होम लोन- लक्ष्य मध्यमवर्ग

काठमाडौं¬ भदौ ६
सिनामंगलका अर्जुन क्षेत्रीले तीन महिनाअघि मात्रै ८० लाखको घर किने । मोटर साइकल ग्यारेज चलाइरहेका उनले घर बनाउन ३० लाख रुपैयाँमात्रै जम्मा गरेका थिए । बाँकी ५० लाख रुपैयाँ एसबिआई बैंकबाट कर्जा लिएर उनले घर किनेका हुन् ।
मध्यम वर्गीय परिवारलाई लक्ष्य गर्दै बैंक तथा वित्तीय संस्थाले घरजग्गा तथा हाउजिङ कर्जामा लगानी योजना ल्याएकाले घर बनाउने उनको सपना पूरा भएको हो । एक वर्षअघि पनि उनले घरजग्गा कर्जाका लागि तीनवटा बैंकसँग आवेदन गरेका थिए । तर रियलस्टेट कर्जा घटाउनुपर्ने राष्ट्र बैंकको निर्देशनका कारण अर्जुनले कर्जा पाएका थिएनन् । यो वर्ष भने ६० लाखसम्मको घरजग्गा कर्जा रियलस्टेट बाहिर राख्ने व्यवस्थाले उनी र उनीजस्ता मध्यम वर्गीयलाई सजिलो भएको हो । असारको अन्तिम साता राष्ट्र बैंकले ६० लाखको सीमालाई ८० लाख पुर् याएको छ ।
८० लाखभन्दा कमको घरजग्गा कर्जालाई रियलस्टेट बाहिर राखिएपछि बैंकहरुले मध्यम वर्गीयलाई लक्ष्य गरेर कर्जा योजना तयार पार्न थालेका हुन् । राष्ट्र बैंकले घरजग्गा कर्जामा खुकुलो नीति लिएपछि डेढ वर्षदेखि घर बनाउन ऋण नपाएका मध्यम वर्गलाई बाटो खुलेको छ ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले यसबाट सर्वसाधारणलाई ऋण काढेरै डेढ करोड रुपैयाँसम्मको घरजग्गा खरिदका लागि समस्या नभएको बताउँछन् । 'आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ,' उनले भने ।
रियलस्टेट र आवासीय घरकर्जा दुवैलाई समान आँखाले हेरिँदा सामान्य आम्दानी भएका निम्न मध्यम र मध्यम वर्गीय परिवारलाई घरजग्गा कर्जा पाउन असजिलो थियो । बैंकहरुले कुल कर्जाको २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण कर्जा कसैले पनि दिँदैन्थे । जसले गर्दा गएको वर्षदेखि यो क्षेत्रमा कर्जा प्रवाह ठप्प भएको थियो । व्यक्तिगत प्रयोजनका लागि अपार्टमेन्ट किन्नेहरु ह्वात्तै घटेका थिए । ठुल्ठूला रियलस्टेट आयोजनाले खरिदकर्ता नपाउने स्थिति आएपछि काम बीचमै रोक्नुपरेको थियो ।
नयाँ नीति आएपछि आवासीय घरजग्गा कर्जा प्रवाह बढेको छ । आर्थिक वर्ष २०६७/६८ मा कुल ८२ अर्ब ६८ करोड रुपैयाँ घरजग्गा कर्जामध्ये ३८ अर्ब ८८ करोड रियलस्टेट र बाँकी ४३ अर्ब ६९ करोड घर तथा हाउजिङमा प्रवाह भएको छ । तर यसअघिको वर्षमा ६३ अर्ब २६ करोड रियलस्टेट र बाँकी ३५ अर्ब ३५ करोड घर तथा हाउजिङमा लगानी भएको थियो । यसले पनि मध्यम वर्गीय परिवारको मागका कारण घर र हाउजिङ कर्जा प्रवाह बढेको पुष्टि हुन्छ ।
बैंकरका अनुसार बैंकबाट ८० लाखको घरजग्गा कर्जा लिन उसको मासिक आम्दानी एक लाख ५० हजारको हाराहारीमा हुनुपर्छ । जति कम कर्जा लियो आम्दानीको स्रोत पनि कम भए हुन्छ ।
'व्यक्तिगत प्रयोजनका लागि घर बनाउने वा अपार्टमेन्ट किन्न चाहनेहरुले अबदेखि ८० लाख रुपैयाँसम्म ऋण प्रयोग गरेर एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सक्नेछन्,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने । सामान्यता बैंकबाट ८० लाख ऋण लिनलाई कम्तीमा ५० लाख आफैंले लगानी गरेको हुनुपर्छ ।
ठूलो स्तरको लगानी भइसकेको रियलस्टेट व्यवसाय ठप्प भई समग्र अर्थतन्त्रमै नकारात्मक असर पर्न थालिसकेको संकेत देखिएको थियो । तर घरजग्गा कर्जाको सीमा बढाइएपछि समस्या केही मत्थर भएको छ । तर तरलता अभावका कारण घरजग्गा कर्जाको ब्याज महँगो भएकाले कारोबार अनुमान गरिएअनुसार भने भएको छैन ।
'ब्याज दर नघटेकाले कर्जाको माग त्यति हुन सकेको छैन,' बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले भने, 'ब्याज दर तल आएपछि माग बढ्छ ।' उनका अनुसार बैंकका लागि अहिले कर्जा दिन त्यति समस्या छैन । केहीअघि तरलता अभावका कारणले बैंकले कर्जा दिन छाडेको थिए ।
'तरलता अभावले अहिले धेरै बैंकले महँगो ब्याजमा निक्षेप लिइरहेका छन्,' उनले भने, 'निक्षेप महँगो भएपछि कर्जा पनि महँगो हुन्छ । यसले ग्राहकहरु स्वाभाविक रुपमा हच्किन्छन् ।' बैंकरका अनुसार घरजग्गा कर्जाको ब्याजलाई संबोधन गर्न पुनर्कर्जा उपलब्ध गराउनुपर्ने बताउँछन् । 'घरजग्गा कर्जा उत्पादनमूलक क्षेत्र नै भएकाले यसको ब्याज घटाउन राष्ट्र बैंकबाटै पहल हुनु आवश्यक छ,' उनले भने, 'यसका लागि अन्य उत्पादनमूलक क्षेत्रलाई सात प्रतिशत ब्याजमा दिँइदै आएको पुनर्कर्जा उपलब्ध गराउनुपर्छ ।' राष्ट्र बैंकले सात प्रतिशतमा उपलब्ध गराएको पैसा बैंकले बढीमा १० प्रतिशतसम्म लगाउन पाउँछन् ।
उनले घरजग्गा कर्जा सस्तोमा पाउन थालेपछि यसको कारोबारमा वृद्धि भएर बैंकिङ तरलतामा समेत वृद्धि हुने बताए । 'रियलस्टेटलाई संबोधन गरेर सफल अवतरण गराउने हो भने पुनर्कर्जाको विकल्प छैन,' पौडेलले भने, 'तरलता अभाव समाधान भएपछि अन्य आर्थिक कि्रयाकलाप पनि बढ्ने छ ।'
बैंकहरुले घरजग्गा कर्जा खरिद गर्न दिने कर्जामा साढे १६ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । विकास बैंक र फाइनान्स कम्पनीको ब्याज दर २० प्रतिशतसम्म छ ।

No comments:

Post a Comment

thanks for comment