घर-गाडी किन्न बैंक ऋण सजिलो

सुदर्शन सापकोटा
काठमाडौं, फागुन २९
पैसा कम छ। घर वा गाडी किन्ने सोच भए कर्जा पाउने सम्भावना बढेको छ। सर्वसाधारणबाट महँगोमा लिएको पैसा लगानी गर्ने ठाउँ नभेट्टाएपछि बैंकहरूले पहिलेजस्तै सस्तोमा घर-गाडी किन्न ऋण दिन थालेका छन्।

दुई-तीन वर्ष अघिजस्तै अहिले कतिपय बैंकले घर र गाडी कर्जा सजिलै उपलब्ध गराएका छन्। तर, ब्याज भने अहिले पनि पुरानोभन्दा चर्कै छ। यो क्षेत्र (घर-गाडि) मा सानो-सानो आकारमा ऋण जाने भएकाले बैंकहरूलाई जोखिम पनि बढी छैन।

'अन्य क्षेत्रमा ऋणको माग छैन। थोरै-थोरै आकारमा जाने भएकाले घर र गाडीलाई दिइने ऋणमा जोखिमसमेत कम हुन्छ,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'अहिले यो क्षेत्रमा सजिलै ऋण उपलब्ध छ।'


बैंकले घर बनाउन लाग्ने खर्चको १ सय २० प्रतिशत र गाडी खरिदका लागि ८० प्रतिशतसम्म ऋण दिइरहेका छन्। गाडी किन्न १० वर्षसम्म र घर तथा अपार्टमेन्टका लागि २० वर्षे किस्तामा ऋण पाइन्छ। घर मर्मतका लागि पनि ऋण उपलब्ध छ। त्यसमा चाहिने फर्निचर किन्नसमेत बैंकले पैसा दिन्छन्।

सामान्यतया राजधानीमा १७ देखि २० लाख रुपैयाँसम्ममा एक तल्ले घर बन्छ। घर बनाउन २० लाख रुपैयाँ लिँदा अहिलेको ब्याज १४ प्रतिशतका हिसाबले २० वर्षे अवधिमा तिर्ने गरी मासिक २४ हजार ८ सय ७० रुपैयाँ किस्ता तिर्नुपर्छ। 'मासिक आम्दानी ६० हजार हुनेले २० लाख रुपैयाँ ऋण सजिलै चलाउन सक्छन्,' उनले भने, 'नियमित आम्दानी भएकालाई हामीले ऋण दिइरहेका छौं।'

आधा दर्जन बैंकले 'आवास कर्जा' मा 'स्किम' नै ल्याएका छन्। गाडीमा पनि स्किम आउन थालेका छन्।
१६ लाख ५५ हजार रुपैयाँ पर्ने कार किन्न बैंकले १३ लाख २४ हजार रुपैयाँसम्म ऋण दिन्छन्। १० वर्षसम्म लगाएर तिरे हुने यो कर्जाको मासिक किस्ता २५ हजार रुपैयाँ पर्छ।

बैंकहरूका अनुसार मासिक ५५ हजार रुपैयाँ आम्दानी हुनेले १७ लाखसम्मको कार किन्न सक्छन्। मासिक ३५ हजार रुपैयाँ कमाउनेले १० लाखसम्म पर्ने कार किन्न कर्जा पाउँछन्। यो कारको किस्ता मासिक १३ हजार रुपैयाँ पर्छ। अहिले वाणिज्य बैंकसँग कर्जा दिन पर्याप्त तरलता छ। राष्ट्र बैंकका अनुसार अहिलेकै अवस्थामा पनि वाणिज्य बैंकहरूले ६५ अर्ब रुपैयाँ ऋण लगानी गर्न सक्छन्।

बैंकहरूले उठाएको निक्षेपममा नियमित ब्याज तिरिरहनु परेको छ। यता ऋण लगानी नहुँदा उनीहरूको ब्याज खर्च बढिरहेको छ। यसले गर्दा बैंकलाई ब्याज घटाएर पनि जोखिम कम भएको क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता भएको हो। मुद्रा बजार (बैंकहरूले आपसमा दिने सापटी अन्तर बैंक, सरकारी ऋणपत्र) को ब्याज दर १ प्रतिशतभन्दा कम भएकाले पनि बैंकलाई नियमित ब्याज ख्वाइरहने क्षेत्रमा लगानी गर्नुपर्ने भएको हो। घर र गाडीमा अहिले बैंकले १४ प्रतिशत हाराहारीमा ब्याज लिएर ऋण दिन थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीले समेत ब्याज घटाएर लगानी गर्न थालेका छन्। चालु वर्षको पुससम्म बैंकहरूको निक्षेप ७ सय ६१ अर्ब रुपैयाँ पुगिसकेको छ। गत असोजमा ७ सय २५ अर्बमात्र थियो। ऋण भने पुससम्म ५ सय ५२ अर्ब पुगेको छ।

तुलनात्मक रूपमा ब्याज दरसमेत घट्न थालेकाले मध्यम वर्गीय परिवारले यस्तो ऋण लिन सक्नेछन्। घर बनाउन तथा अपार्टमेन्ट र गाडी किन्न दुई वर्ष अघिभन्दा ब्याज ४० प्रतिशतसम्म महँगो भएको थियो। अहिले त्यही अनुपातमा नघटे पनि केही सस्तो भने भएको छ।

'ब्याज दर चालु वर्षभित्र अझै घट्छ,' डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा क्लिन इनर्जी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले भने, 'यसले ऋणको माग बढाउन सहयोग गर्नेछ।'

No comments:

Post a Comment

thanks for comment