कर्जा–निक्षेप अनुपातका कारण बैंकले लगानी वढाउन सकेनन्

काठमाडौं, जेठ १२
ब्याज  दरमा वृद्धि र सरकारी खर्च वढ्न थालेर लगानी योग्य पुँजी (तरलता) अभाव हटेपनि बैंकहरुले कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण लगानी वढाउन सकेका छैनन्। अधिकांस बैंकहरुको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको हाराहारीमा पुगिसकेकाले बैंकहरुले थप लगानी गर्न नसकेका हुन्।
बैंकहरुले एक सय रुपैयाँ निक्षेप उठाउँदा जम्मा ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। बैंकहरुले उठाएको निक्षेपमध्ये करिव ८० प्रतिशतको हाराहारीमा ऋण दिइसकेका छन्। निक्षेप वढेपनि पहिले नै ऋण वढाएका कारण अहिले कर्जा–निक्षेप अनुपात कायम राख्न बैंकले लगानी विस्तार गर्न नसकेका हुन्।
तरलता अलिकति सहज भएको हो। बैंकले निक्षेपको ब्याज वढाएको र सरकारी खर्च वढाएका कारण  सहज भएको हो,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले आइतबार नागरिकसँग भने। उनका अनुसार, आर्थिक वर्ष सकिन लाग्दा लगानी नवढाउे पुरानै प्रवृत्ति अनुसारै कर्जा विस्तार नभएको हो। 
आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा सरकारले खर्च वढाउन थालेको छ। चौथर्फी रुपमा खर्च वढाउन दवाव भएपछि सरकारले विकास खर्च वृद्धि गरेको हो। सरकारले खर्च गरेको रकम बैंकबाट वाहिरिन्छ। भुक्तानी लिनेहरुले पैसा बैंकमा राख्ने भएकाले निक्षेप संकलन सुधार हुन्छ।
तरलता अभाव कम हुन थालेपछि बैंकहरुले आपसमा लिने सापटी दर (अन्तर बैंक) घटिसकेको छ। तैपनि उनीहरुले लगानी विस्तार गर्न सकिरहेका छैनन्। गत सातासम्म साढे ४ प्रतिशत रहेको अन्तर बैंक सापटी अहिले साढे १ प्रतिशतको हाराहारीमा छ। दर घटेपनि सापटी लिनेक्रम भने घटेकेा छैन। कर्जा–निक्षेप अनुपात कायम राख्न बैंकले अन्तर बैंक सापटी नियमित प्रयोग गरिरहेका छन्। 

सापटीको  दर ६.८६ प्रतिशतसम्म पुगेको थियो। वित्तीय संस्थाहरुको दर अझ माथि ७.४३ प्रतिशत पुगेको थियो। बैंकको घटेपनि उनीहरुको दर भने अझै घटेको छैन। ४ अर्बसम्म पुगेकेा कारोबार रकम अहिले १ अर्ब ६५ करोडमा सीमित भएको छ। वित्तीय संस्थाको कारोबार रकम अझ घटेर ४० करोडमा झरेको छ। 
एक महिनाअघि बैंकहरुको निक्षेप ९ सय २४ अर्बबाट घटेर ९ सय १९ अर्बमा झरेको थियो। निक्षेप ह्वात्ते घटेर आत्तिएका बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुबाट साढे १० प्रतिशतसम्म ब्याज तिरेर निक्षेप लिएका थिए। सरकारी खर्च बढेर अहिले क्रमश निक्षेप वढेर ९ सय ३० अर्ब पुगेको छ। 
निक्षेप ११ अर्ब रुपैयाँले वढ्दा पनि बैंकले कर्जा लगानी जम्मा २ अर्बले विस्तार गरेका छन्। तरलता अभाव हुँदा ७ सय २४ अर्ब रुपैयाँ पुगेको कर्जा निक्षेप वढेपछि ७ सय २६   अर्ब रुपैयाँ पुगेको छ। तरलता अभाव भएपछि बैंकहरुले ब्याज वढाउँदासमेत निक्षेप आउन सकेको थिएन। 
अभाव चर्किएका कारण बैंकहरुले अनिवार्य नगद अनुपात (सिआरआर) पुरा गर्न पनि स्थायी तरलता सुविधा प्रयोग गरेका थिए। ३२ वाणिज्य बैंकले सिआरआर पुरा गर्न ५५ अर्ब २ करोड रुपैयाँ राख्नु पर्छ। तर बैंकहरुले चैतसम्म जम्मा ४९ अर्ब ७६ करोड रुपैयाँ मात्र जम्मा सिआरआर वापत राष्ट्र बैंकमा जम्मा गरेका थिए। वाँकी पैसा स्थायी तरलता सुविधा लिएर व्यवस्थापन गरेका थिए।  
तरलता सहज भएपनि वढाएको ब्याज भने घटाएका छैनन्। सर्वसाधारणको ब्याज बैंकहरुले स्किमका रुपमा वढाएका थिए। सनराइज बैंकले १५ महिना बैंकमा पैसा राखे ९.५ प्रतिशत व्याज दिने निक्षेप योजना ल्याएको छ। सेञ्चुरीले सय दिन पैसा राखे ९ प्रतिशत ब्याज दिने योजना ल्याएको छ भने ग्लोबलले एक वर्षे मुद्दति निक्षेपको ब्याज ९ प्रतिशत पुर्‍याएको छ। अन्य बैंकले पनि स्किमसहित ब्याज वढाएका छन्। बैंकहरुले संस्थागत र ठूला निक्षेपकर्तालाई अझ वढी ब्याज दिएका छन्। 


No comments:

Post a Comment

thanks for comment