सिद्धार्थ डभेलमेन्ट बैंकमा ४३ करोड ऋण दूरुपयोग

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २३
सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रवर्द्धकहरुबाट ४३ करोड रुपैयाँ बराबरको ऋण दूरुपयोग भएको भेटिएको छ। विभिन्न व्यक्ति तथा संस्थाका नाममा ऋण लिएर दूरुपयोग भएको राष्ट्र बैंकको अनुसन्धानमा पाइएको हो। 
ऋण दूरुपयोगको गरेको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले किस्ट बंैकका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवालीकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसुरमा बुधबार पक्रउ गरी अनुसन्धान सुरु गरिरहेको छ। 
श्रीमती ज्ञवालीका नाममा १३ करोड रुपैयाँ दूरुपयोग भएको हो। यो ऋण दूरुपयोग मुद्दामा राष्ट्र बैंकले जङवो पब्लिकेशन्स प्रालिका  किशोर ढकालमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई सिफारिस गरेको छ। 
२०६७ चैतमा जङवो पब्लिकेशन्सका नामा ऋण लिँदा यसको प्रबर्द्धकमा श्रीमती ज्ञवाली थिइन्। दुई वर्षको अवधिमा जङवो पब्लिकेसन्स तीन पटकसम्म नामसारी भएको छ। नामसारी हुँदा श्रीमती ज्ञवालीका नाममा पैसा भुक्तानी भएको छ। 
राष्ट्र बैंकको निर्देशनमा सिद्धार्थले पैसा उठाउन ताकेता गरेपछि पछिल्लो समय प्रवर्द्धक रहेका ढकालले आफू ऋणका बारेमा अनभिज्ञ भएको भन्दै उजुरी गरेका थिए। ढकालको उजुरीपछि राष्ट्र बैंकले छानविन गर्दा श्रीमती  ज्ञवालीसहित ढकालको पनि संलग्नता पाइएको थियो। 

