मर्जरको नाममा अर्को संस्था किन्दै

काठमाडौं, जेठ २० 
सार्वजनिक कम्पनीहरु खरिद गर्ने (टेक ओभर) कानुन नभएपछि बैंक तथा वित्तीय संस्थाहरुले मर्जरको माध्यमबाट अर्को संस्था किन्न थालेका छन्। अप्ठेरोमा परेका तथा सस्तोमै पाइएका संस्थाहरु पुँजीगत हिसावले ठूला बैंक तथा वित्तीय संस्थाले किन्न थालेका हुन्।
मर्जरअघि आपसी सम्झौता गरेर सानो संस्थाको सेयर मूल्य घटाएर ठूलो संस्थामा गाभिन्छ। गाभिने प्रकृया सकिएपछि ठूलो संस्थाका प्रवर्द्धकहरुले सानो संस्थाका प्रवर्द्धकहरुसँग वाँकी रहेको सेयर किन्ने गरेका छन्। कमजोर वित्तीय अवस्था भएका संस्थाहरुले आफ्नो लगानी सुरक्षा गर्न भएको सेयर विक्री गरेर वाहिरिने गरेका छन्। 
कमजोर संस्थाको प्रवर्द्धक सेयर दोस्रोे बजारमा त्यति विक्री नहुने भएकाले मर्जरको माध्यमबाट साना संस्थाका प्रवर्द्धकहरु ठूलोमा विलय भएर वाहिरिने गरेका हुन्। 
'ठूलो संस्थासँग गाभिँदा सानो संस्थाको हैसियत हराए पनि लगानी सुरक्षित हुन्छ,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'आपसी सम्झौतामा सानो संस्थाका प्रवर्द्धकहरु वाहिरिने गरी मर्जर हुँदा सेयरधनी र निक्षेपकर्ता दुवैलाई फाइदा हुन्छ।' 
मर्जर हुँदा सञ्चालक समितिमा प्रतिनिधित्व दिनु पर्ने, प्रमुख कार्यकारी अधिकृतहरुको चित्त वुझाउनु पर्नेजस्ता समस्या हुन्छ। संस्था किन्दा आफू अनुकुल संरचना प्रयोग गर्न पाइने र मूल्य पनि सस्तो पर्ने हुन्छ। 
भर्खरै मात्र ग्लोबल आइएमइ बैंकसँग सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिने सम्झौता गरेका छन्। तर, राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिनु पूर्व उनीहरुको मूल्य तय भइसकेको छ। मूल्य तय राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि गरिने सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) बाट मात्र गरिन्छ। 
ग्लोबल आइएमइसँग सोसियल प्रति सेयर ४० रुपैयाँका दरले गाभिने सम्झौता भइसकेको छ। यसैगरी गुल्मी विकास बैंक ५० रुपैयाँका दरले गाभिने छ। ग्लोबल आइएमइसँग गाभिएपछि दुवै संस्थाको अस्तित्व हराउने छ। 

भर्खरै मात्र प्रभू फाइनान्स लिमिटेडसँग समवृद्धि विकास बैंक र वैभव फाइनान्स गाभिन सम्झौता भएको छ। उनीहरुले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति नपाइकनै मूल्य तय गरिसकेका छन्। प्रभूसँग गाभिनका लागि समवृद्धिको प्रति सेयर मूल्यांकन ६५ रुपैयाँ र वैभवको ५० रुपैयाँ कायम गरिएको छ। 
समवृद्धि गाभिने भएकाले प्रभू स्वतः विकास बैंक बन्ने छ। कम पुँजी भएका समवृद्धि र वैभवको सेयर मूल्यांकन पनि कम गरिएकाले नयाँ संस्थाको सञ्चालक समितिमा यिनीहरुको प्रतिनिधित्व हुने संभावना न्यून रहन्छ। 
यसअघि पनि ग्लोबल बैंकले मर्जरको माध्यमबाट लर्र्डवुद्ध प्रति सेयर ७० रुपैयाँ मूलयांकन  गरेर मिसाएको थियो। बराबरी हैसियत भएका संस्थाहरु …इगो' का कारण मर्जर हुन कठिन भइरहेका बेला राष्ट्र बैंकले ठूलो संस्थासँग सानो संस्था गाभेर लगानी सुरक्षित गर्न प्रोत्साहित गरिरहेको छ। 
अप्ठेरोमा परेका संस्थाहरुले राष्ट्र बैंकको सुझावमा लगानी सुरक्षाका लागि मर्जर गर्ने अनि वाँकी सेयर विक्री गर्ने बाटो समाउन थालेका छन्। कतिपय साना संस्थाका प्रवर्द्धकले भने वहुमत (मेजुरिटी) सेयर विक्री गरेपनि थोरै सेयर राख्ने गरी मर्जरमा जान सहमत भएको स्रोतले जानकारी दियो।
राष्ट्र बैंकले दुई वर्षअघि आपसमा गाभ्ने गाभिने नीति लिएपछि बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुन थालेका हुन्। वाध्यतामा वाहेक सानो संस्थाको अस्तित्व ठूलो संस्थाले नस्विकार्ने भएकाले मर्जरको माध्यमबाट सानो कम्पनी किन्न थालिएको हो। 
बैंकरहरुले कम्पनी खरिद विक्री ऐन कार्यान्वयनमा ल्याउन आग्रह गर्दै आएका छन्। खरिद विक्री ऐन आए ठूला संस्थाले सानो संस्थालाई सजिलो गरी किन्न सक्छन्। ठूला बैंकहरुले शाखा सञ्जालका लागि क्षेत्रीय स्तरका संस्थाहरु किन्न सक्छन्। सम्पति (कर्जा) तथा दायित्व (निक्षेप) राम्रो भएका संस्थाहरु किन्न बैंकहरुलाई सहज हुन्छ। 
लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, सिटिजन्स् बैंक इन्टरनेशनलका साथै नयाँ आएका मेगा, कमर्ज एन्ड ट्रस्ट बैंकहरु पनि अर्को सानो संस्था किन्नलाई आफूहरु इच्छुक रहेको बताउँदै आएका छन्। राष्ट्र बैंकले खरिद विक्री ऐनका लागि पहल गरिरहे पनि यो कायान्वयनमा नआएका कारण मर्जर मार्फत खरिद विक्रीलाई प्रवर्द्धन गरेको हो। 

No comments:

Post a Comment

thanks for comment