नेपाल बैंकको पुँजी वृद्धि योजना, मुख्य सेयरधनी सकारात्मक

काठमाडौं, फागुन २१ 
नेपाल बैंकको पुँजी वृद्वि योजनाप्रति बैंकका मुख्य सेयरधनी सकारात्मक देखिएका छन्। पुँजी योजना कार्यान्वयन गर्न गरिएको छलफलमा उनीहरु सकारात्मक देखिएका हुन्। बैंकको स्वमित्व संरचनामा सरकारको ४० दशमलव ४९ प्रतिशत, अन्य संघ संस्था र सर्वसाधारणको ५९ दशमलव ५१ प्रतिशत हिस्सा छ।
बैंकका मुख्य सेयरधनीमध्ये, पशुपतिशमशेर जबरा, राजेन्द्र खेतान, लोकभक्त राणा, गजेन्द्रबहादुर श्रेष्ठ, लोकमान्य गोल्छा, शेखर गोल्छा, निरन्जनकुमार टिवडेवाल, निरज राजभण्डारी, रमेशराज अर्याल, नवीन नरसिंह राणा, इन्दिरा खत्री, केदारनारायण मानन्धर, बालकृष्ण श्रेष्ठलगायत सेयरधनीहरुले नेपाल बैंकको पुँजी योजना सफलतापूर्वक कार्यान्वयन गर्न सेयरधनीको सक्दो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा छ ।
खेतानले दस वर्षपछि सेयरधनीहरुसँग छलफल गर्दा बैंकको समग्र अवस्था सोचेभन्दा राम्रो रहेको बताए। 'नेपालीको गरिमाको रुपमा रहेको नेपाल बैंकका सेयरधनी आवश्यक थप लगानी गर्न तत्पर छन्,' उनले भने। राणा, टिवडेवाला, गजेन्द्र र बालकृष्णले पुँजी योजना कार्यान्वयनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैंक व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले विगत १० वर्षमा बैंकले हासिल गरेका उपलब्धि प्रस्तुत गर्दै आर्थिक वर्ष ०५८/५९ मा बैंकको पुँजीकोष १२ अर्ब ५८ करोड ऋणात्मक रहेकोमा अहिले घटेर ४ अर्ब २२ करोडमा सीमित भएको जानकारी दिए।
खराब कर्जाको अनुपात ६० प्रतिशतबाट घटेर ५ दशमलव १७ प्रतिशतमा झरेको र ८ वर्षदेखि बैंक लगातार नाफा गर्न सफल भइरहेको उनले बताए। कर्मचारी संख्या ५ हजार ६ सय ५२ बाट २ हजार ८ सय ४३ मा झारिएको छ। निक्षेप ४८ अर्ब, कर्जा सापटी २७ अर्ब ४५ करोड, लगानी करिब ९ अर्ब पुगेको छ।
नयाँ पुँजी योजना प्रस्तुत गर्दै उनले आर्थिक वर्ष ०६७/६८ को वित्तीय विवरणअनुसार बैंकलाई करिब ९ अर्ब ७४ करोड पुँजीकोष आवश्यक रहेको बताए। योजनाअनुसार एक सेयर बराबर ९ दशमलव ५ का दरले हकप्रद सेयर जारी गरी बैंकको चुक्ता पुँजी ४ अर्ब बनाउने बैंकको योजना छ। निष्त्रि्कयमध्ये करिब २ अर्बको सम्पत्ति बिक्री गर्ने र नपुग पुँजी कोषको लागि वार्षिक रुपमा हुने नाफालाई सञ्चित गरी ०७१/७२ को अन्त्यसम्ममा राष्ट्र बैंकले तोकेबमोजिमको पुँजी कोष कायम हुने श्रेष्ठले बताए। योजना कार्यान्वयन भएपछि बैंकले आर्थिक वर्ष ०७१/७२ पछि लाभांश वितरण गर्न बैंक सक्षम हुने उनले बताए।
राष्ट्र बैंकका निर्देशक बासुदेव अधिकारीले नेपालको पहिलो बैंक धराशयी नहोस् भनी यसलाई जोगाउन राष्ट्र बैंक ऐनको धारा ८६ ग अन्तर्गत नियन्त्रणमा लिई सञ्चालन भैरहेको बताए। पुँजी योजना सफलतापूर्वक कार्यान्वयनमा ल्याई बैंक सेयरधनीलाई नै हस्तान्तरण गरिने उनले बताए।
अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले नेपाल बैंकप्रति सर्वसाधारणको विश्वास रहेको, धेरै स्थिर सम्पत्ति भएको, दक्ष एवं अनुभवी जनशक्ति रहेको र जिम्मेवार सेयरधनी रहेकाले यो बैंकको पुँजी योजना कार्यान्वयन सफल हुने बताए।
सरकारले सेयर हिस्सा बमोजिम करिब १ अर्व ५० करोड थप लगानी गर्ने सैद्धान्तिक सहमति रहेको जानकारी उनले दिए। बैंक व्यवस्थापन समितिका संयोजक देवराज अधिकारीले व्यवस्थापन समिति सेयरधनीको विश्वास र भावनाअनुरुप योजना कार्यन्वयनमा निरन्तर लागिरहेको बताए।

No comments:

Post a Comment

thanks for comment