घरजग्गा ऋण दूरुपयोगमा बैंकरकै संलग्नता

सुदर्शन सापकोटा
काठमाडौं, असार २
– सिद्धार्थ डेभलपमेन्ट बैंकमा सञ्चालक र व्यवस्थापक मिलेर ४३ करोड रुपैयाँ ऋण दुरुपयोग गरेको भेटिएको छ। ४३ करोडमध्ये १३ करोड ऋण दूरुपयोग मुद्दामा प्रहरीले गौरी खनाल ज्ञवाली र किशोर ढकालमाथि अनुसन्धान सुरु गरिसकेको छ। गौरी खनाल किष्ट बैंकका तत्कालिन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीकी श्रीमती हुन्। ठगी मुद्दामा श्रीमती तानिएपछि ज्ञवालीले किष्ट बैंक छाडिसकेका छन्। सिद्धार्थका तत्कालिन कार्यकारी प्रमुख दीपेन्द्र कार्की र प्रमुख सञ्चालन अधिकृत गंगावहादुर जिसीमाथि अनुसन्धान भइरहेको छ। 

– समस्याग्रस्त घोषित जनरल फाइनान्सका तत्कालिन महाप्रबन्धक राजुकुमार प्रधानले ७ करोड ८२ लाख रुपैयाँ ठगी गरेको फेला पर्‍यो। उनले खातामा पर्याप्त रकम नभइ गुड फर पेमेन्ट चेक जारी गरेका थिए। धितो नलिइ ११ वटा संस्थालाई ऋण लगानी गरेका थिए। उनले विभिन्न ब्यक्ति तथा संस्थालाई दिएको ऋणबाट आफूले घरजग्गामा लगानी गर्ने गरेका थिए। 

– वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष निरशंकर श्रेष्ठले कर्जा दूरुपयोग गरेको राष्ट्र बैंकको अनुसन्धानमा भेटिएको थियो। कर्जको ब्यापक दुरुपयोग भएका कारण राष्ट्र बैंकले अध्यक्ष श्रेष्ठसहित सञ्चालकहरु विनोदकुमार श्रेष्ठ, मधुसुदनप्रसाद सुवेदी, भगवानदास मानन्धर, रुवरुप मरासिनी, रमेशप्रसाद प्याकुरेल, भीमबहादुर लामा र महाप्रबन्धक रामभक्त पौडेललगायतको बैंक खाता रोक्का राखेको छ। सञ्चालक तथा व्यवस्थापकले ऋण दूरुपयोग गरेका कारण कम्पनीको पुँजीकोष ४२ प्रतिशत ऋणात्मक भएपछि राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त घोषणा गर्नु पर्‍यो। कम्पनीको खराव कर्जा ७६ प्रतिशत छ। 

– क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्सका तत्कालीन महाप्रबन्धक शिवराम जोशीले दुई अर्ब दुई करोड ७५ लाख रकम हिनामिना गरेको फेला परेको थियो। रकम व्यापक हिनामिना गरेपछि जोशीसहित उनका सहयोग तथा नेपाल प्रोग्रेसिभ फाइनान्सका तत्कालिन कार्यकारी अध्यक्ष शम्भुबहादुर केसीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ। ३ अर्ब ४ करोड रुपैयाँ निक्षेप रहेको कम्पनीले ३ अर्ब ३६ करोड कर्जा लगानी गरेको थियो। यसमध्ये घरजग्गा तथा प्लटिङमा मात्रै १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको करिब ५३ प्रतिशत हो।

– हिमालयन फाइनान्स लिमिटेडका अध्यक्ष हिमालयभक्त प्रधानाङग र फाईनान्सका तत्कालिन निमित्त महाप्रवन्धक श्यामकृष्ण श्रेष्ठले ऋण दुरुपयोग गरेको फेला परेको थियो। प्रधानाङग र श्रेष्ठलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेपछि महाप्रबन्धक बनेको प्रधानाङगकी छोरी शिसम मल्लले थप ऋण दूरुपयोग गरेको फेला परेको थियो। ऋण दुरुपयोग भएका कारण हिमालय फाइनान्स गत वर्षदेखि नै घाटामा छ। कम्पनीले ५५ करोड रुपैयाँ निक्षेप उठाएर ७० करोड लगानी गरेको छ। १४ करोड २० लाख चुक्ता पुँजी भएको फाइनान्सको २५ प्रतिशतभन्दा बढीले पुँजी कोष ऋणात्मक छ। 



