वाणिज्य बैंक बन्न १० वित्तीय संस्था गाभिँदै

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ३०
वाणिज्य बैंक बन्नका लागि प्रभु फाइनान्स लिमिटेडले एकैचोटी एक दर्जन संस्थालाई गाभ्ने प्रकृया अगाडि वढाएको छ। बैंकले चार वटा संस्थासँग मर्जरमा जाने सम्झौता गरिसकेको छ। प्रभुले अन्य ६ वटा संस्थासँग गाभिने प्रकृया अगाडि वढाइसकेको छ।
'चार वटासँग सम्झौता नै भइसकेको छ,' प्रभु फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिहीबार नागरिकसँग भने, 'अन्यसँग छलफल भइरहेको छ। केही दिनमा नै टुङ्गो लाग्छ।'
राष्ट्र बैंकले सकेसम्म धेरै संस्था मिलेर मर्जरमा आए वाणिज्य बैंकको लागिसमेत अनुमति दिन सक्ने जनाएपछि प्रभुले मर्जरका लागि धेरैभन्दा धेरै संस्था गाभ्न खोजेको हो। प्रभुसँग मर्जरका लागि  समवृद्धि विकास बैंक, वैभव फाइनान्स, हामा फाइनान्स र एनडिइपी डेभलपमेन्ट बैंकसँग सम्झौता गरिसकेको छ। यसमध्ये समवृद्धि र वैभवसँग राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति नै लिइसकेको छ। 
प्रभुले असारभित्रै गाभिएर आगामी बर्ष एकिकृत वासलात (ब्यालेन्सिट) निकाल्ने योजना अनुसार वैभव र समवृद्धिसँग सम्झौता गरेको थियो। त्यसपछि हामा र एनडिइपी पनि प्रभु फाइनान्ससँग जोडिन आएका हुन्। 
प्रभुसँग गाभिन अन्य संस्थाहरुले पनि चासो देखाएपछि राष्ट्र बैंकको सुझावमा उसले अन्य संस्थासँग कुराकानी अगाडि वढाएको हो। मर्जरपछि नयाँ संस्थाको नाम प्रभु विकास बैंक हुने छ। वित्तीय संस्थाहरुमध्ये सबैभन्दा वढी बचत खाता रहेको प्रभुको चुक्ता पुँजी ५४ करोड ८९ करोड रुपैयाँ छ। 
प्रभुसँग विभिन्न चरणमा गौमूखि विकास बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सिभिक डेभलपमेन्ट बैंक, वागमति डेभलमेन्ट बैंक, जेनिथ फाइनान्सलगायतको कुराकानी भइसकेको छ। मर्जरको अन्तिम टुङ्गो भने लागिसकेको छैन। 'केही प्राविधिक कुराहरुको टुङ्गो लागेपछि मर्जरको प्रकृया औपचारिक रुपमा अगाडि वढ्ने छ,' स्रोतले भन्यो। 

अहिले वैभवको चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ छ। समवृद्धिको भने ७ करोड रुपैयाँ मात्र छ। हामासँग २० करोड रुपैयाँ पुँजी छ भने एनडिइपीसँग ५८ करोड २४ लाख रुपैयाँ निक्षेप छ। 
'सेयर संरचना सबै कम्पनीको सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि टुङगो लाग्ने छ,' शेरचनले भने, 'सकेसम्म धेरै संस्थासँग एकदमै चाँडै मर्जर प्रकृया सक्ने योजनामा छौं।' 
वाणिज्य बैंक बन्ने योजनासहित मनकामना डेभलपमेन्ट बैंकसँग यति फाइनान्स, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्स गाभिने प्रकृया अगाडि वढिसकेको छ। यि संस्थाले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेका छन्। यतिलाई १० प्रतिशत प्रिमियमसहित अरु संस्था प्रति एक बराबर एकको अनुपातमा गाभिने टुङगो लागिसकेको छ। 
अहिलेसम्म २८ वटा संस्था गाभिएर १३ वटामा झरिसकेका छन्। करिव दुई दर्जन संस्थाले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिइसकेका छन्। एक दर्जन संस्था मर्जर सम्झौता गरि राष्ट्र बैंकमा स्वीकृति माग गर्न गएका छन्। अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक र ६० वटा फाइनान्स कम्पनी सञ्चालनमा छन्। 
प्रभु फाइनान्सले मर्जरका लागि …क' वर्गको वाणिज्य बैंक ग्रान्डसँग पनि औपचारिक कुराकानी गरेको थियो। नाम र मूल्यमा समेत कुरा मिलिसकेकेा अवस्थामा सञ्चालक समितिमा कम प्रतिनिधित्व हुने भएपछि प्रभुले मर्जर प्रकृया स्थगन गरेको थि यो। प्रभुले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकसँग पनि कुराकानी गरेको थियो। यही बीचमा सोसियल डेलपमेन्ट बैंकसँग पनि कुराकानी भएकेा थियो। सोसियल   ग्लोबल आइएमइ बैंकसँग गाभिने पक्का भइसकेको छ। 

1 comment:

  1. To establish a successful commercial bank, there is no need of 10 cooperatives to merge but only the competent employees within them.

    ReplyDelete

thanks for comment