सेवाले आक्रमक हुनुपर्छ : शेखर बराल

 
महाप्रबन्धक, शेखर बराल,
 सूर्या लाइफ इन्स्योरेन्स
 
 
 

 
 
सूर्या लाइफ इन्स्योरेन्स जीवन बिमा बजारमा नवप्रवेशी कम्पनी हो । सर्वसाधारणमा बिमाप्रतिको जागरण बढ्दै गएको र बजारको सम्भावना पनि उत्तिकै रहेकोले सेवाप्रदायकले गुणस्तरीय सेवामार्फत प्रतिस्पर्धा गर्नुपर्ने यसका महाप्रबन्धक शेखर बराल बताउँछन । बिमा व्यवसाय सूर्या लाईफ र सेयर बजार बारे बरालसँग नागरिकका सुदर्शन सापकोटाले गरेको कुराकानी :


गत वर्षको व्यवसाय विस्तार कस्तो रहयो  ?
गत वर्ष ५० प्रतिशतले बिमालेखको वृद्धि भयो । पि्रमियम वृद्धि ३८ प्रतिशतले भयो । यसबाट केही गर्न सकिन्छ भन्ने विश्वास बढेको छ । तर हामी सन्तुष्ट भएका छैनौं । किनभने अझै धेरै गर्न बाँकी छ बिमा क्षेत्रमा । यो वर्ष हामी बिमा गर्नेको संख्या ३० हजार पुर् याउँछौं । अहिले १२ हजारको हाराहारीमा छ ।
केही समयदेखि बिमा गर्नेको संख्या बढिरहेको छ के कारण हुनसक्छ ?
बिमा प्रति अहिले जागरुकता बढेको छ । बिमा गर्नुपर्ने रहेछ यो खर्च होइन लगानी रहेछ भनेर बुझ्न थालेका छन् सर्वसाधारणले । अचेल बरु बिमा किन गर्नेभन्दा पनि कुन कम्पनीमा गर्ने भन्ने चासो सर्वसाधारणमा बढ्न थालेको छ । कम्पनीको व्यवस्थापन साचालक समितिमा को छ भनेर सोधिखोजी हुन थालेको छ । यसले बिमा गर्नेको संख्या बढेको हो ।
अहिले बिमा बजार कस्तो छ ?
गर्न खोज्ने हो भने यसमा धेरै गर्न सकिन्छ । बजार प्रशस्त छ । बिमा बारेमा सर्वसाधारणले चासो राख्न थालेकाले कम्पनीहरुलाई थप सहज भएको छ । बिमालेखको संख्यामा मात्र होइन गुणस्तरमा पनि ध्यान दिन सक्यो भने बिमा उद्योगको विस्तारमा नै सहयोग पुग्छ ।
नयाँ आएका चार जीवन बिमा कम्पनीमध्ये सूर्या लाइफ त्यति आक्रामक देखिदैन नि ?
सबैको आ-आफ्नै रणनीति हो । हामीाई जरुरी छैन आक्रमक भएर अगाडि बढ्नलाई । सेवा र गुणस्तरको हिसाबले स्थापित हुने हो । बाहिर समाचारमा आएजस्तो केही बिमा कम्पनीले असाध्यै धेरै जीवन बिमा गरेका होइनन् । वैदेशिक रोजगारमा जानेको समेत बिमा गर्ने भएकाले संख्या धेरै देखिएको हो । यो घाटाको व्यवसाय भएकाले हामीले संख्या बढाउन नचाहेको हो ।
यद्यपी यसले बिमा लेखको संख्या बढाएर कम्पनीहरुलाई चर्चामा आउन सहयोग भने गरेको छ । हामीले वैदेशिक रोजगार बिमा गरेनौं । यसले गर्दा संख्याका हिसाबले हाम्रो बिमा लेख बिक्री कम देखियो । संख्या र प्रचारबाजी गर्दैमा आक्रमक हुने नगरे नहुने भन्ने हुँदैन । सेवाले आक्रमक हुनु पर्छ ।
सूर्या लाइफको सेवा चाँही कस्तो छ ?
