बैंकहरुले निक्षेपको ब्याज बढाउन थाले

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ३०- 
तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज दर बढाएका छन्। दसैं- तिहारमा बाहिरिएको रकम नफर्केको र सरकारी खर्च पनि नभएपछि बैंकमा निक्षेप घटेको छ। 
बैंकिङ क्षेत्रमा निक्षेप घट्न थालेपछि यसलाई आकर्षित गर्न ब्याज दर बढाएका हौं,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी राजनसिंह भन्डारीले भने, 'एक बर्षे मुद्दतिको ब्याजदर साढे ११ प्रतिशत पुर्‍यायौं।' यो बैंकले कात्तिक दोस्रो साता ब्याजदर १० प्रतिशतबाट साढे ११ पुर्‍याएको हो। 

पुराना सबै बैंकले कल डिपोजिटको ब्याज दर बढाइ सकेका छन्। दर्जनभन्दा बढी बैंकले मुद्दति र बचत खाताको ब्याज दर बढाएका छन्। 'हामीले कल डिपोजिटसँगै बचतमा ब्याज बढायौं,' प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले नागरिकसँग भने, 'थप लगानी विस्तार गर्न निक्षेप तान्नुपर्ने भएकाले ब्याज बढाएका हौं।'
वाणिज्य बैंकहरुबाट तीन सातामा निक्षेप ८ अर्बले घटिसकेको छ। गत कात्तिक पाँच गते ६ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुसँग गत शुक्रबारसम्म ६ खर्ब १५ अर्बमा झरेको छ। निक्षेप घट्ने क्रमसँगै बैंकहरुमा तरलता अभाव देखिन थालेको छ। गत वर्ष तरलता अभाव झेलेका बैंकहरुले निक्षेप घट्न थाले लगत्तै ब्याज दर बढाउन सुरु गरेका हुन्।

'बजेट आएर खर्च नभइन्जेल ब्याज दर बढ्ने क्रम जारी रहन्छ,' भण्डारीले भने, 'बजेट आएको दुई-तीन महिनापछि मात्र ब्याज दर घट्ने/नघट्नेमा टुङ्गो लाग्ने छ।' निक्षेपको ब्याज दर बढ्दा सर्वसाधारणलाई फाइदा हुन्छ। निक्षेपसँगै कर्जाको समेत ब्याज बढ्ने भएकाले ऋण लिएर लगानी गर्नेको पुँजी लागत बढ्छ। बैंकहरुले निक्षेको ब्याज बढाएको एक डेढ महिनाको अन्तरमा कर्जाको ब्याज बढाउँदै आएका छन्।
बजेट आउन चार महिना ढिला भइसकेको तथा दसैंतिहारमा बाहिरिएको निक्षेप बैंकमा फिर्ता नआएकाले बैंकहरु पोहोरजस्तै रकम अभाव हुन्छ भन्ने डरमा छन्। तरलता अभाव लम्बिँदै गएपछि बैंकहरुले सहज रुपमा लगानी गर्न सक्दैनन्। गत वर्ष पनि पछिल्लो छ महिना लगानी नगरी बैंकहरु बसेका थिए।
जेठ दोस्रो सातादेखि साउन दोस्रो सातासम्म करिब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेपछि सहज अनुभव गरेका बैंकहरुले निक्षेप ब्याज दर घटाएका थिए। खासगरी प्राइम, लक्ष्मी, सिटिजन्स्, हिमालय, नबिल, राष्ट्रिय वाणिज्यलगायत दर्जन बैंकले निक्षेपको ब्याज घटाएका थिए। त्यसबेला ब्याज घटाएका बैंकले अहिले ब्याज बढाएका हुन्।
बैंकरका अनुसार, दसैतिहारमा निक्षेप वाहिरिएर अन्तर बैंक ११ प्रतिशत पुगिसकेको छ। पोहोरजस्तो समस्या आउन नदिन सुरुदेखि निक्षेप आकर्षित गर्न ब्याज बढाएका हुन्।
बैंकहरुले तरलता अभाव हुँदा १२ प्रतिशत ब्याज सर्वसाधारण र १४ प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई दिएका थिए। गत वर्ष ब्याज बढाउँदा पनि बैंकिङ क्षेत्रले आशातित निक्षेप संकलन गर्न सकेको थिएन।
गत वर्ष पनि दसैंपछि देखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको थियो। गत बर्षको यसै अवधिको तुलनामा निक्षेप करिव ६ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष नोट अभाव र बजेट ढिला गरी पास भएकाले बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको थियो।

No comments:

Post a Comment

thanks for comment