पञ्चेश्वर र प्रसारणलाइन एजेन्डा

सुदर्शन सापकोटा, काठमाडौं, साउन २७- प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा पञ्चेश्वर, महलीसँगर र विद्युत प्रसारणलाइनलाई एजेन्डाको रुपमा उठाइने भएको छ। भदौ २ मा पहिलो औपचारिक भारत जानलागेका उनको यो ५ दिने भ्रमण हो।
जलस्रोतसम्वन्धि सम्पूर्ण एजेन्डा बनिनसकेको परराष्ट्र स्रोतले बतायो। पञ्चेश्वरलाई अगाडि बढाउनु पर्छ भन्ने प्रधानमन्त्रीको धारणा भएकाले यो एजेन्डाको रुपमा समेटिने संभावना बढेको उनले बताए।
माओवादी पञ्चेश्वरको विषयमा भारतसँग अहिले कुरा नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। 'विगतमा भएको सम्झौतालाई अहिले फेरिएको सन्दर्भमा नयाँ ढङ्गले परिभाषित गर्नु पर्ने भएकाले आमसहमति वनाएर मात्र कुरा गर्नु पर्छ,' माओवादी उपाध्यक्ष वावुराम भट्टराईले सोमवार नागरिकसँग भने।
प्रधानमन्त्रीले पञ्चेश्वरलाई उच्च प्राथमिकता दिएको परराष्ट्र स्रोतले भन्यो। उनले २०५२ मा शेरवहादुर देउवा प्रधानमन्त्री भएका बेला बर्तमान प्रधानमन्त्रीले प्रतिपक्षमा वसेर पञ्चेश्वरको मुद्धालाई समर्थन गरेकाले अहिले आफू कार्यकारी भएकाले यसलाई अगाडि वढाउनु उनको नैतिक दाइत्व भएको बताए। 'राष्ट्रहितमा छ भनेर नै त्यसवेला प्रधानमन्त्रीले पञ्चेश्वरमा समर्थन गरेका थिए,' प्रधानमन्त्री निकट स्रोतले भने, 'अहिले यसलाई एजेन्डा वनाएर पञ्चेश्वरलाई अगाडि वढाउनु उनको दाइत्व हो।'
उर्जामन्त्री प्रकाशशरण महतले पञ्चेश्वरको विषयमा छुट्टै सहमति नभइ प्रविधिक समितिले यसलाई अगाडि वढाउने बताए। 'पञ्चेश्वरमा छुट्टै सहमति हुनेछैन, यसलाई प्राविधिक समितिले मिलाउँछ,' उनले सोमवार नागरिकसँग भने, 'सैद्धान्तिक रुपमा मात्र प्रधानमन्त्रीले कुरा गर्नुहुनेछ।' महतले नेपालको जलस्रोतबाट विद्युत उत्पादन गर्न भारतीय नीजि क्षेत्रको लगानी भित्राउन पनि पहल गरिने भ्रमणको एजेन्डा रहेको जानकारी दिए।
पञ्चेश्वर सिंचाइको विषयमा पनि प्रधानमन्त्रीको भ्रमणको एजेन्डा रहेको महतले बताए। 'कुन-कुन बिषयमा कुरा गर्ने भन्ने अन्तिम भइनसके पनि भ्रमणमा सिंचाइको विषयमा भने कुरा हुनेछ, उनले भने। पञ्चेश्वरको पानीबाट नेपालले ९३ हजार हेक्टरका लागि सिंचाइ सुविधा पाउने भारतले बताउँदै आएको छ। जबकी भारतले भने १६ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा पाउनु पर्ने दावी गर्दै आएको छ।
भ्रमणमा महलीसँगरवाँधका विषयमा कुरा हुने परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार, महलीसँगर वाँधबाट डुवानमा पर्ने भनिएको नेपाली भूमिलाई कसरी डुवान कम गर्न सकिन्छ भनेर कुरा हुने छ। 'महलीसँगरले धेरै नेपाली भूभाग डुवान पर्ने देखिएको छ,' उनले भने, 'यसलाई कम गर्न भारतलाई सचेत वनाउने काम हुन्छ।'
भारतबाट विद्युत आयात गर्नका लागि शक्तिशाली प्रसारणलाइन निर्माण गर्न भारतसँग आग्रह गर्ने भ्रमणको एजेन्डा रहेको उनले बताए। ४ सय केभीको स प्रसारणलाइन निर्माण भारतलाई निर्माण गरिदिन आग्रह गरिने उनले बताए। हिउँदको लोडसेडिङ कम गर्नका लागि भारतबाट विद्युत् आयात गर्नु पर्ने भएकाले मोजफरपुर-ढल्केवर प्रसारणलाइन निर्माण गर्न आग्रह गरिने भएको हो। अहिलेको प्रसारणलाईनबाट पर्याप्त विद्युत आयात गर्न नसकिने भएकाले ४ सय केभीको लाइन निर्माण गर्नु पर्छ।
उर्जामन्त्री महतले भारतले नीजि क्षेत्रको सहयोगमा प्रसारणलाइन निर्माण गर्न भनेको जानकारी दिए। नीजि क्षेत्रलाई निर्माण जिम्म दिँदा नेपाली पक्षले खर्च गर्नु पर्ने भएकाले भारतलाई निर्माणका लागि आग्रह गर्न लागिएको हो। भ्रमणमा अन्य दुई तीन स्थानमा पनि प्रसारणलाइन निर्माण गरिदिन आग्रह गरिने उर्जामन्त्रीले बताए।
परराष्ट्र स्रोतका अनुसार, भ्रमणको सम्पूर्ण एजेन्डा वनिनसकेकाले कोही हाइड्याम्प, नौमुरे जलविद्युत आयोजनाका बारेमा पनि छलफल भइरहेको छ। 'यसलाई एजेन्डामा समेट्ने नसमेट्ने विषयमा छलफल भइरहेको छ,' उनले भने। प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भ्रमणको एजेन्डा एकदुई दिनमा तय हुने बताए।

No comments:

Post a Comment

thanks for comment