सेवा शुल्क र ब्याज दर घटाउ : गभर्नर

काठमाडौं, असार १६ 
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले प्रतिस्पर्धि बजारमा सेवा शुल्क र ब्याज दरमा सुधार हुनु पर्ने बताएका छन्। उनले बैंक तथा वित्तीय संस्थाको शुल्क र ब्याज दरहरु अपेक्षाभन्दा अझै माथि रहेको भन्दै यसमा सुधार गर्नु पर्ने बताएका हुन्। 
'प्रतिस्पर्धि बजारम सेवा शुल्क र ब्याज दरहरुमा सुधार हुनु पर्छ, अहिले अपेक्षा गरिएभन्दा माथि छ,' गाभिएर बनेको एनआइसी एसिया बैंकको आइतबार औपचारिक उद्घाटन गर्दै गभर्नरले भने, 'ब्याज दर सुधारका प्रयासहरु आफै गर्नुस्। हामीबाट समाधान नखोज्नुस्।'
खतिवडाले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो भएकोतर्फ संकेत गर्दै यसलाई कम गर्न आग्रह गरे। उनले राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको आधार दरमा बैंकहरुले ग्राहकसँग लिने ब्याज दरको  तादाम्यता नमिलेको भन्दै सुधार गर्न बैंकरलाई आग्रह गरे। 
वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारीहरुसमेत उपस्थिति रहेको मर्जर उद्घाट कार्यक्रममा गभर्नर खतिवडाले उत्पादनमूलक उद्योगहरुलाई प्रवर्द्धन गर्ने गरी ब्याज दर सुधार हुनु पर्ने बताए। 

'ब्याज दरको अन्तर धेरै फरक हुनु हुँदैन। यसलाई तपाईहरुले शंवोधन गर्नु पर्छ,' गभर्नरले भने, 'सरकार तथा सरोकारवालाहरुले ब्याज धेरै भएकोमा राष्ट्र बैंकले बैंकहरुलाई वढी माया गरेर हो भन्ने परेको छ।' उनले राष्ट्र बैंकले सबै पक्षको कुरा सुन्नु पर्ने भएकाले स्वेक्षिक रुपमा ब्याज दरमा घटाउन आग्रह गरे। 'राष्ट्र बैंकबाट ब्याज दर घटाउने बारे समाधान नखोज्नुस्, हामीबाट समाधान खोज्नु भयो भने वाहिर सन्देश पनि राम्रो जाँदैन,' खतिवडाले भने, 'तपाईहरु (बैंकर) ब्याज दर पुर्नमूल्यांकन गर्दिनुस्।'
गभर्नरले मर्जर बैंक तथा वित्तीय संस्थाको एजेन्डा भएको भन्दै यसमा राष्ट्र बैंकले सहजीकरणको भूमिका खेलिदिएको बताए। उनले छुट्टाछुट्टै रुपमा कारोबार गर्दा खर्च वढ्ने भन्दै एकै ठाउँमा बसेर कारोबार विस्तार गर्दा खर्च कम भएर राम्रो आम्दानी आर्जन हुने बताए। 
गभर्नरले मर्जरमा जानका लागि छुट तथा विशेष सुविधा खोज्न नहुने बताए। 'मर्जर भनेको छुट उपयोग गर्नका लागि होइन, आफ्नो कारोबार विस्तार गर्नका लागि हो,' उनले भने, 'राष्ट्र बैंकले मर्जरका लागि जहिले सहजीकरणको भूमिका खेल्छ। सेवा विस्तार गर्न मर्जर आवश्यक छ।'
गभर्नरले एनआइसी र बैंक अफ एसिया मर्ज भएर देशकै पाँच ठूलो बैंकको सुचीभित्र परेको बताए। …ठूलो बैंक भएपछि हाम्रो निगरानी तपाईहरुलाई वढ्छ,' उनले भने, 'ठूला बैंक अप्ठेरोमा परे भने प्रणालिगत जोखिम वढ्छ। त्यही भएर पनि हाम्रो निगरानी वढी हुने हो।' 
गभर्नरले पछिल्लो तीन वर्षमा बैंकिङ क्षेत्र स्थिरतातर्फ लम्किएर उत्पादनमूलक क्षेत्रतर्फ कर्जा विस्तार हुन थालेका बताए। 'म गभर्नर भएर आएको सवा तीन वर्षको अवधिमा बैंकिङ क्षेत्र स्थिरतातिर गएको छ,' खतिवडाले भने, 'उत्पादनमूलक क्षेत्रतिर कर्जा विस्तार भएको छ।'
खतिवडाले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्न छलफल गर्नु पर्ने बताए। उनलेे पुँजी वृद्धि गर्नका लागि बैंकरहरुसँग औपचारिक छलफल अगाडि वढाइने बताए। 
गभर्नरले पुँजी वृद्धि राष्ट्र बैंकको मात्र एजेन्डा नभइ बैंकहरुको पनि भएको बताए। …पुँजी वृद्धिको आवश्यकता छ भन्ने लागेर नै बैंकहरुले ऋणपत्र जारी गर्न थालेका छन्,' उनले भने, 'पुँजी वृद्धिले बैंकहरुको जोखिम वहन गर्ने क्षमता वढाउँछ।'
गभर्नरले पुँजी वृद्धिले मात्र बैंकहरु वलियो हुने नभइ सुशासन र यसलाई सञ्चालन गर्ने व्यक्तिहरु पनि ठिक हुन आवश्यक रहेको बताए। उनले पुँजी वढी भएको संस्थाप्रति जनविश्वास वृद्धि हुने बताए। पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने चर्चा चलिरहेको छ।
केही समयअघि राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले नागरिकसँग कुराकानी गर्दै बैंक तथा वित्तीय संस्थाको  पुँजी ५  गुणाले वृद्धि गर्नु पर्ने बेला आइसकेको बताएका थिए। त्यसपछि बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने बारे चर्चा चलेको हो। 
कार्यक्रममा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सरकार र राष्ट्र बैंकले अन्य विशेष छुट तथा सुविधा दिनु पर्ने बताए। उनले मर्जरमा जाने बैंकहरुलाई ३० प्रतिशतको आयकरलाई घटाउनु पर्ने बताए। '५ वर्षसम्म आय कर २० प्रतिशतमा झार्नु पर्छ,' उनले भने, 'कर्जा–निक्षेप अनुपात पनि ८० प्रतिशतबाट वढाएर ८५ प्रतिशत पुर्‍याउनु पर्छ।' 
एनआइसीसँग बैंक अफ एसिया प्रति सेयर ५० रुपैयाँका दरले गाभिएको हो। एनआइसी १६ वर्षदेखि सञ्चालनमा थियो भने बैंक अफ एसियाले ६ वर्षदेखि कारोबार सञ्चालन गरिरहेको थियो। मर्जरपछि जगेडा कोषसमेत गरेर बैंकको कुल पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ छ। 
मर्जरपछि बैंकको सञ्चालन नाफा १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। बैंकसँग ३८ अर्ब निक्षेप र ३३ अर्ब कर्जा लगानी गरेको छ। बैंकको ५३ वटा शाखा सञ्चालनमा छन्। एकै ठाउँमा रहेका १३ वटा शाखालाई बैंकले अर्द्धशहरी क्षेत्रमा स्थानान्तरण गर्ने जनाएको छ। बैंकका  ५७ वटा एटिएम सञ्चालनमा छ। मर्जरपछि बैंकको ग्राहक संख्या २ लाख ७० हजार छन्। 

No comments:

Post a Comment

thanks for comment