दुई सातामा बैंक निक्षेप ३४ अर्बले वढ्यो

काठमाडौं, असार १६
वाणिज्य बैंकहरुको निक्षेप दुई सातामा ३५ अर्ब रुपैयाँले वढेर ९ सय ७३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो साता १६ अर्बले वढेको बैंकको निक्षेप यो साता १८ अर्बले वढेको हो।
सरकारी विकास खर्च वढ्न थालेपछि तीन साताअघि ६ अर्बले घटेकेा निक्षेप पछिल्लो दुई सातामा ३५ अर्बले वढेको हो। बैंकहरुसँग निक्षेप वृद्धि हुन थालेपछि तरलता सहज भएर गएको छ। 
बैंकहरुले अन्तर बैंक कारोबार १ रुपैयाँभन्दा कम ब्याजमा गरिरहेका छन्। सोमबार बैंकहरुबीच अन्तर बैंक सापटी दर एक प्रतिशतभन्दा तल थियो। निक्षेप वढ्न थालेपछि सरकारी ऋणपत्र टे्रजरी विलको दरसमेत १ रुपैयाँभन्दा तल आएको छ। 
सरकारले असार अन्तिममा विकास निर्माणका लागि धमाधम भुक्तानी दिन थालेकाले निक्षेप वढेको हो। निक्षेप ३५ अर्बले वढेपनि कर्जा जम्मा ५ अर्बले मात्र वृद्धि भएको छ। गत साताभन्दा निक्षेप २ अर्बले वढेको छ। बैंकहरुको कुल ऋण लगानी ७ सय ३८ अर्ब रुपैयाँ पुगेको छ। 
बैंकहरुले कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण निक्षेप वढेपनि उनीहरुले थप लगानी गर्न नसकेका हुन्। नोक्सानी व्यवस्थाका कारण असार अन्तिममा ऋण लगानी नगर्ने पुरानै परम्परा र यही बेला  अनिवार्य नगद अनुपात (सिआरआर) कायम गर्नु पर्ने दवावले पनि बैंकहरुले लगानी विस्तार नगरेका हुन्। अहिले अधिकांस बैंकहरुको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको हाराहारीमा पुगिसकेकाले बैंकहरुले थप लगानी गर्न चासो नदेखाएको ती बैंकरले जानकारी दिए।

बैंकहरुले एक सय रुपैयाँ निक्षेप उठाउँदा जम्मा ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। बैंकहरुले उठाएको निक्षेपमध्ये करिव ८० प्रतिशतको हाराहारीमा ऋण दिइसकेका छन्। निक्षेप वढेपनि पहिले नै ऋण वढाएका कारण अहिले कर्जा–निक्षेप अनुपात कायम राख्न बैंकले लगानी विस्तार गर्न नसकेका हुन्।
चौथर्फी रुपमा खर्च वढाउन दवाव र काम गरेका ठेकेदारहरुले धमाधम भुक्तानी लैजान थालेका छन्। सरकारले खर्च गरेको रकम बैंकबाट वाहिरिन्छ। भुक्तानी लिनेहरुले पैसा बैंकमा राख्ने भएकाले निक्षेप संकलन सुधार हुन्छ।
तरलता सहज हुँदै गएपछि बैंकहरुले साउनपछि ब्याज दरमा पुनर्विचार गर्ने जनाएका छन्। पछिल्लो समय मुद्दति निक्षेपको ब्याज साढे १० प्रतिशतसम्म पुगेको छ। सर्वसाधारणको ब्याज बैंकहरुले स्किमका रुपमा वढाएका थिए। सनराइज बैंकले १५ महिना बैंकमा पैसा राखे ९.५ प्रतिशत व्याज दिने निक्षेप योजना ल्याएको थियो। 
सेञ्चुरीले सय दिन पैसा राखे ९ प्रतिशत ब्याज दिने योजना ल्याएको थियो भने ग्लोबलले एक वर्षे मुद्दति निक्षेपको ब्याज ९ प्रतिशत पुर्‍याएको थियो। अन्य बैंकले पनि स्किमसहित ब्याज वढाएका थिए। बैंकहरुले संस्थागत र ठूला निक्षेपकर्तालाई अझ वढी ब्याज दिएका थिए। ठूला निक्षेपकर्तासँग बैंकहरुले ११ प्रतिशतसम्म ब्याज तिरेर पैसा चलाएका छन्।  अभावका कारण बैंकले कल डिपोजिट (माग्ने वित्तिकै फिर्ता गर्नु पर्ने) खातको ब्याजसमेत वृद्धि गरेका थिए। 


No comments:

Post a Comment

thanks for comment