सेयर बजार अझै नबढ्ने

सुदर्शन सापकोटा

कात्तिक १५-

सरकारको भविस्यमा प्रश्न र बजारप्रति लगानीकर्ताले विश्वास गुमाएका कारण बजार उकालो लाग्न अझै केही महिना पखर्नु पर्ने भएको छ। 'सेयर मूल्य कहिलेदेखि बढ्न थाल्छ,' बजारको ट्रेन्ड बुझन सेयर दलाल स्वेता सेक्युरिटिज आएका रमेस खतिवडाले भने, 'जहिलेदेखि किनेको त्यही दिनदेखि मूल्य घटिरहेको छ।' पछिल्लो चार महिनादेखि पुँजी बजार घटिरहेको छ। खतिवडा पछिल्लो चार महिनादेखि घटिरहेको सेयर बजारबाट प्रभावित हुनेमध्येका एक लगानीकर्ता हुन्।

सेयर भएकाले घट्दो मूल्यका कारण बेच्न सकेका छैनन् भने खरिदका लागि पनि लगानीकर्तामा जाँगर देखिएको छैन। चार महिनाअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ सय १८ पुग्दा विभिन्न तीन कम्पनीको सेयर खरिद गरेका उनले अहिलेसम्म १ लाख ७० हजार गुमाइसेको बताए। उनले इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल डेभलपमेन्ट एण्ड इम्प्लोइमेन्ट प्रमोसन (एनडीइपी) बैंकको सेयर खरेका थिए।

तीन महिनाअघि ५ सय रुपैयाँ प्रतिकिक्ताका दरले खरिद गरेको इन्फ्रास्टकचरको पछिल्लो सेयर मूल्य ४ सय ३२ रुपैयाँमा झरेको छ। सिद्धार्थ डेभलपमेन्टको पनि ३ सय १० बाट २ सय ५० मा पुगेको छ। एनडीइपीको सेयर मूल्य ५ सय २० बाट ३ सय २ मा पुगेको छ।
सेयर मूल्य दैनिक घटेपछि दलाल, ठूला लगानीकर्ता र सेयर विश्लेषक कम्पनीहरुमा लगानीकर्ताहरु कहिलेबाट सेयर मूल्य बढ्ला भनेर सोध्न पुग्ने गरेका छन्। 'भोली के होला भनेर सोध्ने धेरै छन्,' ज्याम टेक्नोलोजिज्का प्रमुख कार्यकारी असोक महर्जनले भने, 'कम्तिमा माघसम्म मूल्य बढ्ने संकेत हामीले भेटिरहेका छैनौं।' सरकारको भविस्य, केन्द्रिय निक्षेप प्रणाली र नयाँ लगानीकर्ता नथपिएसम्म मूल्य बढ्ने सम्भावना एकदमै कम भएको उनले बताए।

सेयर विश्लेषक तथा लगानीकर्ता रविन्द्र भट्टराईले अहिले सेयरको मूल्य बढ्ने समय नभएको जानकारी दिए। उनका अनुसार, कम्पनीहरुले अहिले बोनस सेयर र नगद लाभांस दिने घोषणा तथा बार्षिक साधारणसभा गर्ने समय भएकाले पनि सेयर मूल्य नबढेको हेा। भट्टराईले अझै केही महिना सेयर मूल्य माथि नआउने बताए। उनले सरकारको भविस्यमा प्रश्न उठेको तथा बजारप्रति लगानीकर्ताले विश्वास गुमाएकाले सेयर मूल्य केही समय नबढ्ने दावी गरे।

दुई बर्ष अगाडि सबै कम्पनीको सेयर मूल्य बढेर ११ सय ६२ संम्म पुगेको नेप्से परिसूचकमा तिब्र उतारचढाव भएर चार महिनादेखि नियमित घट्ने क्रममा छ। यो बर्षको जनवरीको सुरुवाती बजारमा ६ सय ९३ अंकमा रहेको परिसूचक विस्तारै उकालो लागे ७ सय ३ सम्म पुगेको थियो तर बजारप्रति लगानीकर्ताले विश्वास गुमाउँदै गएपछि परिसूचक पछिल्लो समयमा ५ सय ७८ मा झरेको छ। 'प्राविधिक विश्लेषणले पनि बजार केही समय नबढ्ने देखिन्छ,' महर्जनले भने, 'बजारको भविस्य अझै अनिष्चित छ, बढ्छ भन्ने आधार एकदमै कम छ।'

राजनीतिले एउटा दिशा समातेपछि मात्र बजार बढ्ने एक सेयर दलालले बताए। उनका अनुसार, सेयर खरिदका लागि पनि लगानीकर्ता कम आउने गरेका छन् भने बेच्ने पनि धेरै कम छ। 'चार महिनादेखिको बजार पुँजीकरणलाई विश्लेषण गर्दामा पनि बजारमा सेयरको आपूर्ति कम देखिन्छ,' उनले भने। चार महिनाअघि बजार पुँजीकरण ४ अर्ब ७४ करोड रुपैयाँ भएकोमा पछिल्लो समयमा यो घटेर ४ अर्ब १९ करोडमा पुगेको छ। उनका अनुसार केही सातादेखि दैनिक सेयर कारोवार ४ देखि ५ करोड रुपैयाँ वरावरको भइरहेको छ। 'कारोवार रकम घट्नुले लगानीकर्ता बजारप्रति निरास भएको पुष्टी हुन्छ,' भट्टराईले भने।
नेप्सेका अनुसार शुक्रवार बजार बन्द हुँदा १ लाख ५२ हजार ५ सय २७ किक्ता सेयर कारोवार भएको थियो। बजार उकालो लाग्दा दैनिक २ देखि ३ लाख किक्तासम्म सेयर कारोवार हुने गरेको थियो। 'बजारका सबै परिसूचक तथा तथ्यांकले लगानीकर्ता निरास छन् भन्ने देखाइरहेको छ,' महर्जनले भने। उनको कुरामा एक सेयर दलालले सहमति देखाउँदै भने, 'नाफा बढाउन लगानी गरेको सेयरले प्रतिफल नदिएपछि लगानीकर्ता फेरि बजारमा प्रवेश नगर्ने हुन् की भन्ने आशंकालाई बलियो बनाएको छ।' उनले डेढ वर्षदेखि साना लगानीकर्ताको आकर्षण सेयर बजारप्रति बढेको बताए।

No comments:

Post a Comment

thanks for comment