सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ८
राष्ट्र बैंकको
निर्देशनअनुसार राजाको तस्बिर अंकित नोटको बेग्लै प्याकेट बनाएर रातो
स्लिप लगाई केन्द्रीय बैंकमा साट्नुपर्नेछ। 'फागुन मसान्तपछि यस्ता नोट
सट्टाभर्ना दिन राष्ट्र बैंक बाध्य हुनेछैन,' राष्ट्र बैंकले वाणिज्य
बैंकहरुलाई कात्तिक ४ गते जारी गरेको परिपत्रमा भनिएको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझीले बैंक
तथा वित्तिय संस्थालाई झुत्रा नोट छुट्टाएर ल्याउन निर्देशन दिएको
नागरिकलाई बताए। पुराना नोट हटाउन राष्ट्र बैंकबाट तीन पटक भन्दाबढी प्रयोग भएका एउटै नोटलाई बजारमा नपठाउने नीतिअनुसार राजाको र एकभन्दा बढी स्टिच भएका नोट हटाउन लागिएको हो। अहिले राष्ट्र बैंकले बजारमा १ खर्ब ५१ अर्ब नोट पठाएको छ। यसमध्ये राजाको तस्बिर अंकित ६० अर्ब बराबरका नोट बजारमा छन्।
राष्ट्र बैंक ऐन २०५८ अनुसार राष्ट्र बैंकले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोट वा सिक्का सटही गर्न अस्वीकार गर्न सक्नेछ भनिएको छ। तर, नोट नचल्ने भन्ने अधिकार बैंकलाई छैन।
राजाका तस्बिरबाहेक अन्य नोट झुत्रो भए त्यसलाई पनि फागुनसम्म
साटिसक्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। केन्द्रीय बैंकले
भुक्तानी हुने नोटहरुमा केरमेट गरिएका, रंग लगाएका, च्यातिएका तथा कुनै
किसिमले नोट बिग्रिएर मैलो झुत्रो भएका नोटहरु ग्राहकलाई भुक्तानी नदिन
वाणिज्य बैंकलाई निर्देशन दिएको हो। उसले यस्ता नोट सर्टिङ गरी
साविकअनुसार रातो स्लिप राखी अनिवार्य रुपमा राष्ट्र बैंकमा दाखिला गर्न
निर्देशन दिएको छ।
राष्ट्र बैंकले नयाँ नोट नीति ल्याउनु राम्रो भए पनि नोट छान्ने जिम्मा
बैंकहरुलाई सुम्पनु उसको कमजोर व्यवस्थापन भएको बैंकरहरुको आरोप छ।
'राष्ट्र बैंकमा कर्मचारी अभाव भन्दैमा हामीलाई छान्ने जिम्मा दिनु भएन,'
एक बैंकका प्रमुख कार्यकारीले भने।
पुरानो र झुत्रो नोट नचलाउने नीतिअनुसार केन्द्रीय बैंकले गत भदौ
मसान्तदेखि एकभन्दा बढी स्टिच भएका नोट बुझ्न छाडिसकेको छ। बैंक तथा
वित्तीय संस्थाले आफ्ना ग्राहकलाई भुक्तानी दिँदासमेत एकभन्दा बढी स्टिच
भएका नोट प्याकेट भुक्तानी नदिन केन्द्रीय बैंकले निर्देशन दिएको छ।
सामान्यतया नोटको आयु डेढ वर्षको हुन्छ। तर, जतन नगर्ने प्रवृतिले
तीन महिनामै नोट फेरि प्रयोग गर्न नमिल्ने हुने गरेका छन्। दसैंमा
निस्कासन भएका नोटमध्ये अधिकांस नोट तीन महिनामा फिर्ता हुँदा फेरि प्रयोग
गर्न नसकिने खालको हुने गरेका छन्।
No comments:
Post a Comment
thanks for comment