नेपालमा बैंक खोल्न चिनियाँको छलफल

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १५
नेपालमा आफ्नो देशको कारोबार  र लगानी वढ्न थालेपछि चिनियाँ बैंक तथा लगानीकर्ताहरुले यहाँ बैंक खोल्न पहल सुरु गरेका छन्। बैंक खोल्नका लागि चिनिया प्रतिनिधिहरुले सरकार, राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकका प्रमुखहरुसँग परामर्श सुरु गरेका छन्। 
नेपालमा चिनियाँ लगानीमा ठूला आयोजनाहरु विस्तार हुन थालेको र वैदेशिक व्यापार पनि वढ्न थालेपछि यसलाई सहजीकरण गर्न आफ्नै लगानीको बैंक खोल्न परामर्श सुरु गरेका हुन्। चिनियाँ बैंकहरुले यहाँको कारोबार अहिले नेपाली बैंकमार्फत गरिरहेका छन्। वार्षिक अर्बौं कारोबार हुन  थालेपछि चिनियाँहरु नेपालमा बैंक खोल्न इच्छुक देखिएका   हुन्।
'बैंक खोल्ने बारेमा चिनियाँहरुले चासो देखाइ रहेका छन्। उनीहरुले राष्ट्र बैंकलगायत अन्य निकायहरुसँग पनि छलफल थालेका छन्,' राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले बिहीबार नागरिकसँग भने,'उनीहरुले नेपालमा विकास आयोजनाहरु सञ्चालन गरिरहेकाले त्यसको कारोबार आफ्नै बैंकबाट होस् भन्ने चाहेका छन्।'
बैंक खोल्ने बारेमा औपचारिक छलफल गर्न एक महिनाभित्र चिनियाँ केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरु नेपाल आउँदैछन्। पिपुल्स रिपब्लिक अफ चाइनाका डेपुटी गभर्नरको नेतृत्वमा चिनियाँ टोली आएपछि बैंक खोल्ने विषयले औपचारिकता पाउने छ। 
'अन्य विषयका बारेमा छलफल गर्न डेपुटी गभर्नरको टोली नेपाल आउन लागेको हो,' काफ्लेले भने, …उनीहरु आएपछि चिनियाँ बैंकले नेपालमा लगानी गर्ने बारेमा पनि छलफल हुने छ।' उनले नेपालले चिनियाँ ऋणपत्रहरुमा लगानी सुरु गरिसकेकाले यसलाई व्यवस्थित र औपचारिक बनाउन टोली आउन लागेको जानकारी दिए। 

नेपालमा चिनियाँ लगानीमा सिन्वा हाइड्रो, त्रिसुली त्रि ए, राजधानीको वाहिरी चत्रपथ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाहा, मेलम्ची खानीपानी वहुउद्देश्यीयलगायत दर्जनभन्दा वढी आयोजनाहरु सञ्चालनमा छन्। यसबाहेक चिनियाँहरुले नेपालमा होटल तथा रेस्टुरेन्ट, वस्तु व्यापार तथा मासु प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन्। 
तीन महिनाअघि अर्थसचिव शान्तराज सुवेदीले चिनियाँ अधिकारीहरुलाई नेपालमा बैंक खोल्न आग्रह गरेका थिए। त्यसअघि पनि चिनियाँले नेपालमा बैंक खोल्ने चर्चा थियो। सचिवको आग्रहपछि भने चिनियाँ प्रतिनिधिहरुले नेपालका सरोकारवाला निकायहरुसँग छलफल नै थालेका हुन्। 
डेपुटी गभर्नर काफ्लेका अनुसार, चिनियाँहरु नेपालमा विकास आयोजनाहरुसँग नजिक भएकाले उनीहरुको डेभलपमेन्ट बैंकमा रुची वढी छ। काफ्लेले नेपालस्थित दुतावासका अधिकारीहरुसँग कुराकानी हुँदा उनीहरुले डेभलपमेन्ट बैंकमार्फत विकास निर्माणमा सहभागी हुन थप सजिलो हुने बताएको जानकारी दिए। 
नेपाल राष्ट्र बैंकले ठूलो पुँजी लिएर नेपालको विकास निर्माणमा सहयोग गर्ने विदेशी बैंकलाई सञ्चालन अनुमति दिइने जनाइ सकेको छ। नेपालमा बैंक खोल्ने नीति स्थगित गरिए पनि ठूलो पुँजीको विदेशी बैंकलाई भने विशेष प्राथमिकतामा राखेर अनुमति दिइने मौद्रिक नीतिमा नै उल्लेख छ। राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा १० अर्बभन्दा वढी पुँजी लिएर आउनेलाई स्वीकृति दिन सकिने बताउँदै आएका छन्।
'चिनियाँ व्यापारीहरु नेपालमा संयुक्त लगानीमा कसरी आउन सकिन्छ भनेर एक साताअघि छलफल गर्न आएका थिए,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने,'सोल्टी होटलमा उनीहरुसँग हामीले छलफल गरेका थियौं।' उनले चिनियाँ बैंकहरुले नेपाली बैंकसँग संयुक्त लगानीमा चासो देखाए पनि उनीहरुसँग मिलेर जान गाह्रो हुने बताए। 
'बैंकिङमा चिनियाँहरु एकदमै कमजोर हुन्छन्। चिनियाँ बैंकहरुको खराव कर्जा नै ७० प्रतिशत माथि हुन्छ,' ती बैंकरले भने, 'उनीहरुसँग मिलेर नेपाली बैंक चल्न सक्दैन।' तीन महिनाअघि सार्वजनिक भएको एक समाचार अनुसार, चिनियाँ बैंकहरुको औषत खराव कर्जा दर ६८ प्रतिशत  छ। 
नेपालमा चिनियाँ सरकारले दिने प्रत्यक्ष वैदेशिक सहायताको हिस्सा सानो भएपनि ऋण लगानी र व्यापारको हिस्सा भने ठूलो छ। चीनले नेपाललाई गत वर्ष २ अर्ब ५५ करोड रुपैयाँ सहायता गरेको थियो। जुन कुल वैदेशिक सहायताको २.७ प्रतिशत मात्र हो। तर चिनले ऋण तथा प्रत्यक्ष लगानीमा भने अर्वौं रुपैयाँ लगानी गरिरहेको छ। 
नेपालसँग चिनको वैदेशिक व्यापार नै ४८ अर्ब रुपैयाँभन्दा माथि छ। यसमध्ये  १ अर्ब ६२ करोड रुपैयाँ बराबरको निर्यात व्यापार छ भने वाँकी ४६ अर्ब ५२ करोड आयात ब्यापार छ। 

No comments:

Post a Comment

thanks for comment