नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोरः बैंकले ९७.२० रुपैयाँमा कारोबार गरे

काठमाडौं, असार १२ 
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। अमेरिकी डलरको मूल्य लगातार वढ्न थालेपछि रुपैयाँ कमजोर भएको हो। अमेरिकी डलर बुधबार दिनभर ९७ रुपैयाँको हाराहारीमा कारोबार भएको छ। 
राष्ट्र बैंकले बिहीबारका लागि एक डलरको मूल्य ९६ रुपैयाँ ७७ पैसा तोकेको छ। जबकी बैंकहरुले डलरको अन्तिम कारोबार ९७ रुपैयाँ २० पैसामा गरेका थिए। बैंकहरुको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको संगठन फेडानले बुधबार चार चोटीसम्म मूल्य परिवर्तन गरेर अन्तिम मूल्य ९७ रुपैयाँ २० पैसा कायम गरेको थियो। साधारणतया फेडानले तोकेको अन्तिम मूल्यलाई आधार मानेर राष्ट्र बैंकको अर्को दिनको मूल्य निर्धारण गर्छ। तर फेडानको मूल्यभन्दा करिव ४३ पैसा घटेर राष्ट्र बैंकले बिहीबारको मूल्य कायम गरेको छ। 
राष्ट्र बैंकले तोकेको मूल्यमा कारोबार गर्न बैंक वाध्य हुँदैनन्। भारतीय बजारलाई हेरेर बैंकहरुले मूल्य तल माथि गरिरहन्छन्। बुधबारका लागि राष्ट्र बैंकले डलरको मूल्य ९५ रुपैयाँ ५१ पैसा तोकेपनि बैंकहरुले सुरुदेखि नै ९६ रुपैयाँबाट कारोबार थालेका थिए। यो मूल्यमा चार चोटीसम्म वढेर परिवर्तन भएको थियो। 
डलर वलियो भएपछि भारतीय मुद्रासहित पाउन्ड, युरो र अन्य एसियाली मूलुकका मुद्राहरु पनि कमजोर भएका छन्। वढी आयात हुने तेलमा भारतले डलरबाट भुक्तानी गर्नु पर्ने भएकाले उसको सञ्चिति मुद्रा पनि घट्दै गएको छ। 
डलर वलियो भएपछि सुनको मूल्यसमेत प्रभावित भएको छ। डलरलाई अन्तर्राष्ट्रिय रुपमा नै सुरक्षित (सेफ करेन्सी) मुद्राका रुपमा लिइन्छ। डलर वलियो हुन  थालेपछि जोखिमपूर्ण मुद्रा (रिक्स करेन्सी) मानिने पाउन्ड र युरोको मूल्य पनि कमजोर भएको हो। 
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। गत आर्थिक वर्ष ३ सय ५९ अर्ब ५५ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। राष्ट्र बैंकका अनुसार, चालु वर्षको चैतसम्म ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ। अहिलेको वृद्धि दर हेर्दा चालु वर्षसम्म रेमिट्यान्स ४ खर्बभन्दा वढी भित्रिने देखिन्छ।  

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ। 
सबैभन्दा वढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्राउन वढी डलर खर्चिनु पर्ने भएकाले भाउ वढ्न सक्छ। निगमले गत वर्ष ९२ अर्ब २५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। चालु वर्षको फागुनसम्म ६८ अर्ब रुपैयाँको पेट्रोलियम आयात भएको छ।  

No comments:

Post a Comment

thanks for comment