लिलामीमा राखेका घरजग्गा धितो बिक्री भएन

सुदर्शन सापकोटा
काठमाडौं, साउन २६ - 
बैंक तथा वित्तिय संस्थाले कर्जा असुली नभए पछि लिलामीमा राखेका अधिकांस धितो (घरजग्गा) बिक्रि हुन सकेको छैन। बैंकबाट कर्जा लिदा अधिकांस व्यवसायी र सर्वसाधारणले घरजग्गा धितो राखेका छन्। अहिले घरजग्गाको कारोबार घटेकाले धितो बिक्रि हुन नसकेको हो।
 लिलामीमा राखेको घरजग्गाको मुल्य बजार भाउभन्दा कम नहुने र चाँडै बढ्ने संभावना पनि नभएकाले धितो सकार्न कसैले चासो नदेखाएको बैंकरहरु बताउँछन्। बिग्रदो आर्थिक अवस्था, सम्पतिको स्रोत देखाउनु पर्ने व्यवस्थाका कारण पनि लिलाममा राखिएको सम्पति बिक्री हुन छाडेको हो।
'विग्रदो आर्थिक अवस्थाले धितो बिक्री हुन छाडेको छ,' सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्कीले बुधबार नागरिकसँग भने, 'अहिले मान्छेको आम्दानीको स्रोत घटेर खरीद गर्ने क्षमतामा पनि ह्रास आएको छ।' सम्पति धितो राखेर ऋण लिएकाले पैसा तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्ने ३५ दिने सुचना जारी गर्छन्। यो अवधिमा पनि कर्जा तिर्न नआए धितो लिलामीमा पठाइन्छ।
बैंकरहरुका अनुसार अहिले धितोका रुपमा राखिएको घरजग्गा बिक्री भएको छैन। धितो बिक्रीमा समस्या आएको अधिकांस बैंकरहरुले बताए पनि उनीहरुले आफ्नो बैंकको धितो बिक्री भए नभएको भने औपचारिक रुपमा भन्न चाँहदैनन्। धितो बिक्री नभएको जानकारी दिए लिलामीमा राखेको अर्को धितो बिक्रीमा पनि समस्या पर्ने उनीहरुको भनाई छ।
'आर्थिक क्रियाकलाप नभएका बेला लिलाममा राखिएका सम्पति बिक्री नहुनु स्वभाविक हो,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने।
लिलाममा विक्री नभए यस्तो धितो अन्तिममा बैंक आफैले सकार्नु पर्छ। सकारेको सम्पति कम्पनीको वासलातमा गैरबैंकिङ सम्पतिका रुपमा देखिन्छ। बैंक तथा वित्तीय संस्थाले सम्पति आफ्नो नाममा आए पछि आवश्यक ठानेमा विक्री गर्न सक्छन्।
'जग्गाको कारोबार लगभग ठप्प छ,' गोर्खा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार भट्टराईले भने, 'अर्थतन्त्रमा पनि मन्दी आएकाले लगानीकर्ताको उत्साह घटेको हुनसक्छ।' राष्ट्र बैंकले गत चैतमा गोर्खालाई समस्याग्रस्त घोषणा गरेपछि कर्जा उठाउन यसले धमाधम लिलामी सुचना निकाली रहेको छ।
बैंकरका अनुसार, केही समयअघि लिलामी सम्पति खरीदका लागि बैंकहरुले कर्जा उपलब्ध गराउँथे। अहिले बैंकले पैसा दिन छाडेको तथा सम्पति खरीदको स्रोत देखाउनु पर्ने भए पछि किन्नका लागि कमै चासो दिन छाडिएको हो। 'कर्जा उपलब्ध हुन छाडेको तथा आम्दानीको स्रोत घटेको छ,' कार्कीले भने, 'राजनीतिक र आर्थिक कारणले लगानीकर्तालाई निरुत्साहित बनाएको छ।'
एक बैंकरका अनुसार, लिलामी सम्पति खरीद गर्दा औपचारिक रुपमै बाहिर देखिन्छ। अनपेक्षित रुपमा सम्पति खरीद गर्दा पैसा कहाँ र कसरी आयो भनेर देखाउनु पर्ने हुन्छ। 'अहिलेको अवस्थामा पैसा हुनेहरुले यसरी खरिद गर्न जोखिम नलिएको हो,' ती बैंकरले भने, 'सवैतिर सुस्तता छाएका बेला लिलामीको सम्पतिमा पनि छाएको छ।'
अन्य मूलुकमा भने लिलामीमा सम्पति विक्री नभएको अवस्थामा सम्पति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) ले त्यसको भर्पाइ गरिदिन्छ। नेपालमा यस्तो कम्पनी स्थापनाको छलफल मात्र सुरु भएको छ। 'विक्री नभएको सम्पतिलाई व्यवस्थापन गरिदिन यस्तो कम्पनी आवश्यक छ,' कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तले नागरिकसँग भने, 'घरजग्गा कारोबार ठप्प भएका बेला भविस्यमा यस्ता सम्पति विक्री नहुने सम्भावना थप बढेर गएको छ।' व्यवस्थापन कम्पनीले आवश्यक पर्ने पैसा तत्काल उपलब्ध गराएर बैंक तथा वित्तीय संस्थाको जोखिम न्युनीकरण गर्ने काम गर्छ। उसले यस्ता सम्पतिहरुलाई थप मूल्य सृजना गरिदिएर प्रयोगमा ल्याउँछ।

No comments:

Post a Comment

thanks for comment