निर्माण व्यवसायीको भुक्तानी रोकियो


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक २७
बजेट अभावले बैंकहरुबाट सापटी लिएर सरकारी काम गरेका निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । भुक्तानी नपाएपछि यसको प्रभाव बैंकहरुमा पनि परेको छ ।
'तीन महिनादेखि सरकारी भुक्तानी रोकिएको छ,' नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शरद गौचनले नागरिकसँग भने, 'यसले काम गर्न गाह्रो भएको छ ।' उनले सरकारले भुक्तानी नगरेकाले विकास निर्माणका कामहरुसमेत रोकिएको जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट नआएकाले यो वर्ष नयाँ विकासका कार्यक्रम साचालनमा छैनन् । तर अघिल्लो वर्षदेखि साचालनमा भएका बहुवर्षीय विकास आयोजनाहरुको भने यो वर्ष पनि काम भइरहेको छ । अहिले यस्तै आयोजनामा भएको खर्चको सरकारले भुक्तानी दिन नसकेको हो ।
'अघिल्ला वर्षदेखि काम भइरहेका आयोजनाको यो वर्ष विल बनेको छ । तर सरकारले भुक्तानी दिन सकेको छैन,' गौचनले भने, 'अधिकांस व्यवसायीले बैंकबाट कर्जा लिएर काम गरिरहेका छन् । समयमा भुक्तानी नहुँदा सबैलाई समस्या परेको छ ।'

बैंक अधिकारीहरुले पनि कर्जा लिएका ठेकेदारहरुले समयमा रकम तिर्न नसकेको बताएका छन् । बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले बैंकसँग कर्जा लिएर सरकारी ठेक्काको काम गर्ने व्यवसायीले रकम तिर्न नसकेको बताए ।

'सरकारको काम गर्ने ठेकेदारहरुले पैसा नपाएकाले बैंकको सावा व्याज तिर्न सकेका छैनन् । यसले तत्काललाई तरलता अभाव गर्न सहयोग गर्नेछ ।' भण्डारीले व्याज नआउने कर्जा बढ्दा बैंकहरुको नाफामा असर पर्ने बताए ।
बैंकरका अनुसार दसै-तिहारमा बैंकहरुबाट बाहिरिएको निक्षेप फिर्ता आइसकेको छैन । 'बाहिरिएको पैसा नआउने र ठेकेदारहरुले पनि भुक्तानी दिन नसक्ने वातावरण लामो समयसम्म रहे अर्थतन्त्रमा संकुचन आउनेछ,' बैंकस्र संघका अध्यक्ष शसिन जोशीले नागरिकसँग भने, 'यसले निर्माण तथा अन्य क्षेत्रमा गएको ठूलो कर्जा नउठ्ने जोखिम रहन्छ । बैंकिङ क्षेत्रले यो जोखिम धान्न सक्दैन ।'
उनले बजेट पनि नआउने र तिहारपछिको एक महिनाभित्र १५ देखि २० अर्ब रुपैयाँ निक्षेप बैंकिङ क्षेत्रमा नफर्के बैंकहरुलाई लगानीमा समस्या पर्ने जानकारी दिए । दसैं-तिहारमा सर्वसाधारणले करिव २२ अर्ब रुपैयाँ बैंकहरुबाट झिकेका छन् । यत्रो रकम बाहिरिएकाले बैंकिङ क्षेत्रमा तरलता घटेको छ । बैंकरहरुका अनुसार गत असारमसान्तमा ६ खर्ब ३१ अर्ब पुगेको निक्षेप अहिले १३ अर्बले घटीसकेको छ ।
दसैं तिहारमा बैंकहरुले आपसमा लिने सापटीको अन्तर बैंक ब्याज दर पुनः उकालो लागेको छ । तिहारअघि ११ प्रतिशतबाट साढे आठ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले पुनः १० प्रतिशतमा उक्लिएको छ । डेढ महिनाअघि यस्तो ब्याज दर ३ प्रतिशतको हाराहारीमा थियो ।

गत वर्षभरी निक्षेपको समस्या भोगेका वाणिज्य बैंकहरुमा जेठ अन्तिम सातादेखि साउन दोस्रो सातासम्म करिव ४० अर्ब रुपैयाँ निक्षेप बढेको थियो ।
गत बर्ष पनि दसैमा वाहिरिएको निक्षेप नफर्किदा बैंकिङ क्षेत्रमा तरलता अभाव भएको थियो । तरलता अभाव हुँदा केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले साढे २२ अर्ब रुपैयाँ रिपोमार्फत लगेका थिए । उनीहरुले स्थायी तरलता सुविधसमेत प्रयोग गरेका थिए ।
गत वर्ष तरलता अभाव हुँदा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकेका थिएनन् । उनीहरुले कर्जालाई निरुत्साहित गर्न ब्याज दर ६ प्रतिशत बिन्दुसम्मले बढाएका थिए । साथै निक्षेप आकर्षित गर्न ब्याज दर बढाउने होडबाजी चलेको थियो ।

No comments:

Post a Comment

thanks for comment