विक्रीपछिको सेवामा हामी प्रतिवद्ध छौं । ४० वर्षसम्म अवधि भएको बिमा लेख हामी विक्री गर्छौ । दाबी भुक्तानी तुरुन्तै हुन्छ । मृत्युको दाबी भुक्तानी १० दिन भित्रमा गरिसक्छौं । सेवा दिने कुरामा हामी अग्रस्थानमा छौं । बिमालेख कति विक्री भयो भन्ने एउटा कुरा हो र कस्तो सेवा उपलब्ध भइरहेको छ भन्ने अर्को कुरा हो । सेवाको हिसाबले हामी ग्राहकको मन जित्दै अगाडि बढीरहेका छौं । बिमाका लागि हामीले सफ्टवेयर प्रयोगमा ल्याएका छौं । अत्याधुनिक यो सफ्टवेयरमा ४०-५० वर्ष सम्म तथ्यांकहरु सुरक्षित रहन्छन् । जुनसुकै शाखाबाट पनि ग्राहकले पि्रमियम बुझाउन सक्छन् । मध्यम र उच्च मध्यम वर्ग हाम्रा ग्राहक छन् । उनीहरुलाई चाहिने सेवा हामीले उपलब्ध गराइरहेका छौं ।
अहिले बिमा क्षेत्रका चुनौती के छन्  ?
बिमा क्षेत्रमा ठूलो चुनौती भनेको दक्ष जनशक्ति हो । कम्पनी २५ पुगिसके तर दक्ष कर्मचारी त्यही अनुपातमा बढ्न सकेको छैन । काठमाडौं बाहिरबाट कारोबार थालियो भने बाहिर जाने कर्मचारी पाइदैन । नेपालमा एक जना पनि अक्चुअरी छैनन् । सबैले भारतीय अक्चुअरीको भर पर्नु परेको छ । नेपालमा उत्पादन गर्न सकिए काम अझ सहज हुने थियो । भारतीय बिमा कम्पनीहरुले नेपालीको बिमा गरिरहेका छन् । यो चुनौती हो ।
नेपालमा पुनर्बिमा कम्पनीको आवश्यकता कतिको छ  ?
पुनर्बिमाका कारणले विदेशमा थुप्रै पैसा गएको छ । नेपालमा नै पुनर्बिमा कम्पनी स्थापना भए पैसा जाने क्रम धेरै हदसम्म नियन्त्रण हुने थियो । नेपाली बजारका लागि पुनर्बिमा आवश्यक भइसक्यो । सुरुवातका हिसाबले पनि कम्पनी खोल्नुपर्छ । यसका लागि सरकार आफैले वा बिमा कम्पनीहरु मिलेर वा आकस्मिक बिमा कोषलाई पुनर्बिमा कम्पनीका रुपमा विकास गरेर भए पनि स्थापना गर्नुपर्छ ।
सेयर बजारमा बिमा कम्पनीको सेयरलाई त्यति रुचाइदैन । के कारण होला यसको पछाडि  ?
बिमाको लगानी दीर्घकालिन हो । बिमा कम्पनीको सेयर किन्नेहरुले ५-६ वर्ष पर्खिन सक्नुपर्छ । अन्य कम्पनीजस्तो यसबाट हरेक वर्ष प्रतिफल प्राप्त हुँदैन । प्रत्येक तीन वर्षमा बोनस दर निर्धारण हुने व्यवस्थाले पनि यसमा गरिएको लगानीबाट हरेक वर्ष प्रतिफल उपलब्ध हुँदैन । त्यस कारण पनि सर्वसाधारणको रुचिमा त्यति नपरेको हुन सक्छ । तर पर्खिन सक्नेले बिमा कम्पनीको सेयरबाट राम्रो आम्दानी गर्नसक्छ ।
सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । के कारणले यस्तो भएको होला ?
जुन देशमा सरकार छैन । ६ महिना भयो बजेट आएको छैन । अनि कुन कारणले सेयर बजार उकालो लाग्छ । सेयर बजार उकालो लाग्नका लागि राजनीतिक अवस्था राम्रो हुनु पर्छ । राजनीति नसप्रेसम्म बजार उकालो लाग्दैन ।



No comments:

Post a Comment

thanks for comment