ब्याक्तिगत ऋण करोडमा झार्ने व्यवस्थाले ग्राहक अप्ठेरोमा

सुदर्शन सापकोटा
काठमाडौं, असार ११
व्यक्तिगत प्रयोजनका लागि दिइएको ऋणलाई करोडभन्दा तल झार्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरु अप्ठेरोमा परेका छन्। मासिक किस्ता तिर्ने योजना बनाएर ऋण लिएकाहरुले असार मसान्तभित्र व्यक्तिगत ऋण एक करोडभन्दा तल झारिसक्नु पर्छ। 
असार मसान्त नजिकिँदै गर्दा एक करोड माथिको ब्यक्तिगत कर्जा घटाउन बैंकहरु पनि लागि परेका छन्। व्यक्तिगत ऋणहरु रियलस्टेट तथा प्लटिङको किस्ता तथा ब्याज तिर्न प्रयोग हुन थालेको आशंका गर्दै राष्ट्र बैंकले यसको सीमा एक करोडमा झारेको थियो। 
'ग्राहकले दुई चार वर्षका लागि लगेको ऋण एक वर्षमै तिर्न समस्या हुन्छ। अहिले धेरै गुनासो यही आइरहेको छ,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार नागरिकसँग भने,'ग्राहकले भुक्तानी नगरेसम्म बैंकले घटाउन पनि सक्दैन।' व्यक्तिगत ग्राहकले औषतमा ५ वर्षसम्मका लागि लिने गर्छन्। 
राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई एक करोडभन्दा वढीको रकम भुक्तानी गर्न वा व्यक्तिगतलाई व्यवसायिकमा परिवर्तन गर्न दवाव दिइरहेका छन्। बैंकहरुले निर्देशनपछि एक करोडभन्दा वढी रकमको व्यक्तिगत ऋण लगानी गर्न छाडेका छन् तर पुरानो ऋण भने उठाउन उनीहरुलाई समस्या परिरहेको छ। 
बैंकहरुले चैतसम्म घरजग्गाका लागि एक करोडसम्मको व्यक्तिगत कर्जा ४० अर्ब ७७ करोड रुपैयाँ दिएका छन्। आवसिय, व्यवसायिक तथा प्लटिङका लागि बैंकहरुले एक सय ६२ अर्ब रुपैयाँ ऋण लगानी दिएका छन्। ४० अर्ब वाहेकको कुल रियलस्टेट ऋणको ब्याज तथा किस्ता तिर्नका लागि बैंकहरुले ग्राहकलाई अन्य सम्पति धितो राखेर व्यक्तिगत ऋण लगानी गरेको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा समेत देखिएको थियो। 

'ग्राहकसँग एकैचोटी ऋण भुक्तानी गर्ने क्षमता हुँदैन। यस्तो बेला बैंकहरुको वित्तीय अवस्थामा पनि असर गर्छ,' पौडेलले भने,'व्यवहारिक कठिनाइ वुझेर एक पटकलाई हेर्दिन राष्ट्र बैंकलाई अनुरोध गरेका छौं।' बैंकहरुको छाता संगठन बैंकर्स संघले व्यक्तिगत कर्जाको अवधि एक वर्ष थप गरिदिन माग गरेको छ। आगामी मौद्रिक नीतिमा सुझाव दिँदै संघले यसको अवधि र सीमा वढाउन आग्रह गरेको हो।
ग्राहकले तोकिएको अवधिमा ऋण नतिरे बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यवस्था छुट्याउनु पर्ने हुन्छ। नोक्सानी व्यवस्था छुट्याउँदा बैंकहरुको नाफा प्रभावित हुन्छ। ग्राहकले तीन महिना किस्ता नतिरे दिएको ऋणको २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्छ। ६ महिना नतिरे ५० प्रतिशत र एक वर्ष नतिरे पुरै ऋणको नोक्सानी व्यवस्था गर्नु पर्छ। 
'बैंकहरुले उठाउने सक्ने जति उठाएका पनि छन् र व्यक्तिगतलाई अन्य कर्जामा परिवर्तन गर्नसमेत सुचना दिइरहेका छन्,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भने, 'केही ग्राहकहरुबाट हामी ऋण तिर्छौं तर समय थप गरिदिनु पर्छ भनेका छन्।' 
उनले ग्राहकको मागलाई राष्ट्र बैंकसम्म पुर्‍याइसकेको भन्दै यसमा उनीहरु सकारात्मक रहेको जानकारी दिए। जोशीले व्यक्तिगत ऋणको सीमा ३ देखि ५ करोडको बीचमा वा समय थप गरिदिन राष्ट्र बैंकलाई आग्रह गरिएको बताए। 
राष्ट्र बैंकका अधिकारीहरुले भने नेपालीको आयस्रोत र स्तर अनुसार व्यक्तिगत रुपमा एक करोड रुपैयाँ ऋण ठूलो रकम भएको बताउँछन्। ती अधिकारीका अनुसार, व्यक्तिगत नाममा बैंकबाट जति पनि पैसा लिएर घरजग्गा ऋण र ब्याज तिर्न प्रयोग भएकाले  त्यसलाई नियन्त्रण गर्न सीमा लगाइको हो। 
'कुनै ब्यवसाय वा अन्य क्षेत्रमा लगानी गर्न चाहेमा कम्पनी तथा फर्मको नामबाट एक करोड रुपैयाँभन्दा वढी ऋण झिक्न पाइन्छ,' ती अधिकारीले भने, …व्यक्तिगत रुपमा घर जग्गा किन्नेलाई एक करोड रुपैयाँ पर्याप्त हुन्छ।' 
बैंकरका अनुसार, कतिपयले सजिलाका लागि पनि व्यक्तिगत शिर्षकमा ऋण लगेका छन्। व्यवसायिक ऋण लग्दा कम्पनीको वासलात तथा अन्य सम्पूर्ण विवरण प्रस्तुत गर्नु पर्छ। व्यक्तिगत ऋणका लागि त्यतिधेरै झन्झटिलो प्रकृया छैन। 

No comments:

Post a Comment

thanks for comment