घरजग्गा व्यवसायमा व्यापारी, विभिन्न पेशाकर्मीलगायत मात्र संलग्न रहेको भनिँदै आएपनि बैंकरहरु मुछिएको एकपछि अर्को घटनाहरु सार्वजनिक हुन थालेको छ। 
घरजग्गा कारोबार मौलाएका बेला सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुले आर्थिक लाभ लिन व्यक्तिगत प्रयोजनका लागि आफै संलग्न रहेको बैंक तथा वित्तीय संस्थाबाट ऋण निकालेका थिए। चुचुरोमा पुगेको घरजग्गा कारोबार ह्वात्तै झरेपछि ऋण तिर्न नसकेपछि आफू संलग्न रहेको संस्थामा गरेको ऋण दूरुपयोगका मुद्दाहरु वाहिर आउन थालेका हुन्।
ऋण लगानी गर्ने …डाडु पन्यू' सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतमा हुने भएकाले उनीहरुले नक्कली धितो तयार पारेर सजिलै लगानी गर्न सक्छन्। यसैको फाइदा उठाएर उठाउँदै गाँस काटेर बचत गरेका सर्वसाधारणको पैसा बैंकर आफैले दूरुपयोग गरेका हुन्। 
राष्ट्र बैंकले घरजग्गालगायत कारोबारमा आफू संलग्न रहेको संस्थाको ऋण दुरुपयोग गर्ने करिव सय जना सञ्चालक तथा व्यवस्थापनका प्रमुखहरुलाई कारवाही प्रकृया अगाडि वढाइसकेको छ। 
बैंक सञ्चालक र व्यवस्थापक नै संलग्न रहेको मुद्दाबाट सरकारले करिव १५ अर्ब रुपैयाँ बराबरको विगो सहित अदालतमा मुद्दा दायर गरेको छ। ऋण दुरुपयोग मुद्दाका आरोपीमध्ये आधालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ, ५० जना प्रहरीको फरार सुचीमा छन्।
ऋण दुरुपयोग गर्ने मुद्दामा कुवेर मर्चेन्ट फाइनान्स कम्पनी, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स, गोर्खा डेभलपमेन्ट बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास बैंकलगायत एक दर्जन बैंक तथा वित्तीय संस्थाका प्रबर्द्धक, सञ्चालक तथा व्यवस्थापक तानिएका छन्। राष्ट्र बैंकले केही ठूला वाणिज्य बैंकहरुमा पनि यो बारेमा आन्तरिक अनुसन्धान गरिरहेको छ। 
राष्ट्र बैंकका अनुसार, विगतमा बैंक तथा वित्तीय संस्था खोल्न दिने खुकुलो नीतिका कारण धेरै संस्था जन्मिए। त्यही बेला माओवादी द्वन्द्व उत्कर्षमा पुगेकाले अन्य कारोबार सुक्यो।'खुम्चिएर बसेका बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा लगानी बढाउन थालेपछि  यसको कारोबार र मूल्य दुवै वृद्धि भयो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'यसको फाइदा लिन बैंकरहरु आँफै संलग्न भएर वा अर्को मान्छे तयार पारेर लगानी गर्न थाले।' यही कारणले बैंकिङमा ऋण दूरुपयोग वढेको उनले जानकारी दिए। 
घरजग्गा कारोबार सुकेपछि ऋण दूरुपयोग मुद्दामा बैंकरको संलग्नता देखिन थालेको हो। बैंकरले कतिपय ठाउँमा नक्कली धितो तयार पारेर र कमसल धितोमा अधिक ऋण लगानी गरेका थिए। कारोबार सुकेपछि ब्याज तिर्न  नसक्ने भएपछि घटना सार्वजनिक हुन थालेको हो। 
यो अवधिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा स्थलगत निरिक्षणलाई प्रभावकारी बनाएपछि नक्कली धितोमा ऋण लिएर लगानी गरेका बैंकका पदाधिकारीहरुको पोल धमाधम खुल्न थालेको हो। …बैंक तथा वित्तीय संस्थाको ऋण पहिलेबाटै दुरुपयोग भएको हो,' ज्ञवालीले भने, 'पछिल्लो समय राष्ट्र बैंकले प्रभावकारी अनुगमन सुरु गरेको छ। यसैको नतिजा दूरुपयोग गर्नेहरु बैंकिङ कसुरमा पर्न थालेका छन्।'
