किष्टका प्रबन्ध सञ्चालक ज्ञवालीले गरे राजिनामा

काठमाडौं, जेठ २५
सिद्धार्थ डेभलपमेन्ट बैंकको ऋण दूरुपयोग मुद्दामा विवादित भएपछि किष्ट बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवालीले दुवै पदबाट राजिनामा गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ज्ञवालीकी श्रीमती गौरी खनाललाई सिद्धार्थ बैंकबाट १३ करोड रुपैयाँ दूरुपयोग भएको भन्दै पक्राउ गरेपछि उनी विवादमा तानिएका थिए। 
श्रीमती खनाललाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेपछि नैतिक रुपमा बैंक सञ्चालक तथा कार्यकारी प्रमुखको भुमिकामा रहिरहनु उपयुक्त नलागेको भन्दै  ज्ञवालीले राजिनामा गरेका हुन्। 'प्रहरीको अनुसन्धान कार्यमा सहयोग पुगोस् र  यो विषयले किष्ट बैंकलाई कुनैपनि असर नपरोस भन्ने कारण देखाई नैतिकताको आधारमा राजिनामा गर्दछु' ज्ञवालीले सञ्चालक समितिलाई वुझाएको राजिनामा पत्रमा उल्लेख छ। 
ज्ञवालीले शुक्रबार साँझ राजिनामा वुझए पनि सञ्चालक समितिले शनिवार स्वीकृति गरेको हो। ज्ञवाली विवादमा तानिएपछि नेपाल राष्ट्र बैंकले किष्टको सञ्चालक समितिलाई  उनलाई राजिनामा गराउन दवाव दिएको थियो। विहीबार वालुवाटार कार्यालयमा सञ्चालकहरुलाई वोलाएर राष्ट्र बैंकले राजिनामा गराउन दवाव दिएको थियो। 

राष्ट्र बैंकले वोलाउनु पूर्व बिहीबार विहान आकस्मिक रुपमा बसेको किष्टको सञ्चालक समितिले ज्ञवालीले राजिनामा गर्नु पर्ने निर्णय गरेको थियो। विहानको वैठकमा ज्ञवाली उपस्थित नभएपछि साँझ अर्को वैठक डाकिएको थियो। त्यो वैठकमा पनि ज्ञवाली उपस्थित भएनन्। ज्ञवाली परिवारको व्यक्तिगत ऋणले किष्ट बैंक विवादित बनेको र राष्ट्र बैंकले पनि दवाव दिएका कारण सञ्चालकहरुले राजिनामा मागेका हुन्। उनले शुुक्रबार दिउँसो राजिनामा बैंक सञ्चालक समितिमा पठाएका थिए। 
किष्टमा उनले राजिनामा गरेपछि सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतमा विएन घर्तिलाई नियुक्त गरेको छ। घर्ति किष्टका नायव प्रमुख कार्यकारी अधिकृत थिए। ब्यापार प्रशासनमा स्नातकोत्तर घर्तीको विभिन्न वाणिज्य बैंकहरुमा गरी समग्र बैंकिङ क्षेत्रमा १६ वर्ष काम गरेको अनुभव छ।
१३ करोड रुपैयाँ ऋण दूरुपयोग मुद्दामा श्रीमती खनालसहित किशोर ढकाललाई प्रहरीले पक्राउ गरेको छ। २०६७ चैतमा जङवो पब्लिकेशन्सका नामा ऋण लिँदा यसको प्रबर्द्धकमा खनाल थिइन्। दुई वर्षको अवधिमा जङवो पब्लिकेसन्स तीन पटकसम्म नामसारी भएको छ। नामसारी हुँदा खनालका नाममा पैसा भुक्तानी भएको छ। जङवो पब्लिकेशन्सका प्रमुख ढकाल हुन्। 
राष्ट्र बैंकको निर्देशनमा सिद्धार्थले पैसा उठाउन ताकेता गरेपछि पछिल्लो समय प्रवर्द्धक रहेका ढकालले आफू ऋणका बारेमा अनभिज्ञ भएको भन्दै उजुरी गरेका थिए। ढकालको उजुरीपछि राष्ट्र बैंकले छानविन गर्दा खनालसहित ढकालको पनि संलग्नता पाइएको थियो। 
राष्ट्र बैंकको अनुगमनमा सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रवर्द्धकहरुबाट ४३ करोड रुपैयाँ बराबरको ऋण दूरुपयोग भएको भेटिएको छ। विभिन्न व्यक्ति तथा संस्थाका नाममा ऋण लिएर दूरुपयोग भएको राष्ट्र बैंकको अनुसन्धानमा पाइएको हो। 
राष्ट्र बैंक स्रोतका अनुसार, सिद्धार्थका प्रवर्द्धक रहिसकेका कमलले आफ्नो नाममा बैंकबाट ऋण निकाल्दा समस्या हुने भएपछि व्यक्तिगत प्रभावमा कमसल जग्गा धितो देखाएर पत्नीको नाममा ऋण निकालेका हुन्। राष्ट्र बैंकले प्रबर्द्धक सेयर रहेको बैंकबाट ऋण लिन नपाइने व्यवस्था गरेपछि सिद्धार्थमा अप्रत्यक्ष सेयर लगानी गरी ज्ञवाली लगायतले ऋण दूरुपयोग गरेको स्रोतले जानकारी दियो। 
सिद्धार्थमा किस्टका ज्ञवालीको विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा (अप्रत्यक्ष) प्रबर्द्धक सेयर छ। ६४ करोड रुपैयाँ पुँजी रहेको सिद्धार्थमा ज्ञवालीको ८ करोड रुपैयाँ अप्रत्यक्ष सेयर छ। आफ्नो नाममा सेयर राख्न नमिल्ने भएपछि उनले ६० लाख रुपैयाँको सेयर केही वर्षअघि अरुलाई नामसारी गरेका थिए। 
ऋण दूरुपयोग मुद्दामा मधुसुदन शिलवाल, शोभा गिरि, तुलसी खनाल, सीता खरेल, केशव सत्याल, सुजु गिरिलगायतको पनि दुरुपयोगमा संलग्नता पाइएको छ। ऋण दूरुपयोगमा सिद्धार्थका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्की र प्रमुख ब्यवस्थापक गंगावहादुर जिसीको पनि संलग्नता पाइएको छ।


No comments:

Post a Comment

thanks for comment