मोबाइल क्यासलाई विस्तार गर्छौं : राधेश पन्त

मोबाइल क्यासमा कुमारी बैंकले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ। यसबाट बैंकले समातेको बाटो सही रहेछ भन्ने पुष्टि भएको प्रमुख कार्यकारी अधिकृत राधेश पन्त बताउँछन्। ७० प्रतिशत जनसंख्या बैंकिङ सेवाबाट बञ्चित रहेको अवस्था र भौगोलिक अफ्ठ्यारोलाई सम्बोधन गर्ने मोबाइल क्यास उपयुक्त रणनीति भएको ठहर पन्तले गरेका छन्। नीतिगत परिमार्जन र सर्वसाधारणमा चेतना जगाएर मोबाइल क्यासलाई विस्तार गर्न सकिने उनको धारणा छ। यसै सन्दर्भमा पन्तसँग नागरिकका सुदर्शन सापकोटाले गरेको कुराकानी। 
राधेश पन्त
प्रमुख कार्यकारी अधिकृत
कुमारी बैंक
 नेपालमा इन्टरनेट बैंकिङ ल्याएको कुमारी बैंकले अहिले मोबाइल क्यास ल्याएको छ। प्रविधिमा आधारित बैंकिङमा तपाईहरुको रुचि किन बढेको?
जम्मा ३० प्रतिशत जनतामा मात्रै बैंकिङ पहुँच पुगेको छ। ७० प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच नपुगेको अवस्थामा हामीले कुमारी मोबाइल क्यास ल्याएका हौं। बैंकको शाखा खोलेर भौतिक रुपमा सबै ठाउँमा पुग्न सकिन्न। कुमारी मोबाइल क्यासबाट सबै क्षेत्रलाई समेट्न सकिन्छ। अहिले नेपालमा मोबाइल प्रयोग गर्ने ग्राहक धेरै छन्। अधिकाँशको हातमा मोबाइल पुगेको छ। हरेक वर्ष ४०/५० प्रतिशतले मोबाइल प्रयोगकर्ता बढीरहेका छन्। मोबाइलमार्फत बैंकिङ सेवा उपलब्ध हुने भएकाले यसले पहुँच नपुगेका ठाउँमा पनि सेवा दिन सकिन्छ। अर्थात बैंकिङ पहुँच पुग्छ। यसले मुलुकको विकासमा पनि योगदान पुर्‍याउँछ। हामीले नेपालमा सुरु गरेपनि यसको विस्तारका लागि अरुको पनि सहयोग र योगदान आवश्यक छ। मोबाइल क्यास नै अबको विकल्प हो।
तरलता अभाव भएका बेलामा हामीले ल्याएका हौं। यस्तो बेलामा मोबाइल क्यासको कारोबार गर्न सक्दा नोट चाहिँदैन। मोबाइल फोन प्रयोग गर्नेको संख्या बढेकाले अहिलेको अवस्थामा मोबाइलबाटै बैंकिङ सेवा दिन सकिन्छ भनेर हामीले ल्याएका हौं।

जुन रुपमा विस्तार हुनु पर्ने हो त्यो हुन सकेको छैन नि?
मोबाइल बैंकिङ आज ल्याएर भोलि नै यसको विस्तार हुने होइन। विस्तारै हुन्छ। अबको बैंकिङ भनेको मोबाइल नै हो। नीतिगत परिमार्जन, जनचेतना बढेपछि यसको पनि विस्तार हुने हो। अहिले ल्याएको यो सेवाले आगामी पाँच वर्षमा नतिजा दिन्छ। भौगोलिक अवस्था एउटै नभएकाले यो नेपालका लागि उपयुक्त छ। हिमाल, पहाड तराईमा यो सेवा आगामी पाँच वर्षमा धेरै विस्तार भइसक्ने छ। हामीले करिब ११ महिनाअघि ल्याएको मोबाइल क्यासको दर्तावाला ग्राहक नै १५ हजार पुगिसकेका छन्। ५ करोडभन्दा बढीको कारोबार भइसकेको छ। मोबाइल वालेटको विस्तार अरु मुलुकमा पनि विस्तारै भएको रहेछ। हामी विस्तारमा ढिला भयौं कि भन्ने थियो त्यो होइन रहेछ। तर निर्विकल्प रुपमा भविष्यका लागि यो आवश्यक सेवा हो। बैंकिङ भनको दीर्घकालिन व्यवसायहो। लामो अवधिको उद्देश्य लिएर बिजनेस गर्नुपर्छ। त्यसो हुँदा संस्था बलियो हुन्छ। मोबाइल वालेट पनि त्यही अवधारणा अनुसार चल्छ।
मोबाइल क्यासमा तपाईहरुले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु भयो। यो कस्तो पुरस्कार हो?
नेपालबाट हामीलगायत केही कम्पनी पनि पुरस्कारका लागि छनौट भएका थिए। हामीले वाणिज्य, व्यापार र बैंकिङको क्षेत्रमा पुरस्कार पायौं। पुरस्कारबाट हामीले राम्रो दिशा समातेका रहेछौं भन्ने लागेको छ। पुरस्कारले हाम्रो हौसला अझ बढाएको छ। हामी यसलाई प्रथमिकता दिएर अघि बढ्छौं। दक्षिण एसियाकै सर्वोत्कृष्ट पुरस्कार हो यो।
आगामी दिनमा यसलाई अझ परिस्कृत गरेर लैजान्छौं। चाँडै नै देवनागरिकमा जान्छौं। एकैचोटी धमाका मचाएर जाने योजना छैन। 'विस्तारै तर अवश्य' भन्ने योजना अनुसार जान्छौं। यसका लागि हामीले जनचेतना फैलाउन आवश्यक छ। जनचेतनाका लागि समय लाग्ने भएकाले विस्तार हुन पनि समय लाग्छ।

