राष्ट्रिय वाणिज्य बैंकको पाँच वर्षे रणनीतिक योजनाः सरकारलाई पाँचौ वर्ष ३ अर्ब लाभांस दिइने

सुदर्शन सापकोटा
काठमाडौं, असार १३
राष्ट्रिय वाणिज्य बैंकले पुँजी कोष अनुपात १० प्रतिशत पुर्‍याउँदै आगामी पाँच वर्षमा सरकारलाई तीन अर्ब रुपैयाँ नगद लाभांस ख्वाउने रणनीतिक योजना प्रस्तुत गरेको छ। स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाएको रणनीतिक योजनामा बैंकले वर्षेनी आन्तरिक कमाइबाट चौथो वर्षमा पुँजी कोष १० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। 

बैंकको पुँजी कोष गत पुसमा १२ वर्षपछि धनात्मक भएको थियो। चालु आर्थिक वर्ष पुँजी कोष २.३७ प्रतिशत पुग्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्युनतम पुँजी कोष १० प्रतिशतभन्दा माथि हुनु पर्ने व्यवस्था गरेको छ। लाभांस वाँड्नका लागि पुँजी कोष ११ प्रतिशत माथि हुनु पर्छ। 
बैंकले वर्षेनी नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०७३/७४ मा पुँजी कोष १०.१७ प्रतिशत पुर्‍याउने रणनीतिक योजना अर्थमन्त्रालयलाई वुझाएको छ। यसको एक वर्षपछि पुँजी कोष १२.१३ प्रतिशत पुग्ने बैंकले जनाएको छ। बैंकले नाफा र आफ्नो सम्पतिहरु विक्रीबाट पुँजी कोष १० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। 

