ब्याज घट्छ लगानी गर्न अरु क्षेत्र खोज : गभर्नर

काठमाडौं फागुन ११
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकको ब्याजमा निर्भर नहुनलाई बिमा कम्पनीहरुलाई आग्रह गरेका छन् । उनले लगानी विविधीकरण गर्न सके मात्र बिमा कम्पनीहरुले आय वढाउन सक्ने भन्दै बैंकको ब्याजमा भर नपर्न आग्रह गरे ।
'बैंकलाई तरलता अभाव भएपछि वढी व्याज दिन्छन् भन्दै च्याँखे नथापे हुन्छ,' बिमा संस्थानको ४५औं बार्षिकोत्सव कार्यक्रममा बिहीबार उनले भने, 'अब बैंकको ब्याज दर दुई अंकभन्दा कम हुन्छ ।' गभर्नरले उत्पादनमूलक ऊर्जा तथा संभावना भएका क्षेत्रमा लगानी गरे मात्र कम्पनीहरुले दोहोरो अंकको लाभांस दिने सक्ने बताए ।
'अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरे मात्र १५ प्रतिशतभन्दा वढी प्रतिफल प्राप्त हुन्छ,' गभर्नरले भने, 'अब लगानी विविधीकरणतर्फ बिमा कम्पनी लाग्नु पर्छ ।' गभर्नरले नियामक निकायको मार्गदर्शनअनुसार चल्न आग्रहसमेत गरे । उनले उदारीकरणमा नियामक निकाय अझ वलियो र सशक्त हुनु पर्ने बताए ।
गभर्नरले बैंकहरुले बचत संकलनका अलावा बिमासमेत गर्न थालेको प्रति राष्ट्र बैंकले अध्ययन गर्ने भन्दै यसमा चनाखो भूमिका खेल्ने बताए । उनले एउटै परिवार र घरानाले बैंक र फाइनान्स बिमा कम्पनीलगायत खोल्ने गरेकाले यस्तो भएको भन्दै यसमा सुधार गर्नु पर्ने बताए । 'पुरानामा सुधार गर्न गाह्रो छ,' उनले भने, 'नयाँ आउनेमा हामीले सुधार गरेर जानु पर्छ ।' गभर्नरले निजी क्षेत्रका थुप्रै बिमा कम्पनीहरु आएकाले संस्थानलाई प्रतिस्पर्धि भएर काम गर्न आग्रह गरे । उनले कृषि वालीलगायतका बिमा गर्न संस्थानलाई मार्गनिर्देश गरे । गभर्नरले बिमा संस्थानलाई चाँडो लेखापरीक्षणको कार्य सकेर सेयरधनीलाई लाभांस वाँड्न आग्रह गरे । संस्थानमा राष्ट्र बैंकको पनि सेयर छ ।
बिमा समितिका अध्यक्ष फत्तवहादुर केसीले संस्थान सरकारी भएका कारण सामाजिक दायित्व निर्वाह गर्ने खालको बिमा सेवाहरु ल्याउन आग्रह गरे । उनले अन्य बिमा कम्पनीहरुले गर्न नचाहेको क्षेत्रमा हात हालेर सर्वसाधारणलाई सेवा दिनु पर्ने बताए । केसीले मानव शंसाधन कमजोर भएका कारण संस्थान प्रतिस्पर्धि हुन पछि परेकाले यसमा ध्यान दिन आग्रह गरे ।
उनले संस्थानले लगानी विविधीकरणका लागि लगानी समिति बनाएर अध्ययन गर्नु पर्ने बताए । 'लगानीको क्षेत्र खोज्ने जिम्मा संवन्धित कम्पनीकै हो,' उनले भने, 'यसका लागि अध्ययन गर्न र लगानीका संपूर्ण कार्य गर्न समिति बनाउनु पर्छ ।' संस्थानको वार्षिकोत्सवको उद्घाटन अर्थराज्यमन्त्री हरिखेवा लिम्बुले गरे । उनले संस्थानलाई प्रतिस्पर्धि भएर अगाडि वढ्न सुभकामना दिएका थिए ।
कार्यक्रममा २० वर्षे कार्य गरेका ३९ जना कर्मचारीलाई दीर्घ सेवा पदक दिइएको थियो । धेरै बिमालेख विक्री गर्ने एक जनालाई स्कुटर र नगद पुरस्कार दिइएको थियो ।
संस्थानले चालु वर्ष १ अर्ब ९० करोड जीवन बिमा शुल्क उठाउने लक्ष्य लिएकोमा पुससम्म १ अर्ब रुपैयाँ संकलन भइसकेको निमित्त प्रशासक ओमकारनिधि तिवारीले जानकारी दिए । संस्थानले ५५ करोड निर्जीवन शुल्क उठाउने लक्ष्य लिएकोमा ३० करोड रुपैयाँ उठाइसकेको छ । संस्थानले तामाकोशीमा २ अर्ब र जलविद्युत विकास कम्पनीमा १ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

No comments:

Post a Comment

thanks for comment