बैंकर्स संघमा निर्विरोध

सुदर्शन सापकोटा
काठमाडौं, चैत ८- 
नेपाल बैंकर्स संघमा दुई उपाध्यक्षसहित पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। उम्मेदवारी दर्ता गराउने अन्तिम दिन मंगलबारसम्म कुनै पनि पदमा बढी उम्मेदवारी दर्ता भएन। कार्यसमिति निर्विरोध चयन भएको औपचारिक घोषणा भने शुक्रबार हुनेछ।
वाणिज्य बैंकहरूको छाता संगठनमा अध्यक्षबाहेकका पदमा शुक्रबार निर्वाचनको मिति तोकिएको थियो। संघको विधानअनुसार दुई वर्षे कार्यकालका लागि पहिलो वर्ष अध्यक्ष र अर्को वर्ष बाँकी कार्यसमितिको निर्वाचन हुन्छ। अहिले संघको अध्यक्षमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा छन्।


दुई उपाध्यक्ष पद रहने संघमा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी र एनएमबी बैंकमा प्रमुख कार्यकारी उपेन्द्र पौडेलले मात्र उम्मेदवारी दिएका छन्। 'कार्यसमिति निर्विरोध निर्वाचित भएको छ,' निर्वाचन अधिकृत केशव अधिकारीले मंगलबार नागरिकसँग भने, 'औपचारिक घोषणा शुक्रबार हुनेछ।' कसैले उम्मेदवारी फिर्ता लिए पनि चुनाव नहुने उनले जनाए।
आगामी कार्यसमितिमा आधा उम्मेदवार नयाँ बैंकका प्रमुख कार्यकारी छन्। सदस्यहरुमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन, सेन्चुरी कमर्सियल बैंकका गणेशकुमार श्रेष्ठ, जनता बैंक नेपालका विजय पन्त, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका जोसेफ सिल्भानुस, राष्ट्रिय वाणिज्य बैंकका कृष्ण शर्मा, नबिलका अनिल ज्ञवाली र किष्टका कमल ज्ञवाली छन्।
बैंकरहरु वर्तमान कार्यसमितिका सदस्य तथा लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई उपाध्यक्ष बनाउन मंगलबार दिउँसोसमेत मनाइरहेका थिए। तर उनले कुनै इच्छा नदेखाएपछि पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
उपाध्यक्षमा निर्विरोध हुने अवस्थामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह पनि उम्मेदवारी दर्ता गराउने तयारीमा थिए। सुरुदेखि नै निर्वाचनको विपक्षमा रहेका शाहले पौडेलले उम्मेदवारी दिएपछि आफ्नो नाम दर्ता गराएनन्। सदस्यमा उमेद्वारी दिन तयार केही बैंकरले शाहको बाटो पच्छ्याउँदै निर्विरोध निर्वाचनका लागि उमेद्वारी दर्ता गराएनन्।
'निर्वाचन नभई सहमतिमा कार्यसमिति आएकाले राम्रो सन्देश गएको छ,' अध्यक्ष राणाले भने, 'पुरानो, विदेशी, सरकारी र नयाँ सबै बैंकको मिश्रणले नेतृत्वले सशक्त रुपमा काम गर्न सक्छ।' नयाँ कार्यसमितिमा सिटिजन्स्का भण्डारी र किष्टका ज्ञवाली दोहोरिने छन्। वर्तमान कार्यसमितिमा भण्डारी उपाध्यक्ष र ज्ञवाली सदस्य छन्।
बैंकरहरुले विदेशी बैंकका तर्फबाट उमेद्वारी दिन सिल्भानुसलाई अनुरोध गरेका थिए। विदेशी तीन बैंकमध्ये एक र सरकारी एक बैंकलाई सदस्य बनाउने संघको अघोषित नीति हो। वर्तमान कार्यसमितिमा विदेशी बैंकका तर्फबाट पञ्जाब नेसनल बैंकको साझेदारी रहेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पिके मोहपात्र सदस्य छन्। उनी लगातार दुई कार्यसमिति सदस्य भएकाले पुनः सदस्य बन्न पाउँदैनन्। सरकारी बैंकका तर्फबाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा नयाँ कार्यसमितिमा आउने भएका छन्।
स्रोतका अनुसार गत वर्ष अध्यक्ष पदमा निर्वाचन हुँदा बैंकरबीच गुटहरु जन्मिएपछि यसपटक कार्यसमिति निर्विरोध बनाउन खोजिएको हो। गुटहरुका कारण संघको पहलमा आएको चेक राफसाफ गर्ने नेपाल क्लियरिङ हाउसमा विवाद झिकिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको बैंकरहरुको बुझाइ छ।
'बेकारमा अपजस खानुपर्ने र साथीहरुबीच नै एकमत हुन नसक्दा बाहिरी आरोप धेरै सहनुपर्ने भएकाले यसपालि उम्मेदवारी घोषणामा उत्साह देखिएन,' एक बैंकरले भने, 'त्यही भएर वर्तमान कार्यसमितिका धेरै सदस्य यसपालि आउन चाहेनन्।'

No comments:

Post a Comment

thanks for comment