एसियन लाइफको कारोबार रोक्का

काठमाडौं, माघ १७ 
नगद लाभांश वितरण नगर्न दिएको निर्देशन अटेर गरेको आरोप लगाउँदै बिमा समितिले एसियन लाइफ इन्स्योरेन्सको कारोबार रोक्का गरेको छ। समितिले एसियन लाइफलाई २०७० सम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्‍याउनुपर्ने सर्तमा लाइसेन्स दिएको थियो।
कम्पनीले नाफाको रकमबाट पुँजीवृद्धि गर्नुपर्नेमा उल्टै नगद लाभांश वितरण गर्न थालेपछि समितिले रोक्न निर्देशन दिएको थियो। 
वदमासी गरेपछि एसियन लाइफको
ग्राहकलाई स्पष्टीकरण
 एसियन लाइफले यो निर्देशन नमान्दै लाभांश वितरण गर्न सुरु गरेपछि समितिले सोमबारदेखि कारोबार रोक्का गरेको हो। कारबाहीपछि एसियनले कुनै पनि बिमा लेख बिक्री गर्न पाउने छैन।
'चुक्तापुँजी बढाउने सर्तमा लाइसेन्स पाएको एसियनले यस विपरीत नगद लाभांश वितरण गरेपछि सबै कारोवार रोक्का गरिएको हो,' समितिका सञ्चालक विनोद अर्यालले सोमबार नागरिकसँग भने।
यही सर्त बमोजिम एसियनले गत वर्षको नाफाबाट वितरण गर्ने निर्णय गरेको २८ प्रतिशत नगद लाभांश वितरण रोक्न समितिले निर्देशन दिएको थियो।
एसियनले समितिबाट स्वीकृति नलिई साधारण सभाबाट नगद वितरण गर्ने प्रस्ताव पारित गरेपछि समितिले यसअघि नै कारोबारमा आंशिक रोक लगाइएको थियो। त्यसबेला उसले सञ्चालनमा ल्याएको सुखी बाल जीवन योजना बिक्री गर्न नपाउने निर्देशन दिइएको थियो। सञ्चालक समिति र व्यवस्थापन सकारात्मक देखिएकाले त्यतिबेला समितिले १५ दिनपछि यो कारबाही फिर्ता लिएको थियो।
एसियनको चुक्तापुँजी अहिले ३६ करोड रुपैयाँ छ। एसियनले करिब २ लाख ५० हजार बिमा लेख वितरण गरेको अनुमान छ।
समितिले बिमा क्षेत्रमा गरेको यो अहिलेसम्मकै कडा कारबाही हो। यो कारबाही सर्वसाधारणको रकम सुरक्षित राख्न गरिएको अर्यालले बताए। 'पब्लिक कम्पनी यही नीतिमा चल्नुपर्छ,' उनले भने।
समितिले कम्पनीको खर्च खाता रोक्का गर्न पनि पत्राचार गरेको छ। बिमा पोलिसी खरिद गर्नेको भुक्तानी बुझाउन अप्ठेरो नपरोस् भनेर आम्दानी खाता खुला राखिएको छ। कम्पनीले गर्ने कुनै पनि खर्चका साथै कर्मचारी तलब भुक्तानीका लागि समेत समितिबाट सात दिन अगाडि नै स्वीकृत लिनुपर्ने व्यवस्था गरिएको छ।
प्रति हजार नाफा वितरणको विमांकीय मूल्यांकन, कम्पनीको वित्तीय विवरणसमेत नगद वितरण नगर्ने सर्त स्वीकृत गर्दा पनि नगद लाभांश वितरण गर्न पाउने स्वीकृती समितिले दिएको थिएन। 'नगद वितरणको निर्देशन फिर्ता नलिएको अवस्थामा कम्पनीले लाभांश वितरण गरेको हो,' अर्यालले भने।
केही दिनअघिदेखि कम्पनीले संस्थापक र सर्वसाधारण सेयर धनीलाई नगद लाभांश वितरण गर्न थालेको थियो। संस्थापकलाई नगद लाभांश बाँडिएको जानकारी समितिले पाएको थिएन। सर्वसाधारणलाई वितरण गर्न थालिएपछि यसको भेउ समितिले पाएको थियो। यसलाई तत्काल रोक्न दिएको निर्देशन एसियनले पालना नगरेपछि कारोबारमा पूर्ण रोक लगाइएको हो।
जीवन बिमा दीर्घकालीन व्यवसाय भएकाले तत्कालको नाफा वितरण गर्नुभन्दा पुँजीवृद्धि गर्न समितिलेे प्राथमिकता दिएको छ। जीवन बिमा कम्पनीलाई २०७० सम्म ५० करोड र निर्जीवन बिमा कम्पनीलाई २५ करोड चुक्तापुँजी पुर्‍याउनुपर्ने निर्देशन समितिको छ। यो निर्देशनपछि कुनै पनि बिमा कम्पनीले नगद लाभांश वितरण गरेका छैनन्। बिमा संस्थानबाहेक जीवन बिमाको कारोबार गर्ने ८ र निर्जीवन बिमा कम्पनी १६ छन्। संस्थानले दुवै काम गर्छ।
एसियनले सोमबार एक विज्ञप्तिमार्फत नवीकरण रसिद जारी गर्न, दाबी र समर्पण मूल्य भुक्तानी गर्न पाउने गरी नयाँ व्यवसायमा समितिले रोक लगाएको जनाएको छ। समितिको माघ १५ को पत्रले यस्तो रोक लगाएको उसले बताएको छ। 'नगद लाभांश वितरणको विवाद ग्राहक, सेयरधनी र सम्वद्ध सबैको हितमा हुने गरी छिटो भन्दा छिटो टुंग्याइने छ,' विज्ञप्तिमा भनिएको छ।

No comments:

Post a Comment

thanks for comment