बिमा समिति मर्जरको पहल गर्दै

स्वेच्छिक मर्जरमा नगए जबर्जस्ती गरिने
सुदर्शन सापकोटा
काठमाडौं, माघ २६
नियामक निकाय बिमा समितिले बिमा कम्पनीहरु आपसमा गाभ्न (मर्जर) का लागि पहल सुरु गरेको छ। समितिले एकै खाले (जीवन-जीवन र निर्जीवन-निर्जीवन) बिमा कम्पनी गाभ्नका लागि पहल थालेको हो।
 'कम्पनीहरु धेरै भए। उनीहरुको व्यवसाय विस्तार र वित्तीय क्षमता अभिवृद्धिका लागि मर्जरका लागि पहल सुरु गरेका छौं,' समितिका अध्यक्ष फत्तवहादुर केसीले बुधाबार नागरिकसँग भने। समितिले गत साता मात्रै मर्जर गर्नका लागि २५ वटै बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेको थियो।
उनका अनुसार, कम्पनीहरुलाई पहिलो चरणमा स्वेच्छिक मर्जरका प्रोत्साहित गरिने छ। सहुलियत सहित प्रोत्साहित गर्दासमेत मर्ज नभएर समितिले जवरजस्ती गर्ने उनले बताए। 'केही नीतिगत तथा कर सहुलियत दिएर गाभिनका लागि प्रोत्साहित गर्छौं,' उनले भने, 'अन्तिम अस्त्रका रुपमा जवरजस्तीसमेत गरिने छ।' उनले समितिको मर्जर प्रस्तावमा बिमा कम्पनीहरु सकारात्मक भएको जानकारी दिए।
अहिले ९ जीवन बिमा कम्पनी र १६ निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन्। १३ वटा बिमा कम्पनीले कारोबार संञ्चालनका लागि समितिमा स्वीकृतिका लागि अवेदन दिएका छन्।

बिमा क्षेत्रको विस्तार भएसँगै जोखिम पनि वढेको तर त्यो अनुपातमा कम्पनीहरुको पुँजी वृद्धि नभएकाले समितिले मर्जरमा पहल थालेको हो। 'मर्जरका बारेमा सवै कम्पनीको सञ्चालक समितिका सदस्यहरुलाई केही दिनभित्र वोलाएर छलफल गर्ने तयारीमा छौं,' केसीले भने।
कम्पनीहरुले उठाएको दायित्व (बिमा शुल्क) को तुलनामा पुँजी कम भएकाले पनि समितिले मर्जरमा दवाव दिन थालेको हो। अहिले जीवन बिमा कम्पनीहरुले २५ करोड र निर्जीवन बिमा कम्पनीहरुले १० करोड पुँजीमा काम गरिरहेका छन्। २०७० सम्मको समय दिएर समितिले जीवन बिमा कम्पनीलाई ५० करोड र निर्जीवन बिमा कम्पनीलाई २५ करोड पुँजी पुर्‍याउन निर्देशन दिएको छ।
'मर्जरका कारण पुँजी वृद्धि भएर कम्पनीहरुको दायित्व उठाउने क्षमतासमेत वढ्छ,' केसीले भने, 'तोकिएको पुँजी पुगेपछि पनि कम्पनीहरुलाई क्रमस पुँजी वढाउन लागाइने छ। मन्त्रीपरिषद्बाट पारित भएर संसदमा जान लागेको बिमा ऐनको मस्यौदामा जीवन बिमाको पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब पुँजी पुर्‍याउने पर्ने व्यवस्था छ।
'पुँजी वढेर कम्पनी प्रति सर्वसाधारणको विश्वास वढ्छ,' उनले भने, 'कम्पनीलाई पनि वढी दायित्व उठाउन आत्मविश्वास मिल्छ।' पछिल्लो समय बिमाप्रति जनचेतना फैलिएसँगै कारोबारसमेत वढ्न थालेको छ।
गत वर्षसम्मको तथ्यांक अनुसार, नौ वटा जीवन बिमा कम्पनीहरुले १० अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। निर्जीवन बिमा कम्पनीहरुले ७ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए।
समितिले मर्जरका लागि सहुलियतसमेत दिने तयारी गरेको छ। समितिले कर सहुलियतका लागि सरकारसँग सहजीकरण गर्दै अन्य सुविधासमेत दिने छ। 'हामीले के कस्तो सुविधा आवश्यक पर्ने हो भनेर कम्पनीहरुलाई सोधेका छौं,' केसीले भने, 'कम्पनीहरुले कस्तो सुविधा माग गर्छन् त्यही अनुसार सक्नेजति सुविधा दिन्छौं।' चालु वर्षको बजेटमा बैंक तथा वित्तीय संस्थासँगै बिमा कम्पनीहरुलाई पनि मर्जरमा गए सहुलियत दिने उल्लेख छ।
समितिले मर्जरमा दवाव दिएसँगै केही कम्पनीहरु गाभिने अर्को संस्थाको खोजिमा लागेका छन्। यद्यपी केही अघि मर्जरका लागि औपचारिक सम्झौता गरेका तीन कम्पनीको अभियान भने सफल हुन सकेको थिएन। शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरमा जान सम्झौता गरेका थिए।

No comments:

Post a Comment

thanks for comment