राष्ट्रिय वाणिज्य बैंकले इन्भेष्टमेन्टको ५५ लाख कित्ता सेयर बेच्दै

सुदर्शन सापकोटा
काठमाडौं, असार १७
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो स्वामित्व (क्रस होल्ड) मा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सबै संस्थापक सेयर विक्री गर्ने भएको छ। बैंकसँग इन्भेष्टमेन्टको कुल पुँजीको १५ प्रतिशत अर्थात ५५ लाख कित्ता  संस्थापक सेेयर छ। 
राष्ट्रिय वाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको सबै संस्थापक सेयर विक्रीका लागि मूल्य तय गर्न समितिसमेत गठन गरिसकेको छ। अर्थमन्त्रालयका सहसचिव राजन खनालको संयोजकत्वमा तीन सदस्यीय न्यूनतम मूल्य निर्धारण समिति गठन गरिएको हो। समितिले तय गरेको न्यूनतम मूल्यभन्दा माथि हुने गरी वोलकवोलमार्फत सेयर विक्री गर्ने तयारी बैंकले गरेको छ। 
'असारभित्र मूल्य निर्धारण गर्ने योजना छ। मूल्य निर्धारण भएलगत्तै विक्री प्रकृया सुरु गर्छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद  शर्माले नागरिकसँग भने, 'वढीमा चार महिनाभित्र सेयर विक्री गरेर व्यालेन्सिट (वासलात) सुद्धृढ गरिसक्छौं।' 
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सेयरको स्टक एक्सचेन्ज (नेप्से) मा पछिल्लो कारोबार प्रति कित्ता ७ सय ३७ रुपैयाँका दरले भएको थियो। संस्थापक सेयर भने गत पुस २९ गतेयता कारोबार भएको छैन। त्यस बेला संस्थापक सेयर प्रति कित्ता ४ सय १० रुपैयाँका दरले भएको थियो। सामान्यतया साधारण सेयरको भन्दा आधा मूल्य संस्थापक सेयरको हुन्छ। 
संस्थापक सेयरको पछिल्लो सेयर कारोबार मुल्यलाई आधार मान्दा इन्भेष्टमेन्टको विक्रीबाट राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब २५ करोड ५० लाख रुपैयाँ प्राप्त हुने छ। अहिले बैंकको जगेडा कोष ६ अर्ब ८५ करोड रुपैयाँले ऋणात्मक छ। आउँदो वर्ष बैंकको जगेडा कोष ५ अर्ब २६ करोड ऋणात्मक हुने अनुमान छ। सेयर विक्रीबाट पैसा आएपछि बैंकको ऋणात्मक जगेडा कोष घट्ने छ। 
'अर्को बर्ष बैंक करिव करिव पुँजी कोष धनात्मक अवस्थामा पुग्छ। यसले गर्दा चार वर्षमा पुँजी कोष १० प्रतिशत पुग्ने अनुमान २ वर्ष निजक सर्ने छ,' शर्माले भने,  'अर्थात बैंकको पुँजी कोष २ वर्षपछि नै १० प्रतिशत माथि पुग्छ।' १२ वर्षदेखि ऋणात्मक रहँदै आएको बैंकको पुँजी कोष गत पुसदेखि धनात्मक भएकोे थियो। 

राष्ट्रिय वाणिज्य बैंकले भने संस्थापक सेयरको मूल्य साधारण सेयरको भन्दा ४० प्रतिशत कम हुने मूल्यांकन गरेको छ। 'अन्तिम मूल्य समितिले निर्धारण गर्छ,' शर्माले भने, 'तर, इन्भेष्टमेन्ट बैंकले नियमित लाभांस वितरण गरिरहेको र वित्तीय हिसावले पनि राम्रो बैंक भएकाले सेयरको मुल्य ६० प्रतिशतभन्दा माथि नै निस्कन्छ।'
नेपाल राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाको सेयर अर्को त्यस्तै प्रकृतिको संस्थाले राख्न नपाउने भएपछि राष्ट्रिय वाणिज्य बैंकले सेयर बेच्न लागेको हो। वित्तीय अवस्था सुधार्नका लागि सरकार तथा सरोकारवालासँग लविङ गर्नु परेका कारण त्यस बेला विक्री गर्न नसकेको भन्दै  शर्माले अहिले विक्रीका लागि  राम्रो समय भएको बताए। 
'पुँजी क्षयीकरण भएका बेला विक्री गरेर पैसा ल्याएको भए त्यो सकिन्थ्यो,' शर्माले भने, …अहिले सरकारले पैसा थपेको छ। बैंकले पनि आन्तरिक कारोबारबाट राम्रो आम्दानी गरिरहेको छ। अहिले विक्री गर्दा आउने पैसाको सही सदुपयोग हुन्छ।' उनले चार महिनाभित्र सेयर विक्री भएपछि पुँजी कोष २ वर्षभित्र  १० प्रतिशतको हाराहारीमा पुग्ने जानकारी दिए। 
राष्ट्रिय वाणिज्य बैंकले संस्थापक सेयर ठूला तथा संस्थागत लगानीकर्तालाई विक्री गर्ने योजना बनाएको छ। उसले ठूलो रकम बराबरको सेयर भएकाले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निजी बिमा कम्पनीहरुलाई विक्री गर्ने योजना बनाएको हो।
'सर्वसाधारणमा जाँदा सेयर छरिएर इन्भेष्टमेन्ट बैंकलाई नै असर पर्न सक्छ,' शर्माले भने, 'त्यही भएर मूल्य निर्धारण भएपछि ठूला लगानीकर्तालाई सेयर किन्न लविङ गर्ने छौं।'  इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय वाणिज्य बैंक वाहेक सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानको १५ प्रतिशत संस्थापक सेयर छ। 

No comments:

Post a Comment

thanks for comment