ऋण दुरुपयोग भएका अधिकांस संस्थाको खराव कर्जा अत्याधिक वढ्ने गरेकेा छ। यि संस्थाको पुँजी कोष पनि घट्ने गरेको छ। यस्तो समस्या खासगरी विकास बैंक र फाइनान्स कम्पनीहरुमा वढी छ। घरजग्गामा बैंक तथा वित्तीय संस्थाको अझै १ सय अर्ब रुपैयाँ ऋण छ। यसमध्ये ३० अर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीको हो। 
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार ३० अर्ब लगानीमध्ये करिव ६० प्रतिशत दूरुपयोग भएको छ। दुरुपयोग भएका ऋणहरु सञ्चालक तथा व्यवस्थापकले नक्कली धितो तयार पारेर अरुको नाममा लगानी गर्ने गरेका छन्। 
चैतसम्मको वित्तीय विवरण अनुसार २८ वटा वित्तीय संस्था घाटामा गएका छन्। घरजग्गामा दिएको ऋण नउठेका कारण यि संस्थाको खराव कर्जा राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा निकै माथि छ। कतिपय संस्थाको पुँजी कोष अनुपात ११ प्रतिशतभन्दा तल झरेको छ। 
बैंकरहरु सञ्चालक र व्यवस्थापकले आफ्नो काम गर्न छाडेर व्यापार गर्न थालेकाले समस्या आएको बताउँछन्। …आफूले आफैलाई लगानी गर्न थालेपछि समस्या सुरु भइहाल्छ,' बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीले आइतबार नागरिकसँग भने, …बैंक तथा वित्तीय संस्थालाई माध्यम बनाएर व्यापार गर्ने प्रवृत्ति वढेकेा छ। त्यसैको नतिजाले अहिले संस्थाहरु समस्यामा पर्न थालेका हुन्।' 
राष्ट्र बैंकका अनुसार, पछिल्लो समय समस्याग्रस्त घोषणा गरिएका अधिकांस संस्थामा आन्तरिक ऋण प्रवाह भएकाले कम्पनीको वित्तीय अवस्था विग्रिएको छ। राष्ट्र बैंकले अन्य केही वित्तीय संस्थालाई पनि समस्याग्रस्त घोषणा गर्न …पाइप लाइन' मा राखेको छ। 
'जेन्युइन (वास्तविक) रुपमा दिएको ऋण डुवेर संस्था समस्यामा पर्दैन। व्यक्तिगत हिसावले ऋण दिएका कारण समस्यामा पर्ने हो,' राष्ट्र बैंकका एक वरिष्ठ निर्देशकले भने, 'उनीहरुले धितोलाई अधिक मूल्यांकन गरेर लगानी गरेका कारण अहिले सम्पति विक्रि गरेर पनि पैसा उठाउन सकिएको छैन।'
वित्तीय संस्थाहरुको अनुगमनमा गएका एक अधिकृतका अनुसार, धितोको तीन गुणासम्म ऋण प्रवाह गरेको भेटिएको छ। यसरी दिएको ऋण सामान्य मान्छेले लगिरहेको हुन्छ। खोज्दै जाँदा उसको सम्पर्क सञ्चालक वा प्रमुख कार्यकारीसँग हुेन गरेको छ। 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले दैनिक औषत ७० जनालाई कर्जा तिर्न आउने सुचना सार्वजनिक गरिरहेका हुन्छन्। दैनिक  १० वटा सम्पति लिलाममो सुचनाहरु पनि आइरहेको हुन्छ। गत डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले धितो सम्पति लिलाममा चढाए पनि विक्री हुने गरेको छैन। विक्री भएका कतिपय सम्पतिबाट दिएको ऋण उठेकेा छैन। 

No comments:

Post a Comment

thanks for comment