सुदर्शन सापकोटा
काठमाडौं, जेठ ३०
वाणिज्य बैंक बन्नका लागि प्रभु फाइनान्स लिमिटेडले एकैचोटी एक दर्जन संस्थालाई गाभ्ने प्रकृया अगाडि वढाएको छ। बैंकले चार वटा संस्थासँग मर्जरमा जाने सम्झौता गरिसकेको छ। प्रभुले अन्य ६ वटा संस्थासँग गाभिने प्रकृया अगाडि वढाइसकेको छ।
'चार वटासँग सम्झौता नै भइसकेको छ,' प्रभु फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिहीबार नागरिकसँग भने, 'अन्यसँग छलफल भइरहेको छ। केही दिनमा नै टुङ्गो लाग्छ।'
राष्ट्र बैंकले सकेसम्म धेरै संस्था मिलेर मर्जरमा आए वाणिज्य बैंकको लागिसमेत अनुमति दिन सक्ने जनाएपछि प्रभुले मर्जरका लागि धेरैभन्दा धेरै संस्था गाभ्न खोजेको हो। प्रभुसँग मर्जरका लागि समवृद्धि विकास बैंक, वैभव फाइनान्स, हामा फाइनान्स र एनडिइपी डेभलपमेन्ट बैंकसँग सम्झौता गरिसकेको छ। यसमध्ये समवृद्धि र वैभवसँग राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति नै लिइसकेको छ।
प्रभुले असारभित्रै गाभिएर आगामी बर्ष एकिकृत वासलात (ब्यालेन्सिट) निकाल्ने योजना अनुसार वैभव र समवृद्धिसँग सम्झौता गरेको थियो। त्यसपछि हामा र एनडिइपी पनि प्रभु फाइनान्ससँग जोडिन आएका हुन्।
प्रभुसँग गाभिन अन्य संस्थाहरुले पनि चासो देखाएपछि राष्ट्र बैंकको सुझावमा उसले अन्य संस्थासँग कुराकानी अगाडि वढाएको हो। मर्जरपछि नयाँ संस्थाको नाम प्रभु विकास बैंक हुने छ। वित्तीय संस्थाहरुमध्ये सबैभन्दा वढी बचत खाता रहेको प्रभुको चुक्ता पुँजी ५४ करोड ८९ करोड रुपैयाँ छ।
प्रभुसँग विभिन्न चरणमा गौमूखि विकास बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सिभिक डेभलपमेन्ट बैंक, वागमति डेभलमेन्ट बैंक, जेनिथ फाइनान्सलगायतको कुराकानी भइसकेको छ। मर्जरको अन्तिम टुङ्गो भने लागिसकेको छैन। 'केही प्राविधिक कुराहरुको टुङ्गो लागेपछि मर्जरको प्रकृया औपचारिक रुपमा अगाडि वढ्ने छ,' स्रोतले भन्यो।