नेपाल बैंकको सेयर सूचीकरण तयारी

सुदर्शन सापकोटा
काठमाडौं, चैत ६
लामो समयदेखि सूचीकरण खारेज भएको नेपाल बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने भएको छ। बैंकले पुँजी बढाउन सेयर सूचीकरण गर्न लागेको हो। आठ वर्षदेखि सूचीकरण खारेज भएर कारोबार नभएको बैंकको सेयर पुनः सूचीकरण भएपछि सर्वसाधारणलाई खरिद-बिक्री गर्ने अवसर मिल्ने छ। बैंकमा सर्वसाधारण लगानीकर्ताको कूल पुँजीको ४९.९४ प्रतिशत सेयर हिस्सा छ।
'सूचीकरणको प्रक्रिया सुरु भइसकेको छ,' बैंक व्यवस्थापन समिति संयोजक महेश्वरलाल श्रेष्ठले आइतबार नागरिकसँग भने, 'सेयर निस्कासन तथा बिक्री प्रबन्धकसमेत नियुक्त गर्ने तयारी भइरहेको छ।'
बैंकले वर्तमान चुक्ता पुँजी ३८ करोडबाट बढाएर ४ अर्ब पुर्‍याउने भएपछि सेयर सूचीकरण गर्न लागेको हो। नेपाल धितोपत्र ऐनअनुसार पुँजी वृद्धि गर्न सूचीकरण खारेज भएका कम्पनी पुनः नेप्सेमा सूचीकृत हुनुपर्छ। बैंकले पुँजी वृद्धि गर्न प्रतिसेयर बराबर ९.५ का दरले हकप्रद निस्कासन गर्ने तयारी गरेको छ।
'बैंकमा सरकारको पनि मुख्य सेयर भएकाले पुँजी वृद्धि गर्ने योजना अर्थ मन्त्रालयमा पठाएका छौं,' श्रेष्ठले भने, 'पुँजी वृद्धि गर्न सैद्धान्तिक स्वीकृति पाउनेबित्तिकै सूचीकरण गरिहाल्छौं।'
गत फागुन २० मा भएको सेयरधनीसँगको छलफलमा सरकारले बैंकको पुँजी योजनालाई स्वीकृति दिने जनाइसकेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार चैतभित्रै बैंकको पुँजी योजना स्वीकृत हुनेछ। त्यसपछि बैंकमा सरकारले १ अर्ब ५० करोड लगानी गर्नुपर्ने हुन्छ।
नेप्सेले बैंकको सेयर २०६० फागुन १९ मा सूचीकरण खारेज गरिदिएको थियो। बैंकको वित्तीय स्वास्थ्य एकदमै बिग्रिएर बन्द हुने भएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरिएको थियो। कार्यक्रमका कारण बैंकको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। वित्तीय अवस्था पूरै राम्रो हुन पुँजी वृद्धि गर्नुपर्ने भएकाले बैंकले हकप्रद सेयर निस्कासनको तयारी गरेको हो।
'सेयर सूचीकरण तथा निस्कासनका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ,' उनले भने, 'मुख्य सेयरधनी सरकार भएकाले पुँजी बढाउन अप्ठेरो नपरोस् भनेर सैद्धान्तिक स्वीकृति पर्खिएर बसेका हौं।'
बैंकको वास्तविक वित्तीय अवस्था कस्तो छ भनेर जाँच्न गरिएको अध्ययन प्रतिवेदनसमेत यसै महिना अन्तिममा आउने उनले जानकारी दिए। 'यसले सेयर निस्कासन गर्न अझ सजिलो हुनेछ,' श्रेष्ठले भने।
बैंकमा सर्वसाधारणका अतिरिक्त सरकारको ४०.४९, 'क' वर्गका वाणिज्य बैंकको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर हिस्सा छ।
गत वर्षको वित्तिय विवरणअनुसार बैंकलाई करिब ९ अर्ब ७४ करोड पुँजी कोष आवश्यक छ। यसैका लागि बैंकले हकप्रद सेयर निस्कासन गर्न लागेको हो। पुँजी कोष बढाउन बैंकले निस्त्रि्कय अवस्थाका सम्पत्तिमध्ये करिब २ अर्बबराबरको बिक्री गर्ने तयारी पनि गरेको छ। साथै वार्षिक नाफालाई सञ्चित राख्ने बैंकको योजना छ। ७५ वर्ष पुरानो बैंकले पुँजी वृद्धि गरेर आर्थिक वर्ष २०७१/७२ पछि सेयरधनीलाई लाभांश बाँड्ने लक्ष्य लिएको छ।
वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुनुअघि बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो। अहिले वित्तीय अवस्थामा सुधार आएकाले पँुजी कोष ४ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक छ। खराब ऋण अनुपात ६० बाट घटेर ५.१७ प्रतिशतमा आएको छ। ८ वर्षदेखि बैंक लगातार नाफामा सञ्चालन हँुदै आएको छ।
सुधार कार्यक्रमअघि कर्मचारी संख्या ५ हजार ६ सय ५२ रहेकोमा अहिले आधा घटाएर २ हजार ८ सय ४३ मा झारिएको छ। अहिले बैंकमा निक्षेप ४८ अर्ब रुपैयाँ छ। ऋण २७ अर्ब ४५ करोड र लगानी ९ अर्ब रुपैयाँ छ।
बैंकको सर्वसाधारणबाट मुख्य सेयरधनी विश्वनाथ सापकोटा, गंगाबहादुर केसी, जयन्द्रमानसिंह बानियाँ, पशुपतिशमशेर जबरा, राजेन्द्र खेतान, लोकभक्त राणा, गजेन्द्रबहादुर श्रेष्ठ, लोकमान्य गोल्छा, शेखर गोल्छा, निरञ्जनकुमार टिवडेवाल, गजेन्द्रबहादुर श्रेष्ठ, निरज राजभण्डारी, रमेशराज अर्याल, नविननरसिंह राणा, इन्दिरा खत्री, केदारनारायण मानन्धर, बालकृष्ण श्रेष्ठलगायत छन्।

No comments:

Post a Comment

thanks for comment