शाखा विस्तार गर्न आवेदन



काठमाडौं मंसिर ७ 
- मौदि्रक नीतिमा शाखा विस्तार गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरिएपछि आधा दर्जन बैंकले आवेदन दिएका छन् ।
मेगा एभरेस्ट जनता कुमारी लक्ष्मीलगायत आधा दर्जन बैंकले शाखा खोल्नका लागि आवेदन दिएका हुन ।
राष्ट्र बैंकका अनुसार शाखा विस्तार गर्न केन्द्रीय बैंकसँग स्वीकृति लिनुपर्ने व्यवस्थापछि बैंकहरु पहिलेजस्तो आकर्षित हुन छाडेका छन् । 'स्वीकृति लिनु पर्ने व्यवस्थाले आकर्षण घटेजस्तो देखिएको छ,' राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने, 'कारोबार विस्तारका लागि शाखा खोल्नै पर्ने भएकाले ढिलोचाँडो स्वीकृतिका लागि आउँछन् ।'

शाखा विस्तारमा पुरानाभन्दा नयाँ बैंक अगाडि देखिएका छन् । मेगा बैंकले १२ वटा शाखा खोल्ने स्वीकृति पाएको छ । बैंकले राजधानीमा तीन र बाँकी बाहिर शाखा खोल्नका लागि स्वीकृति पाएको हो । जनता बैंकले तीन शाखा खोल्ने अनुमति पाएको छ । एभरेस्ट बैंकले एक वटाको स्वीकृति पाएको छ ।
मौदि्रक नीतिअघि बैंक तथा वित्तीय कम्पनीले शाखा विस्तार गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्दैन थियो । आफैले शाखा खोल्ने स्थानको सम्भाव्यता अध्ययन गरी मोफसलमा एउटा खोलेपछि राजधानीमा अर्को शाखा खोल्न पाउँथे ।
'एकै ठाउँमा बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेपछि राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो,' ती अधिकारीले भने, 'अबदेखि केन्द्रीय बैंकले सम्भाव्यता अध्ययन गर्ने भएकाले शाखा गाउँसम्म पुग्छ ।'
बैंक तथा वित्ती कम्पनीले राजधानीमा शाखा खोल्नुअघि दुर्गममा एक र अन्यत्र एक गरी मोफसलमा दुई शाखा खोलेको हुनु पर्ने मौदि्रक नीतिमा छ । केन्द्रीय बैंकले मोफसलमा शाखा विस्तारका लागि प्रोत्साहित गर्न आर्थिक सहयोग नै गर्ने भएको छ ।
सरकारले तोकेको २२ दुर्गम जिल्लाका सदरमुकाम वाहिर शाखा खोल्ने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट एक करोड रुपैयाँ ऋण पाउने व्यवस्था मौदि्रक नीतिले गरेको छ । तीन वर्षसम्मका लागि पाइने यो कर्जामा ब्याज लाग्दैन । मोफसलको सदरमुकामभित्र नै शाखा खोल्नेले पनि ५० लाख रुपैयाँ ऋण पाउने छन् ।
'अधिकांश बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तअघि नै शाखा खोल्ने जानकारी गराएकाले उनीहरुले स्वीकृति लिइरहनु नपर्ने हुँदा नआएका हुन्,' राष्ट्र बैंक अधिकारीले भने, 'जानकारी गराएको शाखा खोलेपछि उनीहरु पनि विस्तारै थप शाखाका लागि स्वीकृति लिन आउँछन् ।' उनले नयाँ आएका बैंकको शाखा एकदमै न्युन भएकाले उनीहरु तत्काल स्वीकृति लिन आएको बताउँदै पुरानाले पनि शाखा विस्तारका लागि आवेदन दिएको बताए ।
शाखा विस्तार गर्ने स्वीकृति पाएपछि बैंक तथा वित्तीय संस्थाले बढीमा ६ महिनाभित्र शाखा खोलिसक्नु पर्छ । राष्ट्र बैंकले पनि शाखा विस्तारको स्वीकृति माग्न आउने बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण कागजात पुरा गरेर आउँदा सात दिनभित्र स्वीकृति दिन्छ ।

No comments:

Post a Comment

thanks for comment