सिद्धार्थमा किस्टका ज्ञवालीको विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा (अप्रत्यक्ष) प्रबर्द्धक सेयर छ। ६४ करोड रुपैयाँ पुँजी रहेको सिद्धार्थमा ज्ञवालीको ८ करोड रुपैयाँ अप्रत्यक्ष सेयर छ। आफ्नो नाममा सेयर राख्न नमिल्ने भएपछि उनले ६० लाख रुपैयाँको सेयर केही वर्षअघि अरुलाई नामसारी गरेका थिए। 
राष्ट्र बैंकका स्रोतका अनुसार, सिद्धार्थका प्रवर्द्धक रहिसकेका कमलले आफ्नो नाममा बैंकबाट ऋण निकाल्दा समस्या हुने भएपछि व्यक्तिगत प्रभावमा कमसल जग्गा धितो देखाएर पत्नीको नाममा ऋण निकालेका हुन्। राष्ट्र बैंकले प्रबर्द्धक सेयर रहेको बैंकबाट ऋण लिन नपाइने व्यवस्था गरेपछि सिद्धार्थमा अप्रत्यक्ष सेयर लगानी गरी ज्ञवाली लगायतले ऋण दूरुपयोग गरेको स्रोतले जानकारी दियो। 
सिद्धार्थको ऋण दूरुपयोगमा ज्ञवाली  समूहका संलग्नता पाइएपछि राष्ट्र बैंकले किष्टका अध्यक्षलाई वोलाएर प्रबन्ध सञ्चालकलाई हटाउन बिहीबार दिउँशो निर्देशन दिएको छ। किस्टका सञ्चालकहरुले विहीबार विहानै ज्ञवालीलाई राजिनामा गराउन वैठक वोलाएका थिए। त्यो वैठकमा ज्ञवाली उपस्थित भएनन्। 
सिद्धार्थ डेभलमेन्ट बैंकमा ऋण दूरुपयोग भएपछि स्थलगत निरिक्षणमा   गएको राष्ट्र बैंकको टोलीले आफूखुसी भुक्तानी नभएको कर्जाको ब्याज, त्यसमा लाग्ने हर्जाना छुट दिएको भेटाएको थियो। ऋणीको धितोलाई  अधिक मूल्यांकन गरि लगानी गरिएको पनि टोलीले भेटाएको थियो। कर्जा व्यापक रुपमा दूरुपयोग भएको भेटिएपछि राष्ट्र बैंकले केही समयअघि  अध्यक्ष वाहेक सबै सदस्यलाई सञ्चालक समितिबाट हटाइसकेको छ। 
राष्ट्र बैंक स्रोतका अनुसार, संस्थापक सेयर धितोमा दिएको ऋण नउठे पनि बैंकले पैसा उठाउन ताकेता नगरेको पाइएको छ। साथै कानुनी प्रकृयामा गएर धितो लिलाम गर्न तथा ऋणीलाई कालोसुचीमा राख्न समेत राष्ट्र बैंकले डेढ वर्षअघि निर्देशन दिएपनि कार्यान्वयनमा आएको थिएन। बैंक सञ्चालक र व्यवस्थापनले अख्तियारी सीमाभन्दा वढी लगानी गरेको समेत राष्ट्र बैंकको अनुगमनमा पाइएको छ। 
दुरुपयोग भएका ऋणहरु घरजग्गा तथा सेयरसँग सम्वन्धित छन्। कतिपय कर्जाहरु ओभरड्राफ्ट र आवधिक शिर्षकमा पनि दिइएको छ। दूरुपयोग भएको ४३ करोड ऋणमध्ये ३० करोड रुपैयाँमा श्रीमती ज्ञवालीसहित बैंक व्यवस्थापनको पनि संलग्नता देखिएको छ। यसवाहेक मधुसुदन शिलवाल, शोभा गिरि, तुलसी खनाल, सीता खरेल, केशव सत्याल, सुजु गिरिलगायतको पनि दुरुपयोगमा संलग्नता रहेको स्रोतले जानकारी दियो। 
ऋण दूरुपयोगमा सिद्धार्थका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्की र प्रमुख ब्यवस्थापक गंगावहादुर जिसीको पनि संलग्नता पाइएको छ। कार्कीलाई राष्ट्र बैंकले पाँच लाख रुपैयाँ जरिवानासमेत गराएको थियो। दुरुपयोग भएको ऋणको रकम वढ्दै गएपछि राष्ट्र बैंकले गत मंगलबार कार्की र जिसीको बैंक खातासमेत रोक्का गरिसकेको छ। उनीहरु दुवैलाई राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिले कारवाही गरेको थियो।  
स्रोतका अनुसार, बैंकका तत्कालिन सञ्चालक समितिको ठाडो सिफारिसमा कमसल धितो लिएर ऋण प्रभाव भएको छ। भुक्तानीको अवधि सकिए पनि धितो पुर्नमूल्यांकन नगरी ऋण नवीकरण भएको छ।
राष्ट्र बैंकले दूरुपयोग भएको ४३ करोड ऋणमध्ये १३ करोडको मात्र अनुसन्धान गर्नका लागि प्रहरीमा पठाएको हो। केही दिनमै वाँकी ऋणको अनुसन्धानका लागि प्रहरीलाई पठाउने राष्ट्र बैंक स्रोतले जानकारी दियो। 
दिएको ऋण नउठेका कारण सिद्धार्थ डेभलपमेन्ट बैंक गत वर्षदेखि नै घाटामा छ। बैंकको खराव कर्जा २५ प्रतिशतसम्म पुगेको थियो। ३ अर्ब २५ करोड ऋण लगानी गरेको बैंकको चालू आर्थिक वर्षको चैत मसान्तमा खराब कर्जा ९.८५ प्रतिशत छ। बैंक चैतमा ६ करोड ८१ लाख रुपैयाँ घाटामा छ। 
राष्ट्र बैंकले तत्कालिन प्रमुख कार्यकारी अधिकृत कार्की र सञ्चालक समितिलाई कारवाही गरेपछि डुवेकेा ऋण क्रमशः उठ्दै गएको छ। बैंक स्रोतका अनुसार, डुवेका ऋणहरुको धितो अपुग भएका कारण सबै पैसा उठ्न सकेको छैन। …धितो विक्री गर्दा पनि दिएको ऋण उठ्न नसकेका कारण खराव कर्जा घट्न नसकेको हो,' बैंक स्रोतले भन्यो। 

No comments:

Post a Comment

thanks for comment