बैंकिङ क्षेत्रको पुँजी लागत घट्यो

निक्षेप र ऋणको ब्याज सस्तिँदै

काठमाडौं फागुन २१
वाणिज्य बैंकसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुको समेत पुँजी लागत कस्ट अफ फन्ड घट्न थालेको छ । बैंकिङ प्रणालीमा पैसा तरलता वढेर निक्षेपको व्याज घट्न थालेपछि लागत घटेको हो ।
'पुँजी लागत विस्तारै घट्न थालेको छ । डेढ वर्षभन्दा वढी अवधि महँगो दरमा निक्षेप उठाएकाले एकैचोटी ठूलो अन्तरमा भने घट्न सकेको छैन,' नेपाल बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आइतबार नागरिकसँग भने ।
उनका अनुसार पैसा वढेसँगै बैंकहरुले नयाँ निक्षेप सस्तोमा लिन थालेको र पुरानोसमेत परिपक्क भएपछि नवीकरण हुन थालेकाले लागत कम हुँदै गएको छ । 'सवै निक्षेप परिपक्क भइसक्न समय लाग्छ । परिपक्क हुँदा व्याज कम भएर लागत अझ घट्छ,' उनले भने ।
बैंकहरुको लागत कम हुँदा ऋण लिने उपभोक्ताले सस्तो व्याजमा पैसा पाउँछन् । निक्षेप महँगोमा लिएका कारण बैंकहरुले सवै खर्च र आम्दानी जोड्दा ऋण थप महँगो पर्न जान्छ । 'तरलता वढेर बैंकहरुले निक्षेपकर्तालाई दिने व्याज घटाउन थालेपछि पुँजी लागत घटेको हो,' उनले भने, 'यसले गर्दा पहिलेको तुलनामा ऋणको व्याज सस्तिन थालिसकेको छ । अझ लागत घटेपनि व्याज समय सुहाउँदो हुन्छ ।'
विकास बैंक संघका अध्यक्ष तथा क्लिन इनर्जी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले पुँजी लागत कम भएका कारण बैंक तथा वित्तीय संस्थाले दिने व्याजमा कमी आइसकेको बताए । उनका अनुसार अहिले वर्किङ क्यापिटल ऋण ११-१२ प्रतिशत र टर्म लोन १३-१४ प्रतिशतमा आइसकेको छ ।
राष्ट्र बैंकका अनुसार केही महिना घटेको फाइनान्स कम्पनीको निक्षेपसमेत वढेको छ । पुस मसान्तसम्म बैंकिङ प्रणलीको निक्षेप ८५ अर्ब ६८ करोडले वढ्दा फाइनान्स कम्पनीको निक्षेप १.७ प्रतिशतले वढेको छ । बाणिज्य बैंकहरुको निक्षेप ११.४ प्रतिशत र विकास बैंकहरुको ११.६ प्रतिशतले वढेको छ ।
'निक्षेपको व्याज घटेर लागत कम भएकाले नै ऋणको घटाउन संभव भएको हो,' गोयलले भने, 'तर लागत जुन रुपमा वढेको थियो त्यो अनुपातमा घट्न भने समय लाग्छ ।' पुँजी लागत वढेर ऋणमा महँगो ब्याज लिन थालेपछि उद्योगधन्दा तथा सर्वसाधारणले बैंकबाट पैसा लिन छाडेका थिए ।
बैंकिङ प्रणालीमा पैसा थुपि्रन थालेपछि एक वर्षे मुद्दति निक्षेपको ब्याज १२ प्रतिशतबाट १० प्रतिशतभन्दा मूनी आइसकेको छ । विकास बैंक र फाइनान्स कम्पनीले पनि एक वर्षे मुद्दतिमा १ प्रतिशत विन्दुले ब्याज घटाइसकेका छन् । यि कम्पनीहरुले ग्राहकलाई अधिकतम १५ प्रतिशतसम्म व्याज दिन्थे ।
सबैभन्दा वढी व्याज माग्ने वित्तिकै फिर्ता गर्नु पर्ने कल डिपोजिट निक्षेपको घटेको छ । ठूला र पुराना वाणिज्य बैंकहरुले १२ प्रतिशतबाट यसको व्याज घटाएर ७ प्रतिशतको हाराहारीमा झारिसकेका छन् । विकास बैंक र फाइनान्स कम्पनीलाई दिने ब्याज ३ देखि ५ प्रतिशतको हाराहारीमा छ ।
विकास बैंक र फाइनान्स कम्पनीले अधिकतम ८ प्रतिशतसम्म कल डिपोजिटमा ब्याज दिइरहेका छन् । यो व्याज १४ प्रतिशतसम्म थियो ।
कल डिपोजिट वाहेक बचत खाताको ब्याजसमेत घटाएका छन् । बैंक तथा वित्तीय संस्थाको सवैभन्दा राम्रो निक्षेपको 'जग' बचत खाता हो । बचत खाताको ब्याज घट्दाको प्रभावकारी असर पुँजी लागतमा पर्छ ।
नयाँ आएका बैंकहरुका साथै विकास बैंक र फाइनान्स कम्पनीहरुले बचत खाताको ब्याज भने घटाउन सकेका छैनन् । 'विकास बैंक र फाइनान्स कम्पनीप्रति सर्वसाधारण ग्राहक अझ आश्वस्त हुन नसकेकाले बचत खाताको ब्याज घटाउन मुस्किल भइरहेको छ,' एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारीले भने ।

No comments:

Post a Comment

thanks for comment