'पुँजी कोष तोकिएको सीमाभित्र पुर्‍याउँदै पाँचौं वर्ष सरकारलाई ३ अर्ब रुपैयाँ सरकारलाई लाभांस दिन सक्छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बिहीबार नागरिकसँग भने, 'अहिलेसम्म बैंकको नाफा पुराना डुवेको ऋण उठाएका कारण वढेको थियो। आउँदो वर्षबाट बैंकले असल ऋण विस्तारबाटै राम्रो नाफा आर्जन गर्ने छ।'
शर्माले मन्त्रालयमा पठाएको रणनीतिक योजना स्वीकृत भएपछि बैंकले कार्यक्रमहरु पूर्ण रुपमा लागू गर्ने जानकारी दिए। 'आन्तरिक रुपमा नै हुने कार्यक्रमहरु भने बैंकले कार्यान्वयनमा ल्याउन थालिसकेको छ,' उनले भने।  
बैंकको अवस्था विग्रिएपछि सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु गरिएपछि बैंकको अवस्थामा सुधार हुँदै गएको हो। सरकारले पनि पुँजी वृद्धिमा सहयोग गरेपछि बैंकको अवस्था सप्रिन थालेको छ। सुधार प्रकृया थाल्नुअघि बैंकको पुँजी कोष २३ प्रतिशतले ऋणात्मक थियो। 
सरकारले बैंकलाई पुँजी वृद्धिका लागि चार अर्ब ३२ करोड ५३ लाख १० हजार रुपैयाँ उपलब्ध  गराएको थियो। यसवाहेक विश्व बैंकको तीन अर्ब ऋण रकम सरकारले तिरिदिएकाले यो पैसासमेत पुँजीमा गणना गरिएको छ। बैंकको अहिले चुक्ता पुँजी  ८ अर्ब ४९ करोड रुपैयाँ छ। 
अहिले ६ अर्ब ८५ करोड रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष चौथो वर्षमा १ अर्ब ८० करोड धनात्मक बनाउने बैंकको रणनीतिक योजनामा छ। यसको अर्को वर्ष जगेडा कोष ४ अर्ब ८६ करोड पुर्‍याउने बैंकले जनाएको छ। पुँजीको ५० प्रतिशत रकम जगेडा कोषमा भएपछि बैंकले नाफाको अधिकांस हिस्सा लाभांसको रुपमा वितरण गर्न पाउँछ। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले जगेडा कोष पुँजीको आधा पुर्‍याएपछि सबै नाफा अर्थात ३ अर्ब रुपैयाँ लाभांस वाँड्ने लक्ष्य लिएको हो। 
बैंकले लगानी विस्तारलाई पनि व्यापक वनाउने भएको छ। अहिले एक सय रुपैयाँ निक्षेप उठाउँदा बैंकले ५५ रुपैयाँ मात्र लगानी गरिरहेको छ। बैंकले यसलाई क्रमिक रुपमा वढाउँदै ६५ रुपैयाँ पुर्‍याउने शर्माले वढाए। 
बैंकले लगानी विस्तारबाट ब्याज आम्दानी वृद्धि गर्दै नोक्सानी व्यवस्था घटाउँदै जाने जनाएको  छ। बैंकले ब्याज आम्दानी वृद्धि गरेर आगामी पाँच वर्षमा सञ्चालन नाफा ४ अर्ब ३७ करोड पुर्‍याउने रणनीतिक योजना बनाएको छ। 
बैंकको रणनीतिक योजना अनुसार, लगानी विस्तारसँगै वासलात (ब्यालेन्सिट) को आकार आउँदो वर्ष नै एक खर्ब रुपैयाँ नाघ्ने छ। चालु वर्ष ९८ अर्ब रुपैयाँ वासलात आकार भएको बैंकको आगामी वर्ष १ खर्ब ५ अर्ब पुग्ने योजनामा उल्लेख छ। पाँच वर्षमा आकार १ अर्ब ३६ अर्ब पर्‍याउने शर्माले जानकारी दिए।
बैंकले तयार पारेको रणनीतिक योजनामा खराव कर्जा अनुपात अर्को वर्षनै राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउने उल्लेख छ। चालु वर्ष खराव कर्जा ५.२१ प्रतिशत कायम हुने बताउँदै प्रमुख कार्यकारी शर्माले अर्को वर्ष यसको स्तर ४.२५ प्रतिशतमा सीमित गर्ने योजना रहेको जानकारी दिए। पाँच वर्षपछि बैंकको खराव ऋण १.५ प्रतिशतमा झर्ने योजनामा उल्लेख छ। सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु गर्नुअघि बैंकको कुल ऋणमध्ये ६२ प्रतिशत खराव अबस्थामा थियो।
बैंकले आगामी पाँच वर्षमा शाखा संख्या २ सय पुर्‍याउने लक्ष्य लिएको छ। अहिले बैंकका शाखा १ सय ४३ वटा छन्। शाखारहित सेवा पनि २ सय पुर्‍याउने रणनीतिक योजनामा छ। अहिलेसम्म बंैकले ९ ठाउँमा शाखारहित सेवा सञ्चालनमा ल्याइसकेको छ। 
'कर्मचारी संख्या वृद्धि नगरी सेवा विस्तार गर्छौं,' शर्माले भने, 'अवकास भएका कर्मचारीको सट्टमा मात्र नयाँ कर्मचारी थप्छौं।' उनका अनुसार आगामी पाँच वर्षभित्र ७० प्रतिशत कर्मचारी अवकाश भइसक्ने छन्। बैंकमा अहिले २ हजार ४ सय ५० स्थायी कर्मचारी छन्। यसअघि कर्मचारी संख्या ५ हजार ८ सयको हाराहारीमा थिए।
'बैंकले आधुनिक बैंकिङलाई विस्तार गर्ने भएकाले कर्मचारी संख्या नथपिकनै वृद्धि हाँसिल गर्न सकिन्छ,' शर्माले भने, 'यसका लागि हामीले मोवाइल, इन्टरनेट, एजेन्टमा आधाति बैंकिङ विस्तार गर्दै लैजान्छौं।' अहिले बैंकले कर्मचारीका लागि वार्षिक १ अर्ब ८५ करोड खर्च गर्दै आएको छ। 

No comments:

Post a Comment

thanks for comment