केही समयअघि कुमारी बैंकका लागि त्यति अनुकुल समय थिएन। अहिले कस्तो अवस्था छ?
कुमारी बैंक अहिले एकदमै राम्रेा अवस्थाम छ। जोखिमपूर्ण निक्षेप (कल) को अनुपात २० प्रतिशत झारेका छौं। बचत खाताको निक्षेप ४० प्रतिशत पुगेको छ। तरलता अनुपात २० प्रतिशत माथि छ। कर्जा-निक्षेप अनुपात ८१ प्रतिशतमा छ। पुँजी पर्याप्तता अनुपात १३ प्रतिशतमाथि छ। कर्जाको विविधिकरण गरेका छौं। साना तथा मझौला उद्योग, कर्पोरेट, खुद्रा र विपन्न वर्गमा गरेर कर्जाको अनुपात मिलाएका छौं। पछिल्लो समय हामी जग बलियो बनाउनतिर लागेका थियौं। जसले सिङगो घर बलियो हुन्छ। अहिले हामी एकदमै सहज अवस्थामा छौं।
बैंकिङ क्षेत्रमा अहिले चुनौती बढेका छन्। कसरी अगाडि बढ्ने योजना छ?
शाखा विस्तारमा हामी अहिले पर्ख र हेरको अवस्थामा छौं। साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्छौ। यो क्षेत्रमा सानोसानो आकारमा कर्जा जाने भएकाले जोखिम पनि कम छ। यसमा भविष्य पनि छ। कुमारी मोबाइल क्यासलाई अझ विस्तार गर्ने योजना छ। यसको विस्तारका लागि अरु साझेदारसँग मिलेर जान्छौं। सेयर लगानीकर्ताको मूल्य बढाउनतिर लाग्छौं। जसको लागि राम्रो प्रतिफल दिन्छौं। सामूहिक लगानी कोष स्थापनाको पनि योजना छ। साथै परियोजना फाइनान्सिङ पनि गर्छौ।
बैंकिङ क्षेत्रको अहिलेको चुनौती के रहेछ?
अहिले धेरै चुनौती छन्। संस्थाको संख्या धेरै भइसक्यो। त्यही अनुसारको क्षमता देखाउन दबाब बढेको छ। संस्थागत सुशासनमा समस्या देखिन थालेका छन्। राजनीतिक अस्थिरताका कारण आर्थिक विस्तार हुन सकेको छैन। यही समस्याले उत्पादनमूलक र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी नै भएको छैन भन्दा हुन्छ।
विगत केही वर्षदेखि रेमिट्यान्सले सर्वसाधारणको आय बढाएको छ। जसले गर्दा बैंकको निक्षेप पनि बढेको थियो। बैंकिङ क्षेत्र भनेको मध्यस्तकर्ता मात्रै हो। पैसा उठाएर पुँजी तयार पारिदिने काम गर्छ यसले। पछिल्लो केही समयदेखि लगानी वातावरण छैन। जसले गर्दा कर्जाको माग भएको छैन। केही वर्षअघि बैंकसँग प्रशस्त निक्षेप थियो। तर सुरक्षित लगानीको वातावरण थिएन। त्यही भएर पैसा उपभोक्ता कर्जा र रियलस्टेट हाउजिङमा गएको हो।
अहिलेको समस्याले बैंकिङ तथा वित्तीय क्षेत्रका लागि पाठ सिकाएको छ। जताततै लगानी गर्नु हुँदैन रहेछ भन्ने सबैले बु‰ने मौका पाए। जति पैसा आयो त्यति नै लगानी गर्नु हुन्न रहेछ भन्ने पाठ सिकाएको छ। तरलता व्यवस्थापन राम्रो ढंगबाट गर्नु पर्ने रहेछ भन्ने भएको छ। संस्थागत सुशासनको पाठ सिकाएको छ। कर्जा-निक्षेप अनुपात, तरलता अनुपातकै कुरामा सबै सजग भइसकेका छन्। सम्पतिको वृद्धि भन्दा पनि सशक्तीकरणमा लाग्नु पर्ने रहेछ भन्ने भएको छ। यो राम्रो पक्ष हो।
