बैंकमा ६ महिनादेखि नयाँ योजना छैन

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १४
बैंक तथा वित्तीय संस्थामा ६ महिनायता नयाँ परियोजनाका लागि ऋणको माग हुन छाडेको छ। औद्योगिक वातावरण विग्रिएर लगानी अनिस्चित हुन थालेपछि ऋणको माग हुन छाडेको हो। 
'एक वर्ष अघिसम्म पनि ऋणको माग ठिकै थियो। ६ महिनायता भने नयाँ परियोजनाका लागि ऋण माग हुन छाडेको छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मंगलबार नागरिकसँग भने,'पहिले ऋणका लागि खोजिनीति गर्नेहरु अहिले हराएका छन्।' 
नयाँ योजना  नआएपछि बैंकहरु अल्पकालिन प्रकृति तथा व्यापारिक कर्जामा मात्र सीमित हुन थालेका छन्। पछिल्लो समय वढेको सबै ऋण व्यापारिक तथा उपभोक्ता कर्जा हो। गत वर्ष नै प्रतिवद्धता जनाएका केही जलविद्युत्मा अलिकति लगानी भएपनि नयाँ योजना आएका छैनन्। ब्याज दर घटेपछि नयाँ परियोजनामा ऋण माग हुने बैंकरले आशा गरेपनि त्यो हुन नसकेको उनीहरु बताउँछन्। 
राष्ट्र बैंकले पनि उत्पादनमूलक क्षेत्रका लागि सस्तो ब्याजको पुनर्कर्जाको बाटो खुला गरेको छ। १० प्रतिशतमा पाइने पुनर्कर्जा माग्न पनि ब्यवशायी जान छाडेका छन्। बैंकहरुले पनि नयाँ परियोजनाका लागि पहिलेको भन्दा सस्तो ब्याजमा ऋण योजना ल्याएपनि माग भएको छैन। 

बैंकरका अनुसार, ठूला नभएपनि पहिले सानातिना नयाँ परियोजनाहरु आउँथियो। अहिले साना परियोजनाहरुका लागि पनि ऋण माग हुन छाडेको छ। राष्ट्र बैंकका अनुसार, पछिल्लो समय भइरहेका उद्योगधन्दाहरु आफ्नो क्षमताको ४७ प्रतिशत मात्र सञ्चालन भइरहेको छ। भएकै उद्योगधन्दा सुस्ताएपछि नयाँ परियोजनाका लागि ऋण माग हुन छाडेको बैंकरहरुको भनाइ छ। 
'अहिले अल्पकालिन र व्यापारिक कर्जा मात्र गएको छ,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'उपभोग्य सामग्री, विलाशिताका वस्तुलगायतका चिजविज किन्नका लागि  आयात कर्जा गइरहेको छ।' उनले नयाँ परियोजना आए ऋण लगानी गर्न  कुनै समस्या नभएको भन्दै अहिले व्यापारिक र उपभोग्य कर्जाबाटै अर्थतन्त्र चलिरहेको बताए। 
बैंकहरुले आफ्नै प्रयासमा अहिले साना तथा मझौला उद्यम (एसएमइ) मा लगानी वढाइरहेका छन्। बैंकहरुले ब्याज दरको स्किम ल्याएर घरगाडी तथा सानातिना उद्यमका लागि कर्जा लगानी गरेका हुन्। त्यस वाहेक पोहोर नै प्रतिवद्धता जनाएका आयोजनामा लगानी गएको छ। 
असार मसान्त आउन डेढ महिना मात्र वाँकी रहेकाले बैंकहरुले आफैले पनि दीर्घकालिन प्रकृतिको कर्जामा रुचि दिएका छैनन्। असार मसान्तमा नोक्सानी व्यवस्था गर्नु पर्ने कारणले बैंकहरुले लगानी विस्तार गर्न नचाहेका हुन्। 
'नयाँ ऋणका लागि माग त भएको छैन साथै असार मसान्त आउन लागेकाले बैंकले पनि लगानी विस्तारमा त्यति चासो देखाएका छैनन्,' शाहले भने। 
बैंकरका अनुसार, नेपालमा विद्युत् अभाव हुन थालेको, इन्धनका लागि महँगोमा पेट्रोलियम किन्नु परेको र आवश्यक श्रमिक पनि पाइन छाडेको र भएकै श्रमिकबाट पनि बन्द हड्ताल हुने गरेकाले बैंकहरुमा नयाँ परियोजनाका लागि ऋण माग हुन छाडेको हो। 
…मसँग राम्रो प्रोजेक्ट छ तपाईहरु लगानी गर्नुस् भन्न मान्छे आउन छाडेका छन्,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, …औद्योगिक वातावरण नभएपछि ऋणको माग हुँदैन। अहिलेको अवस्था त्यस्तै छ।' उनले औद्योगिक वातावरण अब पनि नबने नेपालको बैंकिङ व्यापारिक कर्जामय हुने बताए। 
बैंकरका अनुसार, पछिल्लो समय जति पनि कर्जा गएको छ त्यसमध्ये अधिकांस बैंकले स्किम ल्याएर आकर्षित गर्नु परेको छ। …अहिले लगानीकर्तालाई पैसा लिइदिनुस् भनेर बैंकले फकाउनु परेको छ,' शाहले भने, …एक वर्ष अघिसम्म पनि लगानीकर्ताले योजना लिएर आउने अवस्था थियो।' 


No comments:

Post a Comment

thanks for comment