विजिनेस डेभलपमेन्ट र रिलायवल फाइनान्स मर्ज हुने


मर्जरका लागि दुवै कम्पनीबाट समिति गठन
मर्जरपछि राष्ट्रियस्तरको विकास बैंक बन्ने
पुँजी ९० करोड पुग्ने



काठमाडौं साउन १६
पोखराको विजिनेस डेभलपमेन्ट बैंक र काठमाडौंको रिलायवल फाइनान्स आपसमा गाभिने मर्ज हुने भएको छ । यसका लागि दुवै संस्थाले मर्जर समिति बनाएर गत साताबाट प्रकृया सुरु गरेका छन् ।
'मर्जरका लागि समिति बनाएर काम सुरुभएको छ,' रिलायवल फाइनान्सका कम्पनी सचिव तथा वरिवष्ठ प्रबन्धक दिपेसवावु तिवारीले सोमबार नागरिकसँग भने, 'मर्जर टोलीले अन्य कम्पनीसँग पनि कुराकानी गरिरहेको छ ।' मर्जरपछि नयाँ कम्पनीको पुँजी ९० करोड रुपैयाँ पुग्ने छ ।
क्षेत्रीयस्तरको विजिनेस डेभलपमेन्ट बैंकले पोखरामा केन्द्रित भएर तीन जिल्लामा कार्यक्षेत्र बनाएको छ । रिलायवल फाइनान्सले काठमाडौंमा केन्द्रित भएर चितवन र लमजुङमा सेवा विस्तार गरेको छ । विजिनेसको कार्यक्षेत्र थोरै भएपनि राष्ट्रियस्तरको विकास बैंकका लागि आवश्यक पर्नेभन्दा वढी चुक्ता पुँजी छ । 
६४ करोड पुँजी भए पुग्नेमा बैंकसँग ६९ करोड रुपैयाँ छ । रिलायवल फाइनान्सको पुँजी २० करोड रुपैयाँभन्दा माथि छ ।
केही संस्थापक सेयरधनी दुवै संस्थामा भएकाले मर्जर गरेर अगाडि वढ्न वल पुगेको हो । मर्जर निर्देशिका ल्याइसकेपछि राष्ट्र बैंकले पनि एकै प्रकृतिका सेयरधनी भएको संस्थाको अध्ययन गरेर मर्जरका लागि आग्रह गरिरहेको छ । 'दुवै संस्थाका अधिकांस सेयरधनी एकै भएकाले मर्जरमा गएर वलियो संस्था हुन आग्रह गरेका थियौं,' राष्ट्र बैंक स्रोतले भन्यो, 'सकारात्मक रुपमा मर्जरका लागि छलफल अगाडि वढिरहेको छ ।'

कम्पनी स्रोतका अनुसार नेपाल जग्गा तथा आवास विकास संघका कोषाध्यक्ष कालु गुरुङ दुवै संस्थामा सेयरधनी रहेकाले उनको कारणबाट मर्जर छलफल अगाडि वढेको हो । गुरुङ विजिनेस डेभलपमेन्ट बैंकमा साचालक नै छन् । 'एकै समुह दुवै संस्थामा भएकाले मर्जरमा समस्या छैन,' विजिनेस डेभलपमेन्टका एक साचालकले भने, 'चाँडै साधारणसभा सकेर दसैंसम्म मर्जर गर्ने योजना छ ।' उनले मर्जरका लागि अन्य केही वित्तीय संस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिए । मर्जरपछि बैंकको मुख्य कार्यालय काठमाडौंमा रहने छ । अहिले भएका मूख्य कार्यालयलाई शाखाका रुपमा साचालन गरिने छ ।

उनका अनुसार दुवै संस्था मिलेर वलियो रुपमा आउन लागकाले कर्मचारी मिलानमा समस्या हुँदैन । 'संस्था वलियो बनाउनु पर्छ भन्नेमा सवै छन्,' उनले भने, 'पद र स्थानको कुराले मर्जरमा समस्या पार्दैन ।'
पछिल्लो वित्तीय विवरण अनुसार विजिनेस डेभलपमेन्ट बैंकको जगेडा कोषमा ८ करोड ७९ लाख रुपैयाँ छ । बैंकले १ अर्ब ७३ करोड निक्षेप संकलन र १ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात ४० प्रतिशत खराव कर्जा ०.१३ प्रतिशत र कर्जा-निक्षेप अनुपात ६६ प्रतिशत छ ।

रिलायवल फाइनान्सको जगेडा कोषमा ६ करोड ३० लाख रुपैयाँ छ । कम्पनीले १ अर्ब ८३ करोड निक्षेप संकलन र १ अर्ब ६१ करोड कर्जा लगानी गरेको छ । उसको पुँजी पर्याप्तता अनुपात १५ प्रतिशत खराब कर्जा अनुपात १।६४ प्रतिशत र कर्जा-निक्षेप अनुपात ७७ प्रतिशत छ ।

'दुवै संस्थाको वित्तीय अवस्था राम्रो छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'राष्ट्रिय स्तरमा सेवा विस्तार गरेर वलियो रुपमा आउनका लागि मर्जरमा जान लागेका हुन् ।' उनका अनुसार राष्ट्र बैंकको स्थलगत अध्ययनमा पनि दुवै संस्थामा कुनै समस्या देखिएको छैन ।

राष्ट्र बैंकले मर्जर निर्देशिका ल्याएपछि बैंक तथा वित्तीय संस्था मर्जरका लागि अन्य संस्थाल पनि पहल थालिसकेका छन् । मर्जरका लागि एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक तथा भिवोर विकास बैंक र भाजुरत्न फाइनान्सले औपचारिक सम्झौता नै गरिसकेका छन् ।

No comments:

Post a Comment

thanks for comment