जनरल फाइनान्स पनि समस्याग्रस्त घोषणा

काठमाडौं, जेठ १३ 
नेपाल राष्ट्र बैंकले जनरल फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्दै सुधारका लागि ६ महिनाको समय दिएको छ। ६ महिनाभित्र संस्थामा सुधार नआए राष्ट्र बैंकले जनरल फाइनान्सलाई खारेजीमा पठाउन सक्छ। 
राष्ट्र बैंकका अनुसार, जनरल फाइनान्सको स्थलगत निरिक्षण गर्दा पुँजीकोष क्रमशः विग्रदै गई १६.८३ प्रतिशतले ऋणात्मक भएको छ। संस्थालाई अहिलेकै अवस्थामा सञ्चालन गर्न दिए  सर्वसाधारणको निक्षेप जोखिममा पर्ने भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै कारवाही प्रकृया थालेको हो। 
संस्था अहिलेकै अवस्थामा चल्दा लगानीकर्ताको पुँजी थप क्षय हुने संभावना रहेको तथा वित्तीय प्रणालीमा नकारात्मक सन्देश प्रवाह हुने राष्ट्र बैंकले जनाएको छ। समस्याग्रस्त घोषणासँगै जनरल फाइनान्सले अबदेखि निक्षेप संकलन र ऋण लगानी गर्न पाउँदैन। 
राष्ट्र बैंकले एक महिनाअघि वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो। राष्ट्र बैंकले यसअघि क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, हिमालयन फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स कम्पनी, क्रिस्टल फाइनान्स, गोर्खा डेभलपमेन्ट बैंक र नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेर सुधार प्रकृयामा लगिसकेको छ। सुधार प्रकृयामा लगेपनि अवस्था विग्रिएपछि नेपाल विकास बैंक, युनाइटेड विकास बैंक र सम्झना फाइनान्स खारेजीमा गैसकेका छन्। 

राष्ट्र बैंकले जनरल फाइनान्सले एकल ग्राहक कर्जा सीमाभन्दा वढी लगानी गरेको तथा आफ्नै सञ्चालकहरुलाई कर्जा लगानी गरेको जनाएको छ। राष्ट्र बैंकले स्थलगत निरिक्षणपछि  भाका नाघेको कर्जाको नोक्सानी व्यवस्था कायम गर्न दिएको निर्देशन कम्पनीले पालना गरेको थिएन। राष्ट्र बैंकले स्थलगत निरिक्षणपछि १९ करोड ४५ लाख ७ हजार रुपैयाँ नोक्सानी व्यवस्था गर्न निर्देशन दिएको थियो। 
जनरलत फाइनान्सले एकल ग्राहक कर्जा सीमाभन्दा बढी लगानी गरेपछि राष्ट्र बैंकले ५२ लाख २९ हजार कर्जा नोक्सानी व्यवस्थामा थप गर्न लगाएको थियो। साथै सञ्चालकहरुलाई ४ करोड १४ लाख ५७ हजार कर्जा लगानी गरेको फेला पारेकेा थियो। दुरुपयोग भएका कर्जाहरुलाई प्राथमिक पुँजीबाट घटाउँदा संस्थाको पुँजीकोष चैत्र मसान्तमा १६.८३ प्रतिशतले ऋणात्मक भएको छ। 
पुँजी कोष ऋणात्मक हुने क्रम वढेपछि संस्था कारवाहीमा परेको हो। संस्थामा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनको अवस्था पनि कमजोर रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार, व्यवस्थापन सूचना प्रणाली प्रभावकारी नरहेको, विवेकशील बैंकिङ मान्यताको परिपालना कमजोर रहेको, जोखिम व्यवस्थापन सन्तोषजनक नरहेको पाइएको छ। 
…यसअघि पटक पटक दिईएका सुधारात्मक निर्देशनहरु संस्थाबाट पालना भएको छैन,' राष्ट्र बैंकका एक अधिकारीले भने, …संस्थालाई यथावत संचालन गर्न दिएमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने अवस्था छ।' राष्ट्र बैंकले तोकिएको पुँजी कोष कायम गर्न संस्थालाई निर्देशन दिएको छ। वित्तीय संस्थाहरुको पुँजी कोष ११ प्रतिशत धनात्मक हुनु पर्छ। 
राष्ट्र बैंकले निष्कृय कर्जाको अनुपात ५ प्रतिशतभन्दा कम गर्न कम्पनीलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले जनरल फाइनान्सलाई गत कात्तिकमा नै कारवाही गर्न प्रकृया अगाडि वढाएको थियो। राष्ट्र बैंकका केही कर्मचारीहरुको दवाव र संस्थाले सुधारको प्रतिवद्धता जनाएपछि कारवाही स्थगित गरिएको थियो। 
संस्थाको एक वर्षयताको वित्तीय विवरण उपलब्ध छैन। कम्पनीले राष्ट्र बैंकलाई दिएको जानकारी अनुसार जनरल फाइनान्समा सर्वसाधारणको ५९ करोड रुपैयाँ निक्षेप छ। कम्पनीले ७४ करोड ९९ लाख रुपैयाँ ऋण लगानी गरेको छ। कम्पनीलाई सर्वसाधारणको निक्षेप फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ। तर, प्रतिदिन प्रतिखाता दुई लाख रुपैयाँभन्दा वढी निक्षेप भुक्तानी गर्न भने राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ। 
राष्ट्र बैंकले जनरल फाइनान्सलाई नयाँ शाखा खोल्न, स्थीर सम्पत्ति खरिद विक्री गर्न र सञ्चालकको भत्ता र कर्मचारीको तलब सुविधा वृद्धि गर्न रोक लगाएको छ। कम्पनीले नयाँ कर्मचारी भर्ना तथा बढुवा गर्न र लाभांश वितरणमा पनि रोक लगाएको छ। 
संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिँदै राष्ट्र बैकले तत्काल सबै सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए)  गर्न पनि निर्देशन दिएको छ। 

No comments:

Post a Comment

thanks for comment