दसैंमा नोट अभाव नहुने

काठमाडौं, साउन २२
पहिलेजस्तो दसैंमा नोट नपाइने हो कि भन्ने चिन्ता नलिए हुन्छ। राष्ट्र बैंकले मागेका बेला जुनसुकै बेला नोट दिने व्यवस्था मिलाएको छ। अघिल्लो वर्षको दसैंमा सर्वसाधारणले सहजै नोट नपाएकाले राष्ट्र बैंक पर्याप्त नोट उपलब्ध गराउन सचेत भएको हो।
'नोटका लागि कुनै समस्या हुँदैन,' राष्ट्र बैंक नोट विभागका अधिकारीले भने, 'दसैंका लागि पैसा दिनका लागि हामीले पर्याप्त मौज्दात राखेका छौं।' राष्ट्र बैंकले बजारमा उपलब्ध गराउने नोटमध्ये आधा नयाँ र आधा सुकिलो (एक पटक प्रयोग भएका) नोट हुने छ। यसका लागि नयाँ र पुरानो गरी करिब ३० अर्ब रुपैयाँ बजारमा पठाउने राष्ट्र बैंकको योजना छ। ती अधिकारीका अनुसार बजार पठाइने मध्ये ५ देखि १ सय रुपैयाँसम्मका नोटको हिस्सा वढी हुने छ।

'दसैंमा पठाइएका नयाँ नोट फिर्ता आउँदा अर्को पटक प्रयोग गर्न नमिल्ने खालको हुन्छ,' उनले भने, 'त्यही भएर सुकिला नोट बजारमा पठाउन लागिएको हो।' राष्ट्र बैंकले गत वर्षदेखि दसैंमा सुकिला नोटको प्रयोग गर्न थालेको हो। डेढ वर्षसम्म प्रयोग गर्न सकिने नोट ३ महिनामै काम नलाग्ने भएपछि मुलुकको खर्च बढ्ने गरेको छ। यस्तो खर्च बढ्न नदिन सुकिलो नोट प्रयोगमा ल्याइएको हो।

बजारमा जाने ३० अर्बमध्ये १५ अर्बका नयाँ नोट बजारमा आउने छन्। बाँकी एकपटक प्रयोगमा आइसकेका सुकिला नोट हुनेछन्। यद्यपी गत वर्षको दसैमा बजारमा गएको ४ अर्ब रुपैयाँ नोट पर्याप्त भएको थियो। यसपाली कर्मचारीको तलव वृद्धि भएकाले पैसाको माग वढ्ने राष्ट्र बैंकको अनुमान छ। 'कर्मचारीको तलव वृद्धि र महँगी वढेकाले यसपादी नोटको माग वढी हुन्छ,' ती अधिकारीले भने, 'हामीले ३० अर्ब रुपैयाँ नोट तयार पारेर राखे पनि ६ देखि १० अर्बसम्म प्रयोग होला।'

राष्ट्र बैंकले राजधानीमा मात्र नभइ देशभर नोटको कमी नहुने वातावरण मिलाउने भएको छ। राष्ट्र बैंकका देशभरका ७ क्षेत्रीय कार्यालयमार्फत मोफसलमा नोट उपलब्ध गराइने छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेको राष्ट्र बैंकको ६७ नोटकोषबाट पनि दसैंका लागि पैसा उपलब्ध गराइने छ। नोट कोषमा समेत रकम न्यूनतम तहमा आउन नदिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ।

अहिले बजारमा १ खर्ब ५८ अर्ब रुपैयाँ गएको छ। दसैंमा यो रकम बढछ्। दसैंमा राष्ट्र बैंकबाट गएका नयाँ नोट ३ महिनामा फिर्ता आउने गरेका छन्। यीमध्ये दसैंमा बजारमा गएका ८० प्रतिशत नोट पुन प्रयोग गर्न नमिल्ने गरी राष्ट्र बैंकमा फर्कने गरेका छन्।

अघिल्लो वर्ष पर्याप्त मागेजति नोट नपाएकाले सर्वसाधारणले बैंकमा पैसा राख्न छाडेका थिए। यही कारणले बैंकिङ क्षेत्रमा तरलता अभाव सुरु भएको थियो। आफूले बचत गरेर राखेको पैसा माग्दा नपाइएकाले बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास घटेको हो। नोटका कारणले बैंकिङ क्षेत्रलाई कुनै असर नपरोस भनेर राष्ट्र बैंकले दुई वर्षयत मागेजति नोट उपलब्ध गराउन थालेको छ।

No comments:

Post a Comment

thanks for comment