एसियन लाइफका संस्थापकले रकम फिर्ता गर्ने

काठमाडौं, माघ २० 
कारोबार रोक्का भएको एसियन लाइफ इन्स्योरेन्सका संस्थापकले आइतबारसम्म नगद लाभांश बापत लिएको चार करोड ५२ लाख कम्पनीलाई फिर्ता गर्ने भएका छन्। बिमा समितिका सञ्चालक बिनोद अर्यालको संयोजकत्वमा गठित समितिले बिहीबार कम्पनीका अध्यक्ष विजय सरावगी लगायतसँगको छलफलमा उनीहरु पैसा फिर्ता गर्न सहमत भएका हुन्। 
 'सुधारका लागि तत्काल नगद लाभांशबापत बुझेको रकम फिर्ता गर्न कम्पनीका संस्थापक तयार देखिएका छन्' उनले भने।
चुक्ता पुँजी नबढाई नगद लाभांश वितरण नगर्न समितिले दिएको निर्देशनलाई उलंघन गर्दै कम्पनीले संस्थापकलाई पैसा बाँडेको थियो। संंस्थापकलाई वितरण गरिएको चार करोड ५२ लाख रकमको जानकारी समितिले पाएको थिएन। त्यसपछि सर्वसाधारण सेयरधनीलाई १ लाख ८६ हजार रुपैयाँ वितरण गरेको भेट्टिएको छ। सर्वसाधारणलाई लाभांश बाँडन थालेपछि मात्रै निर्देशन उल्लंघन भएको ठहर गर्दै समितिले कम्पनीको कारोबार रोक्का गरेको हो। कारोबार रोक्का गर्दै समितिले अर्यालको संयोजकत्वमा दामोदर भण्डारी र दिपक बराल रहेको छानविन उपसमिति गठन गरेको थियो।

समितिको निर्देशन पालना गर्न र गल्ती सच्च्याउन दिएको निर्देशनलाई उनीहरुले सकारात्मक रुपमा लिएका छन्। 'कम्पनीका तर्फबाट सकारात्मक जवाफ आएको छ' अर्यालले भने, 'कार्यान्वयन हेर्न बाँकी छ।'
कम्पनीका माइन्युट, खर्च र दायित्व लगायतका विवरण समितिले लगेको छ। 'यो कागजात अध्ययनपछि अरु कमजोरी भए देखिनेछ,' उनले भने।

समितिले कम्पनीको खर्च खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ। बिमा पोलिसी खरिद गर्नेको भुक्तानी बुझाउन अप्ठेरो नपरोस भनेर आम्दानी खाता खुला राखिएको छ।
कम्पनीले गर्ने कुनै पनि खर्च र कर्मचारीको तलब भुक्तानीका लागि समेत समितिबाट सात दिन अगाडि नै स्वीकृत लिनुपर्ने व्यवस्था गरिएको छ।
एसियनलाई लाइसेन्स दिँदा समितिले २०७० सम्म ५० करोड चुक्ता पुँजी बनाउनुपर्ने शर्त राखेको थियो। यही शर्तबमोजिम गत वर्षको नाफाबाट वितरण गर्ने निर्णय भएको २८ प्रतिशत नगद लाभांश समितिले रोकिदिएको थियो। समितिको स्वीकृति नलिई साधारणसभाबाट नगद वितरण गर्ने प्रस्ताव पारित भएपछि कारोबारमा आंशिक रोक लगाउँदै सुखी बाल जीवन योजना बिक्री गर्न नपाउने निर्देशन दिइएको थियो। 'यो अवधिपछिका कागजात कम्पनीबाट ल्याईएको छ' अर्यालले भने।
प्रति हजार नाफा वितरणको बिमाकीय मूल्यांकन, कम्पनीको वित्तीय विवरण समेत नगद वितरण नगर्ने शर्त स्वीकृत गर्दा पनि नगद लाभांश वितरण गर्न पाउने स्वीकृती समितिले दिएको थिएन। नगद वितरणको निर्देशन फिर्ता नलिएको अवस्थामा कम्पनीले लाभांश वितरण गरी नियामक निकायलाई अटेर गरेको अर्यालले बताए।
एसियनको चुक्ता पुँजी अहिले ३६ करोड रुपैयाँ छ। एसियनले करिब २ लाख ५० हजार बिमा लेख वितरण गरेको अनुमान छ। 'बिमा गर्नेको हितका लागि समितिले कम्पनीको कारोबार रोक्का गर्ने कडा कदम चालेको हो,' अर्यालले भने, 'बिमितको हितका पक्षमा कम्पनीको व्यवस्थापन र सञ्चालक देखिनुपर्छ।'
जीवन बिमा दीर्घकालीन व्यवसाय भएकोले तत्कालको नाफा वितरण गर्नुभन्दा पुँजी वृद्विमा समितिको प्राथमिकता छ। जीवन बिमा कम्पनीलाई २०७० सम्म ५० करोड र निर्जीवन बिमा कम्पनीलाई २५ करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने निर्देशन समितिको छ। यो निर्देशनपछि कुनै पनि बिमा कम्पनीले नगद लाभांश वितरण गरेका छैनन्। बिमा संस्थान बाहेक जीवन बिमाको कारोबार गर्ने ८ र निर्जीवन बिमा कम्पनी १६ छन्। संस्थानले दुवै काम गर्छ।

No comments:

Post a Comment

thanks for comment