बैंकको नाफा २२ प्रतिशत कम

तीन नयाँ बैंक घाटामा, ६ बैंकले नाफा बढाए
सुदर्शन सापकोटा
काठमाडौं, फागुन ८
गत वर्षको दोस्रो त्रैमास (साउन-पुस) को तुलनामा वाणिज्य बैंकहरुको नाफा यस वर्ष २२ प्रतिशतले घटेको हो। हाल सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकमध्ये २३ को नाफा घटेको छ। यसमध्ये लामो समयदेखि नाफा गरिरहेका केही बैंकहरुको नाफा यो वर्ष घटेको छ। पहिलो त्रैमास (साउन-असोज) मा नाफा २३ प्रतिशतले घटेको थियो।
बैंकहरुले हालै प्रकाशित गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो ६ महिनामा १ अर्ब ५१ करोड रुपैयाँले नाफा घटेको हो। गत आर्थिक वर्षको पुससम्म ६ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएका बैंकले यस वर्ष ५ अर्ब ४३ करोड मात्र आम्दानी गरेका छन्।
बैंकरहरुका अनुसार घरजग्गामा दिएको ऋण नउठेर नभइ महँगो ब्याज तिरेर सर्वसाधारणबाट उठाएको रकम लगानी गर्न नसकेकाले नाफा घटेको हो। बाह्य क्षेत्रमा ऋणको माग नभएका बेला सरकारी ऋणपत्रको व्याज एक प्रतिशतभन्दा कम हुनु र अधिक तरलताले अन्तर बैंक सापटी ठप्प भएकाले नाफामा असर परेको हो।
'यसपाली बैंकहरुको नाफा घट्नुमा घरजग्गा ऋण कारण होइन,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आइतबार नागरिकसँग भने, 'सरकारी ऋणपत्रको व्याज १ प्रतिशतभन्दा कम हुनु र अन्तर बैंक सापटी बन्द भएकाले आम्दानी घटेको हो।'

