नेपाल बैंकको सिइओ नियुक्ति जिम्मा व्यवस्थापनलाई


नागरिक संवाददाता
काठमाडौं कात्तिक ३०
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ चाँडै नियुक्त हुने बताएका छन् । उनले प्रमुख कार्यकारी नियुक्तिको जिम्मा बैंक व्यवस्थापनलाई सुम्पिएको जानकारी दिए ।

'राष्ट्र बैंकले सधैं नेपाल बैंक चलाउन सक्दैन र चलाउनु पनि हुँदैन,' नेपाल बैंकको ७४औं वार्षिकोत्सव ार्यक्रममा मंगलबार उनले भने, 'नियुक्तिको जिम्मा व्यवस्थापनलाई दिइसकिएको छ तर यसका लागि केही प्रकि्रया पुरा गर्नुपर्ने भएकाले समय लाग्छ ।' केही समयअघि नेपाल बैंकका प्रमुख कार्यकारी विनोद आत्रेयलाई हाजिर गर्न नदिइ कर्मचारी संगठनहरुले फिर्ता गरिदिएको प्रसंग जोड्दै गभर्नर खतिवडाले प्रमुख कार्यकारीलाई बिदा गर्दै जाने हो भने नेपाल बैंकमा कोही पनि नआउने दाबी गरे । 'प्रमुख कार्यकारी नियुक्त गर्न गाह्रो छ,' उनले भने, 'बिदा गरेजस्तो सजिलो हुँदैन ।'
 
उनले विदेशीलाई व्यवस्थापन जिम्मा दिँदा बैंक बिगि्रएको भन्ने चर्चालाई प्रतिरक्षा गर्दै भने, 'केही कुरा बिगि्रएका होलान् तर केही कुरा सपि्रएका पनि छन् ।' उनले विदेशीलाई बैंक दिँदा खराब कर्जा अनुपात ६० प्रतिशतबाट घटेर ८ प्रतिशतको हाराहारीमा आएको उदाहरण दिए ।
गभर्नरले नेपाल बैंकमा लगानी गर्न केही संस्थाहरु आएको जानकारी दिए । 'मैले अहिले सबै कुरा भन्न सक्दिन तर नेपाल बैंकमा लगानी गर्न केही संस्था आएका छन्,' उनले भने, 'राम्रो लेखा परीक्षण भएर कम्पनीको वास्तविक अवस्था आएपछि लगानी गर्छौं भनिरहेका छन् ।'
कर्मचारीहरुले बैंकमा सरकारी हस्तक्षेप भएको कुरा उठाएपछि गभर्नर खतिवडाले त्यसको प्रतिरक्षा गर्दै भने 'पुँजी हाल्नेले अधिकार खोज्ने विश्वव्यापी सिद्धान्तअनुसार सरकारले हस्तक्षेप गर्न स्वभाविक हो ।' उनले पुँजी एउटाले हाल्ने र व्यवस्थापन अर्कोले गर्ने भन्ने अमिल्दो कुरा भएको भन्दै यसका लागि पनि छलफल गर्नु परे आफू तयार रहेको बताए ।
खतिवडाले नेपाल बैंकको कर्मचारीको खर्च अधिक भएको भन्दै बैंकलाई अटोमेसनमा लगेर कर्मचारी संख्या घटाउनु पर्ने बताए । 'अरु बैंकमा कर्मचारी खर्च ६ प्रतिशत छ र नेपाल बैंकमा १० गुणा बढी ६० प्रतिशत छ,' उनले भने, 'यो घटाउन अटोमेसनमा जानुपर्छ ।'  बैंकमा हाल २ हजार ८ सय ८८ जना कर्मचारी छन् ।
बैंक व्यवस्थापन समुह संयोजक महेश्वरलाल श्रेष्ठले चालु आर्थिक वर्षको पहिलो तीन महिना असोज मसान्तसम्म मा बैंकले १८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको जानकारी दिए । उनले बैंकले यो अवधिमा ४० अर्ब ८९ करोड निक्षेप संकलन गरी २५ अर्ब ३८ करोड कर्जा लगानी गरेको बताए ।
श्रेष्ठले साचालनमा रहेका १ सय १० शाखामध्ये ८१ वटा पूर्णरुपमा कम्प्युटराइज्ड गरिसकेको जानकारी दिँदै सबै शाखा आधुनिकीकरण गरिने बताए । अहिले बैंकले एटिएम एसएमएस तथा इन्टरनेट बैंकिङ रेमिट्यान्सजस्ता सेवासमेत उपलब्ध गराउँदै आएको छ ।
वार्षिकोत्सव कार्यक्रममा बैंकमा २० र २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक दिइएको थियो ।

No comments:

Post a Comment

thanks for comment