखु, धानको मौसम सुरु भएकाले बैंकहरु व्यसायीलाई 'मौज्दात' राखेर पछि बिक्री गर्दा नाफा हुने बुझाउन थालेका छन्। 'मौज्दात राखेर पछि बिक्री गर्दा फाइदा हुन्छ। अहिले ऋण लिएर मौज्दात राख्न प्रोत्साहित गरिरहेका छौं,' किस्ट बैंकका नायब महाप्रबन्धक बिएन घर्तिले नागरिकसँग भने।

बैंकहरुले व्यवसायीलाई खासगरी अल्पकालीन ऋणका लागि प्रोत्साहित गरिरहेका छन्। सामान आयातका लागि प्रतितपत्र (एलसी) खोल्ने, तत्काल सामान बिक्री गरेर पैसा उठिहाल्ने व्यापारजस्ता क्षेत्रमा बैंकले लगानी प्रवर्द्धन गरिरहेको घर्तिले जानकारी दिए।
'ऋण दिनका लागि बैंकहरुको तौरतरिका नै अहिले फरक भइसकेको छ,' प्रधानले भने, 'अहिले ऋण माग्न आएको केही समयभित्रै पैसा उपलब्ध हुन्छ।' रियलस्टेट व्यवसाय संकटमा परेपछि बैंकहरुले साधारण किसिमको ऋण दिनसमेत २ हप्ता लगाउँथे।
उनले ऋणको माग नआएकाले बैंकहरु आफै बजार प्रवर्द्धन गर्न थालेको जानकारी दिए। 'अल्पकालिन ऋणबाहेक घर, गाडीमा पनि प्रवर्द्धन गरिरहेका छौं,' उनले भने, 'तर निक्षेप बढे अनुसारको माग आएको छैन।' उनले राम्रो योजना आए लामो अवधिका लागि पनि ऋण दिन बैंक तयार रहेको बताए।
राष्ट्र बैंकका अनुसार बैंकहरुले डेढ महिनामा १७ अर्ब ऋण गएको छ। अहिलेसम्म बैंकले कुल ५ खर्ब ६२ अर्ब ऋण लगानी गरिसकेका छन्। निक्षेप ७ खर्ब ५२ अर्ब पुगिसकेको छ।
बैंकहरुले भर्खरै सिजन सुरु भएको स्टिल र सिमेन्टमा लगानी गर्न व्यवसायीलाई आकर्षक ब्याजसहित प्रोत्साहित गर्न थालेका छन्। 'फेब्रुअरीबाट जुनसम्म सिमेन्ट र स्टिलको माग र उत्पादनको समय हो,' घर्तिले भने, 'अहिले यो क्षेत्रमा पैसा चाहिने भएकाले बैंकहरु लगानीका लागि प्रतिस्पर्धा गरिरहेका छन्।' सरकारी ऋणपत्र र अन्तर बैंक सापटीमा ब्याज दर १ प्रतिशतभन्दा कम भएकाले तीन-चार महिना पैसा लगानी हुने ठाउँमा बैंकहरु प्रतिस्पर्धा गर्न थालेका हुन्।
'पुस मसान्तसम्म तरलताको अवस्था के होला भनेर लगानी गर्न गाह्रो भएको थियो,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले भने, 'पुसपछि पनि तरलताको अवस्था सहज भएकाले लगानीसमेत बढ्न थालेको छ।' उनले नबिलले असारयता मात्रै २ अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको जानकारी दिए।
बजारमा आकर्षक ब्याजसहित ऋणको प्रवर्द्धन गर्न थालेपछि 'परम्परागत' बैंकिङ गर्दै आएका बैंकहरुले समेत आफ्ना राम्रा ग्राहक अरुतिर नजाउन् भनेर 'मार्केटिङ' गर्न थालेका छन्। 'पुराना ग्राहक अरुतिर जान नदिन मार्केटिङ गरेका छौं,' ज्ञवालीले भने। उनले राम्रो परियोजना आए लगानी गर्न बैंकलाई कुनै समस्या नभएको जानकारी दिए।

No comments:

Post a Comment

thanks for comment