स्वनियमनमा बस्नुस् : गभर्नर

काठमाडौं, भदौ १
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले वित्तीय क्षेत्रमा तरलता अभाव मात्र नभइ स्वनियमनमा नबसेकाले पनि समस्या आएको बताएका छन्। उनले बैंक वित्तीय संस्थाको हरेक गतिविधिमा राष्ट्र बैंकले नजर लगाउन सम्भव नहुने भन्दै स्वनियमनमा बस्नु पर्ने बताए।
 'स्वनियमनमा नवसेकाले समस्या आएको हो,' एमाले निकट कर्मचारी युनियनले गरेको कार्यक्रममा वोल्दै उनले भने, 'स्वनियमनमा वस्यो भने पनि समस्या आउँदैन।' गभर्नरले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको हरेक फाइल र हरेक ऋणीलाई नियाल्न नसक्ने बताए। उनले प्रचलित मापदण्ड अनुसार केही अध्ययन र निरिक्षण गर्नवाहेक राष्ट्र बैंकले कम्पनीको विस्तृत तथ्य हेर्न सम्भव नहुने बताएका हुन्। 'सबै बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण ऋणीहरुको फाइलको निरीक्षण गर्न सम्भव हुँदैन,' उनले भने, 'निरीक्षणका क्रममा नमूना फाइल मात्र अध्ययन गरी कैफियत लेखिने विश्वव्यापी मान्यता रहेको छ। हामीले पनि त्यही गर्ने हो।' उनले संस्थामा निहित जोखिम सञ्चालक र व्यवस्थापक बीच समन्वय गरी व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरूले पहल गर्नु पर्ने बताए।
गभर्नरले कतिपय समस्या शासकीय कमजोरीले हुने गरेको भन्दै यस्ता कमजोरी हरेक क्षेत्रमा हुने बताए। 'विश्वका अतिविकसित बैंकिङ क्षेत्रमा पनि यस्ता कमजोरी भएका छन् र हुन्छन्,' उनले भने, 'कमजोरीको मात्र कम वेसी मात्र हुने हो। नेपालमा पनि केही कमजोरी छन्।'

गभर्नर खतिवडाले तत्काललाई तरलता अभाव समस्या कम भएपनि यो क्षणिक भएको बताए। अहिले अन्तर बैंक व्याज दर १ प्रतिशतमा झरेको छ। उनले आर्थिक वर्षको अन्त्यमा वैदेशिक सहायता, रेमिट्यान्स आप्रवाह र सरकारी पुँजीगत खर्च वढेर तरलता सहज भएको बताए। गभर्नरले अहिलेको तरलतालाई हेरेर बैंकिङ क्षेत्रले निक्षेपको व्याज घटाउन नहुने बताए। गभर्नरले निक्षेपको व्याज भारतीय बजारभन्दा केही माथि नै हुनु पर्ने भन्दै दुई चार महिनालाई हेरेर व्याज नघटाउन आग्रह समेत गरे। अन्तर्राष्ट्रिय मुद्रा कोषको एक टोलीले पनि गत साता व्याज भारतको भन्दा माथि हुनु पर्ने सुझाव दिएको थियो।
खतिवडाले बैंक तथा वित्तीय संस्थामा निक्षेप वढेपछि मात्र कर्जाको व्याज घट्ने भन्दै निक्षेप वृद्धिका लागि व्यवसायिक जगतले बैंकिङ क्षेत्रलाई विश्वास गरेर पैसा राख्न आग्रह समेत गरे। उनले निक्षेपमा स्रोत देखाउने, घरजग्गा तथा गाडि किन्दा स्रोत देखाउने व्यवस्था खुकुलो भएको भन्दै पैसा राख्न आग्रह गरेका हुन्।
खतिवडाले राजनैतिक संक्रमणकालका कारण उत्पादक क्षेत्रमा लगानीको उपयुक्त वातावरण बनिनसकेको भन्दै यसका लागि सरकार र राष्ट्र बैंकले आवश्यक भूमिका निर्वाह गर्ने बताए। उनले अहिले देशको उत्पादनशील क्षेत्रमा लगानी बढाउनका लागि आग्रह गरे।
गभर्नरले बैंकिङ क्षेत्रका धेरै विषयहरु संवोधन भइरहेको भन्दै समस्या भए खुलेर छलफल गर्न बैंकरसहँग आग्रहसमेत गरे। 'समस्या कहाँ छ भनेर बैंकहरुले हामीलाई प्रस्ट रुपमा भनिदिए समाधान गर्न सजिलो हुने थियो,' उनले भने, 'छलफलबाट सफल अवतरण गर्न सघाउ पुग्छ।'
कार्यक्रममा अनुसन्धान विभागका कायममुकायम कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठ र विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक भीष्मराज ढुङगानाले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा पूर्व अर्थसचिव रामेश्वर खनाल, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधान, मेगा बैंकका अध्यक्ष मदनकुमार दाहाल र गोविन्द नेपालले टिप्पणी गरेका थिए।

No comments:

Post a Comment

thanks for comment