सानिमा बन्यो वाणिज्य बैंक

काठमाडौं, माघ २८
सानिमा विकास बैंकले 'क' वर्गको वाणिज्य बैंक बन्ने अन्तिम स्वीकृति पाएको छ। राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सानिमालाई वाणिज्य बैंक बन्न अन्तिम स्वीकृति दिएको हो। गत कात्तिक ८ गते बैंकले सैद्धान्तिक स्वीकृति पाएको थियो।
सानिमामा गैरआवासीय नेपाली (एनआरएन) को ५० प्रतिशतभन्दा बढी लगानी छ। सानिमा अब मुलुकको ३२ औं वाणिज्य बैंक हुनेछ। कर्पोरेट कार्यालयबाहेक सानिमाका २० शाखा छन्।
सानिमाले वाणिज्य बैंकका रूपमा काम गर्नका लागि आवश्यक तयारी पुरा गरिसकेको छ। बैंकले नक्सालस्थित आफ्नै भवनबाट वाणिज्य बैंकको कारोबार गर्ने तयारी गरेको छ।

'आइतबार पत्र पाएपछि साताभित्र वाणिज्य बैंकिङ कारोबार थाल्छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले भने, 'औपचारिक उद्घाटन भने दुई हप्तापछि गछ।'
स्तर बढाउन निवेदन दिएकाले नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सानिमाको सेयर कारोबार झन्डै डेढ वर्षदेखि रोक्का थियो। लामो समयसम्म सेयर किनबेच रोकिँदा सर्वसाधारण लगानीकर्ता मर्कामा परेका थिए।
वाणिज्य बैंकका लागि आवश्यक पर्ने पुँजी सानिमाले पुर्‍याइसकेको छ। उसमा सेयर धनीका लगानी २ अर्ब १ करोड रुपैयाँ छ। ६ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६ अर्ब ३७ करोड ऋण लगानी गरेको छ। पुँजी पर्याप्तता अनुपात ३०.५१ प्रतिशत रहेको बैंकको कर्जा-निक्षेप अनुपात ७५.४१ प्रतिशत छ।
एनआरएनहरूको ५० प्रतिशतभन्दा बढी लगानीमा सञ्चालित बैंकका अध्यक्ष जीवा लामिछाने हुन्। उनी गैरआवासीय नेपाली संघका अध्यक्ष पनि हुन्।

No comments:

Post a Comment

thanks for comment