समस्या कहाँबाट सुरु भयो?
स्वयं कर घोषणा, १० लाखको निक्षेप तथा ३० लाखको गाडी र ५० लाखको घरजग्गा किन्दा स्रोत देखाउनु पर्ने कारणले तरलता अभाव भएको हो। यी व्यवस्था क्रमिक रुपमा आएको भए खासै फरक पर्दैन थियो। तर राजनीति अस्थिर भएकै बेला एकैचोटी यी व्यवस्था लागु भएकाले बैकबाट तरलता अभाव हुन गयो। रियलस्टेटमा पनि एकैचोटी ब्रेक लगाइदिनाले समस्या भयो। दुई चार वर्षअघि नै रियलस्टेटमा सम्बोधन भएको भए असर कम पर्ने थियो। जग्गाको भाउ एकदमै माथि गएर कर्जा सीमा तोकिदिँदा एकाएक कारोबार स्थिर भयो। कर्जा तिर्न सकेनन्। यसले समस्या निम्तायो।
समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ? कसले कस्तो भूमिका खेल्न सक्छ?
घरजग्गा कर्जालाई सम्बोधन गर्न कुनै एउटा निकायको नीतिले मात्रै पुग्दैन। यसलाई राजनीतिक रुपमा नै सम्बोधन गर्नु पर्छ। कारोबार नभएर बिक्री रोकिएकाले बैंकको कर्जा समस्यामा पर्न थालेको छ। सम्बोधन भएन भने यसको असर आगामी दिनमा अझ देखिने छ। सरकारमा जो भएपनि निश्चित नीति परिवर्तन हुँदैन भनेर विश्वास देखाउन सकिएमा समस्याको असर कम पर्छ। अहिलेको समस्याबाट बाहिर आउन कुनै एक निकायको हातमा छैन। सबैको सहयोग चाहिन्छ। सहमतिको सरकार बन्यो भने मात्रै पनि सर्वसाधारणको विश्वास फर्किएर समस्या मत्थर हुन्छ। अहिले सबै कुरा गएर राजनीतिमा अड्किएको छ।
अलिकति राम्रो वातावरण भइदियो भने मात्रै पनि लगानी गर्न सकिन्छ। निक्षेप भित्रिन्छ र कर्जाको माग बढ्छ। नेपालमा जुनसुकै क्षेत्रमा राम्रो गर्न सकिने अवस्था छ। गर्नका लागि धेरै ठाउँ खाली भएकाले लगानीमा समस्या हुन्न। समस्या छ भनेर सबै भन्ने तर समस्या हल गर्न तिर कोही नलाग्दा वातावरण बिग्रिएको हो।
नेपालमा पहिले लगानीका लागि राम्रो थियो। विभिन्न कारणले समस्या आएको होे। अहिले हामी बलियो अवस्था बस्यौं भने भोलि अवस्था सहज हुँदा लगानी विस्तारका लागि सजिलो हुन्छ। राम्रो वृद्धि हासिल गर्न सकिन्छ।
अहिलेकै अवस्थामा बैंकिङ क्षेत्रलाई कसरी सफल अवतरण गराउने?
यसका लागि बैंकहरुसँग दुई वटा विकल्प छन्। एउटा आफैलाई सशक्तिकरण गर्ने। यसका लागि पुँजी आवश्यक पर्न सक्छ। अर्को मर्जरमा जाने। मर्जर हुँदा कसैलाई घाटा हुँदैन। सबैलाई फाइदा नै हुने हो। तर मर्जर भनेको धेरै गाह्रो कुरा हो। जुन आजको भोलि नै हुँदैन। कम्पनीको मूल्य सिर्जनाका लागि पनि मर्जर आवश्यक छ।
कुमारी र एभरेष्ट बैंक मर्जरमा हुने कुरा कहाँ पुग्यो?
एभरेस्ट बैंकसँग कुरा भएको हो। तर सहमति नै भने भएको होइन। अन्य बैंकसँग कुराकानी भएको छैन। अहिले एभरेस्टसँग मात्र हो।

No comments:

Post a Comment

thanks for comment