रियलस्टेट कर्जा १६ अर्ब घट्यो

सिमेन्ट चिनी गाडी तथा खाद्य उत्पादन उद्योगमा लगानी वढ्यो

सुदर्शन सापकोटा
काठमाडौं साउन २२
वाणिज्य बैंकहरुले रियलस्टेट तथा हाउजिङमा गरेको लगानी घटाएका छन् । बैंकहरुले एक वर्षको अवधिमा लगानी १६ अर्ब ४ करोड रुपैयाँले घटाएका हुन् । बैंकहरुले कर्जा ८२ अर्ब ६८ करोड रुपैयाँमा झारेका हुन् । अघिल्लो वर्ष ९८ अर्ब ७२ करोड रुपैयाँ घरजग्गा तथा रियलस्टेटमा थियो ।

राष्ट्र बैंकले ८० लाख रुपैयाँभन्दा कमको घरजग्गा कर्जालाई रियलस्टेटमा गणना नगर्ने घरजग्गा कर्जालाई २५ प्रतिशतमा झार्नु पर्ने र कर्जा-निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झार्नु पर्ने वाध्यताले घरजग्गातर्फको कर्जा घटेको हो ।

'८० प्रतिशतभन्दा तलको कर्जालाई रियलस्टेटमा गणना नगर्ने वित्तिकै ठूलो रकम यसबाट हटेको छ,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले आइतबार नागरिकसँग भने, 'कर्जा-निक्षेप अनुपात कायम गर्नु पर्नेजस्ता कारणले सामान्य असर गरेको हो ।' घरजग्गामा कुल लगानीको एक चौथाइसम्म कर्जा गएपछि बैंकहरुलाई घटाउन दवाव परेको थियो । घरजग्गामा मूख्य लगानी भएको एक बैंकका प्रमुख कार्यकारीले गत वर्षको पहिलो तीन महिनादेखि सानो सानो स्केलमा घरजग्गा कर्जा फिर्ता हुन थालेको दावी गरे । उनले ठूलो-ठूलो रकम मात्रै फसेको जानकारी दिए ।

राष्ट्र बैंक तथा सरकारका नीतिका कारण घरजग्गा कर्जा ठप्प भएसँगै मूल्यस्थिर भएर कारोबार रोकिएको छ । यसले बैंकको पैसा फिर्ता नहुने भएकाले राष्ट्र बैंकले रियलस्टेको ुअप्राकृतिकु रुपमा घटाउन ८० लाखको कर्जा सीमा नीति लिएको हो । ८० लाखको सीमाले हाउजिङ तथा अपार्टमेन्ट र साना जग्गा खरीद विक्री भएर बैंकको कर्जा फिर्ता आउने राष्ट्र बैंकको अनुमान छ ।

आर्थिक वर्ष २०६६७÷६८ मा कुल ८२ अर्ब ६८ करोड रुपैयाँ घरजग्गा कर्जामध्ये ३८ अर्ब ८८ करोड रियलस्टेट र घर तथा हाउजिङमा ४३ अर्ब ६९ करोड लगानी भएको छ । अघिल्लो वर्ष ६३ अर्ब २६ करोड रियलस्टेमा र ३५ अर्ब ३५ करोड रुपैयाँ घर तथा हाउजिङमा लगानी भएको थियो ।

'वास्तविक रुपमा घरजग्गामा गएको कर्जा घटेको भन्ने होइन,' राणाले भने, 'पछिल्लो समयमा कसैले पनि रियलस्टेटमा लगानी गरेका छैनन् । सामान्य घटेजस्तो भएको मात्र हो ।' उनले रियलस्टेटमा गएको कर्जा तत्तकाल फिर्ता हुने अवस्था नरहेकाले ह्वात्तै नघट्ने दावी गरे ।

बैंकहरुले घरजग्गा कर्जा समान्य घटाएपनि यो वापतको रकम सिमेन्ट चिनी उद्योग खाद्य उत्पान उद्योग सवारी साधन र सुनचाँदीमा लगानी भएको छ । निक्षेपको तुलना कर्जा केही वढेकाले पनि उत्पादनमूलक तथा उपभोग्य क्षेत्रमा लगानी वढ्न सकेको हो । गत आर्थिक वर्ष बैंकहरुको कुल लगानी ५९ अर्ब रुपैयाँले वढेर ५ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ४ खर्ब ६२ अर्ब रुपैयाँ थियो । कुल निक्षेप संकलन ४२ अर्बले वढेर ६ खर्ब ७३ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष यो ६ खर्ब ३१ अर्ब रुपैयाँ थियो ।

निक्षेपको तुलनामा कुल कर्जा अनुपात वृद्धि भए पनि रियलस्टेटमा घटाएर बैंकहरुले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष सिमेन्टमा ५ अर्ब ४० करोड चिनी उद्योग २ अर्ब खाद्य उत्पादन उद्योग २ अर्ब ८० करोड सवारी साधन ३ अर्ब ५० करोड र सुनचाँदीमा ४ अर्ब ८५ करोड रुपैयाँ वढीले लगानी गरेका हुन् । गत वर्षसम्म सिमेन्ट उद्योगमा कुल लगानी १२ अर्ब चिनीमा ६ अर्ब ५० करोड खाद्य उत्पादन उद्योगमा २२ अर्ब ९० करोड सवारी साधनमा सात अर्ब ६० करोड र सुनचाँदीमा १५ अर्ब ५० करोड रुपैयाँ वाणिज्य बैंकको लगानी भएको छ ।




No comments:

Post a Comment

thanks for comment