रुपैयाँ बलियो हुँदा व्यापार घाटा बढ्ने

काठमाडौ, कार्तिक ९ 
निरन्तर नेपाली रुपैयाँ बलियो हुँदै जाँदा व्यापार घाटा बढ्नुका साथै राष्ट्र बैंकको नाफा समेत प्रभावित हुने भएको छ । पछिल्लो ३ महिनामा नेपाली रुपैयाँ करिब साढे ४ रुपैयाँले बलियो भएको छ । 

भारतीय रुपैयाँ बलियो भएका कारण नेपाली रुपैयाँ पनि बलियो हुँदा निर्यात निरुत्साहित भएर आयात बढ्ने हुँदा व्यापार घाटा थप विस्तार हुने देखिएको छ । भारुसँग नेपाली मुद्राको स्थिर विनिमयको व्यवस्था छ । नेपाली बजारमा एक वर्षअघि एक डलर बराबर करिब ७५ रुपैयाँ १२ पैसा रहेको विनिमयदर आइतबार ७१ रुपैयाँ ४ पैसामा झरेको छ । ३ महिनाअघि विनिमय दर ७५ रुपैयाँ ७५ पैसा थियो ।
पछिल्लो ३ महिनामा विकासोन्मुख देशका मुद्रा निरन्तर बलियो हुँदै गइरहेको छन् । विज्ञहरूका अनुसार यो दरमा अर्थतन्त्र बलियो भएका देशको मुद्रा मात्रै बलियो हुन्छ ।

शोधनान्तर र व्यापार नाफा भएको देशमा ३ महिनामै मुद्रा तीव्र गतिमा बलियो हुने जानकारहरू बताउँछन् । यसैगरी बलियो हुन मुद्रास्फीतिदर पनि कम हुनुपर्छ । तर साउनमा व्यापार घाटा ३१ करोड रुपैयाँ छ । गत वर्ष आयात ३३ प्रतिशतले बढेको छ भने निर्यात ९ दशमलव ७ प्रतिशतले घटेको छ । व्यापार घाटा ४६ प्रतिशतले बढेको छ । 

मुद्रास्फीतिदर पछिल्लो ३ वर्षयता दोहोरो अंकमा छ । नेपालको वित्तीय अवस्था हेर्दा एक अमेरिकी डलर बराबर ७८ देखि ८० रुपैयाँ हुनुपर्ने विज्ञहरू बताउँछन् ।
स्थानीय मुद्रा बलियो भएर डलर कमजोर हुँदा निर्यातबाट हुने आम्दनी घट्छ । त्यसले निर्यातलाई निरुत्साहित गर्छ । अर्कोतर्फ आयातित वस्तु सस्तो हुने हुँदा सर्वसाधारणको माग बढ्ने भएकाले आयात प्रोत्साहित हुन्छ । जसले व्यापार घाटा थप फराकिलो बनाउँदै लान्छ । आर्थिक वर्ष २०६६/६७ मा नेपालको वस्तु व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ छ । यसमा सेवा व्यापारको घाटा समेत जोड्दा कुल व्यापार घाटा ३ खर्ब २४ अर्ब रुपैयाँ पुग्छ । चालू आर्थिक वर्षको साउनमै व्यापार घाटा २५ अर्ब रुपैयाँ नाघेको छ ।
यसैगरी डलर कमजोर हुँदा राष्ट्र बैंकको विदेशी मुद्रा सटही कोषमा समेत चाप पर्ने देखिन्छ । डलर अनुमानभन्दा कमजोर भए यो कोषमा राखिएको रकम सकिएर केन्द्रीय बैंकको नाफा नै प्रभावित हुने खतरा हुन्छ । राष्ट्र बैंकको विभिन्न मुद्रामा करिब २ अर्ब २५ करोड डलर सञ्चिति छ । यसको करिब ६० प्रतिशत रकम अमेरिकी डलरमा राखिएको छ । पछिल्लो ३ महिनामा डलरमा भएको अधिमूल्यनको आधारमा यस कोषमा करिब ४ अर्ब रुपैयाँको प्रभाव परेको देखिन्छ ।
आर्थिक वर्ष २०६५/६६ मा राष्ट्र बैंकको नाफा ३ अर्ब १६ करोड रुपैयाँ थियो । सटही कोषको रकम सकिँदै गएपछि नाफामा चाप पर्न सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । संसारको दोस्रो ठूलो निर्यातकर्ता चीनले भने आपmनो मुद्रालाई डलरसँग स्थिर राखिरहेको छ । त्यसकारण चिनियाँ उत्पादनमा कुनै असर नपर्नुका साथै अन्य देशमा भने प्रभाव देखिइसकेको छ । जी-२० का सदस्य नरहेका एसियाली देशका गभर्नरहरूको थाइल्यान्डमा चलिरहेको बैठकमा पनि यो मुद्दामा छलफल हुँदै छ । यस बैठकमा राष्ट्र बैंकका गभर्नर युवराज खतिवडासमेत सहभागी छन् । 'मुद्राको यो उतारचढावबारे छलफल हुनुका साथै यसबारे बैठकको निर्णयसमेत मन्त्रीस्तरीय बैठकमा पेस गरिनेछ,' आइतबार उक्त बैठकमा जानुअघि उनले
भने । तर डलर कमजोर हुँदा नेपालले तिर्नुपर्ने वैदेशिक ऋणमा भने फाइदा हुन्छ । भोटेकोसी खिम्तीको बिजुलीका लागि प्राधिकरणले विदेशी मुद्रामा तिर्नुपर्ने रकममा पनि कमी आउनेछ ।

No comments:

Post a Comment

thanks for comment