अख्तियारद्वारा क्लियरिङ हाउसको कारोबार फुकुवा

काठमाडौं माघ १८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्लियरिङ हाउसको कारोबार फुकुवा गरेको छ । सफ्टवेयर खरीदमा वित्तीय अनियमितता भएको भन्दै अनुसन्धानका लागि दुई साताअघि कारोबारमा रोक लगाएको अख्तियारले वुधबार फुकुवा गरेको हो ।
क्लियरिङ हाउसले खरीद गरेको सफ्टवेयरमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवालासँग छलफलसमेत गरेको थियो ।
'सवै प्रमाण हामीले दिइसकेका छौं । अन्य पक्षसँग पनि कुरा गरेर अनुसन्धानबाट टुङ्गो लगाइ दिनुहोस् भनेका थियौं,' हाउसका एक साचालक सदस्यले भने, 'काम रोकिदाँ सर्वसाधारणलाई नै असर पर्छ । अख्तियारले असर पर्न नदिन कारोबर फुकुवा गरेको जनाएको छ ।' हाउसले विदेशी मुद्राको चेक क्लियरिङको काम रोकेको थियो ।
क्लियरिङ हाउसका अधिकारीहरुले कारोबार फुकुवा वारे विहीबार सवै बेंक वित्तीय संस्था वारे जानकारी गराएर यसै साताभित्र कारोबार सुरु गर्ने बताए ।
संस्थापकको तर्फबाट चुक्ता पुँजी ८ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीमा २३ वाणिज्य बैंक र २ विकास बैंकको ६९.४५ प्रतिशत सेयर हिस्सा छ । राष्ट्र बैंकको सेयर हिस्सा १४.२९ प्रतिशत छ । एससिटी नेटवर्कको १६.२६ प्रतिशत रहेको छ । कम्पनीले ३० प्रतिशत सेयर हिस्सा सर्वसाधारणका लागि छुट्याएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रदान गर्ने विद्युतिय चेक क्लियरिङ सेवा एनसिएच-ईसिसि अन्तर्गत भौतिक रुपमा चेक एक बैंकबाट अर्को बैंकमा लैजानु पर्दैन । ग्राहकले चेक जम्मा गरेपछि सम्बन्धित बैंकले चेक काटिएको बैंकमा त्यसलाई 'स्क्यान' गरेर पठाउँछ । त्यसपछिका सबै कामहरु स्क्यान गरिएको चेकको आधारमा हुन्छ ।
अहिले एउटा चेक राफसाफ हुन न्युनतम दुई दिन लाग्ने गरेको छ । कारोबार सुरु भएपछि क्लियरिङ हाउसले एकै दिनमा चेक राफसाफ गर्ने छ ।
कम्पनीका अनुसार ५ सय रुपैयाँसम्मको चेक साट्दा पैसा नलाग्ने ५ हजारसम्मको चेक साट्न पाँच रुपैयाँ र ५ हजारभन्दा माथिको चेक साट्न १० रुपैयाँ लाग्ने छ ।
यो सेवा पहिलो चरण काठमाण्डौ उपत्यकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा मात्रै उपलब्ध हुनेछ । क्रमिक रुपमा यसलाई अन्य शहरहरुमा विस्तार गर्दै लगिनेछ ।


No comments:

Post a Comment

thanks for comment