जोशीका अनुसार उठाएको निक्षेपमध्ये उपभोक्तालाई २० प्रतिशत रकम ऋण लगानी गर्न पाइँदैन। त्यो पैसा अन्तर बैंक सापटी र सरकारी ऋणपत्रमा लगानी गर्नुपर्छ। यसापाली त्यसको व्याज एकदमै कम भएकाले आम्दानी घटेको जोशीले जानकारी दिए। 'अल्पकालिन ऋणको ब्याज घटेर निक्षेपको व्याजको हाराहारीमा आएकाले आम्दानीमा असर परेको छ,' उनले भने। उनले यो वर्ष बैंकहरुले लगानी गरेको ऋणको अनुपातमा ब्याज आम्दानी कम भएको जानकारी दिए।
नयाँ आएका चार वाणिज्य बैंकमध्ये तीन बैंक घाटामा गएका छन्। कमर्ज एन्ड ट्रस्ट बैंकको नाफामा गिरावट आएपनि घाटामा गएको छैन। तर, जनता, सिभिल र मेगा बैंक भने घाटामा गएका छन्।
सरकारी स्वामित्वका कृषि विकास बैंक वाहेक नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ। 'केही पुरानो ऋणमा समस्या आएर नाफा घटेको छ,' नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले भने, 'पहिले नोक्सानी व्यवस्था गरिएको ऋण भने उठेको छ।'
कृषि विकास बैंकको नाफा भने ५ प्रतिशतले वढेर ६८ करोड ८२ लाख रुपैयाँ पुगेको छ।
कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले यसपाली सम्पतिले आम्दानी कम गरेको बताए। उनले लगानीयोग्य पैसामध्ये ५६ अर्बले लगभग आम्दानी शुन्य गरेको दावी गर्दै महँगोमा लिएको पैसा लगानी नहुँदा बैंकको आम्दानी प्रभावित भएको जानकारी दिए।
चालु वर्षको पुससम्म विदेशी स्वामित्वका बैंकवाहेक डिसिबिएल, कृषि विकास र माछापुच्छे्र बैंकको नाफा वढेको छ। विदेशी स्वामित्वका नेपाल एसबिआइको नाफा १.२३ प्रतिशतले वढेर २० करोड ४७ लाख पुगेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ५.१७ प्रतिशतले वढेर ५५ करोड ५१ लाख र एभरेस्ट बैंकको १३.३० प्रतिशतले वढेर ४८ करोड ७० लाख रुपैयाँ पुगेको छ।
डिसिबिएलको नाफा १७.८४ प्रतिशतले वढेर १० करोड र माछापुच्छे्रको ६७.६४ प्रतिशतले वढेर ५७ लाख रुपैयाँ पुगेको छ। बैंकले एभ्को समुहअन्तर्गतको ऋण उठाउन नसकेका कारण गएको वर्षदेखि उच्चा नोक्सानी व्यवस्था वापतको रकम छुट्याउँदै आएको छ। यसले गर्दा बैंकको नाफा प्रतिशतमा वढे पनि अन्य बैंकको तुलनामा धेरै कम छ।
निजी क्षेत्रको पुराना बैंक नेपाल इन्भेस्टमेन्ट, हिमालयन, नबिल बैंकको नाफा घटेको छ। इन्भेस्टमेन्ट बैंकको नाफा साढे २६ प्रतिशतले घटेको छ। बैंकले यो वर्ष ४७ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको नोक्सानी व्यवस्था वापतको रकम करिव सात गुणाले वढेका कारण नाफामा उच्च गिरावट आएको हो। बैंकले नोक्सानी व्यवस्थामा ४२ करोड ४३ लाख रुपैयाँ छुट्याएको छ।
हिमालयन बैंकको नाफा २१.८८ प्रतिशतले घटेर ३३ करोड ९९ लाख रुपैयाँमा सिमित भएको छ। बैंकको नोक्सानी व्यवस्था वापतको रकम ४०.५४ प्रतिशतले वढेर नाफा घटेको हो। बैंकले अघिल्लो वर्षको तुलनामा ४ करोड रुपैयाँ वढी नोक्सानी व्यवस्थामा छुट्याएको छ।
नबिल बैंकको नाफा एक प्रतिशतभन्दा कमले घटेर ६५ करोड ८६ लाख रुपैयाँमा सिमित भएको छ। बैंकले नोक्सानी व्यवस्था वापत पोहोर राखेको भन्दा कम रकम छुट्याँदासमेत नाफामा असर परेको छ।
फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति भइ स्थापित भइसकेको किस्ट बैंकको नाफा उल्लेख्य घटेको छ। बैंकको नाफा ९७ प्रतिशतले घटेर २३ लाखमा सीमित भएको छ। अघिल्लो वर्ष किस्टले ८ करोड २६ लाख रुपैयाँ कमाएको थियो।
नाफा घट्नेमा बैंक अफ एसिया, बैंक अफ काठमाण्डू, सिटिजन्स् बैंक इन्टरनेशनल, सिद्धार्थ, ग्लोबल, किष्ट, कुमारी, लुम्बिनी, नबिल, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स, एनआइसी, एनएमबी, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सनराइज र लक्ष्मी बैंक छन्।

रकमका हिसावले बढी नाफा गर्ने पाँच बैंक (रु. करोडमा)
कृषि विकास ६८.८२
नबिल ६५.८६
स्ट्यान्डर्ड चार्टर्ड ५५.५१
राष्ट्रिय वाणिज्य ५५.३२
एभरेस्ट ४८.७०
 यो वर्ष नाफा बढाउने बैंक (प्रतिशतमा)
माछापुच्छे्र ६७.६४
डिसिबिएल १७.८४
एभरेस्ट १३.३०
स्ट्यान्डर्ड चार्टर्ड ५.१७
कृषि विकास ५.०८
नेपाल एसबिआइ

No comments:

Post a Comment

thanks for comment